कताकता बचाउनु ?
को कोसँग बचाउनु ?
सदियौंदेखि
बाउ , दाजु
जेठाजु , ससुरा , मामा , काका
सहकर्मी, हाकिम
धर्मगुरु
शिक्षक
पुरुषसाथी
कोबाट ?
हेर्नेले त निसंकोच हेर्छ
छोरीले मान्नुपर्छ लाज
छोप्नु पर्छ , लुकाउनु पर्छ
बक्षस्थल , नितम्ब ,
अङ्ग, प्रत्यङग
र
आफैलाई
बस , ट्याक्सी
घर , कार्यालय
स्कुल , मैदान
खेत , जङ्गल
मन्दिर , मस्जिद
चर्च , चौतारी
के शहर ?
के गाउँ ?
महिला बलात्कृत नभएको
कुनै स्थान छैन यो धर्तीमा
के किशोरी ?
के बुढी ?
के बच्ची ?
के लाटी , के लङ्गडी ?
के बहुलाई , के सध्दे ?
हर महिला बलात्कृत भए
हुनेछन् …
किनभने
उसँग
जन्मजात त्यही
योनी छ
आक्रोसित अन्तर्मन
चिच्याउँछ
सिर्फ
भोक मेटाउने शरिर
होइन नारी
मात्र
बक्षस्थल र योनी
होइन महिला
तर
बुझ्ने को ?
पुरुष अहंकारको
हुँकार
यौन प्यास मेट्न
शिकार गर्छ
मौका पायो कि
झम्टन्छ
बुझ्दैन नाता सम्बन्ध
हेर्दैन उमेर
देख्दैन अशक्त
बश !
देख्छ
मात्र योनी !
कठै !
ती अबोध
चार वर्षकी बालीका !
तीन वर्षकी …
दुइ वर्षकी …
एक वर्षकी …..
अहँ !
अझै अघाउँदैन उ
मेटिदैन यौन तिर्खा उसको
अनि
निचोर्छ घाँटी
निकाल्छ आँखा
काटीदिन्छ जिब्रो
उखेल्छ कान
भाँचिदिन्छ हातखुट्टा
फ्याँकिदिन्छ एसिड
र
फर्फराउँछ झण्डा
पुरुषत्वको
उफ!
यता
गुन्जिन्छ
छोरीको असह्य चित्कार
पीडा
क्रन्दन
वेदना
सुन्ने को ?
तब
बरदान होइन
बिडम्बना बन्छ
छोरीको जन्म
कानून अन्धो
धर्म मौन
अनि समाज निरीह
भएको यो संसारमा
कहिलेसम्म चढिरहनु पर्ने हो
छोरीले बली ?
भो !
अति भो !
आमा !
कति सहने यो सिलसिला ?
कसरी सहने ?
मरेर दिनदिनै
कति हेर्ने यो दृश्य ?
कहिलेसम्म ?
ए आमा !
बिन्ती छ
बरु
नजन्माउ छोरी
यदि जन्मायौ भने
जन्मने वित्तिक्कै
काटेर फालिदेउ बक्षस्थल
सिलाइदेउ छोरीको योनी !
-काठमाडौं , नेपाल












प्रतिक्रिया