ड्यालस, अमेरिका । स्रष्टा साँझ अमेरिकाले नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री तथा नेपाली साहित्यका मूर्धन्य व्यक्तित्व बिपी कोइरालाको सम्झनामा विशेष साहित्यिक कार्यक्रम गरेको छ ।
कार्यक्रममा साहित्यकार प्रभात दीक्षितले राजनीतिज्ञका रूपमा बिपीको चर्चा धेरै हुने गरे पनि नेपाली साहित्यको श्रीवृद्धिमा उनको योगदान निकै उच्च र अतुलनीय रहेको उल्लेख गरे । उनले बिपीको साहित्यिक सम्मान र योगदानलाई उजागर गर्ने उद्देश्यले नै यो कार्यक्रम केन्द्रित गरिएको बताए ।
त्यसैगरी, बिपी कोइरालासँग लामो समय समीपमा रहेर काम गरेका शैलेशराज आचार्यले बिपीसँगको सङ्गतका दिनहरू स्मरण गरे । आचार्यले त्यस समयमा बिपीको अगाध साहित्यिक ज्ञानको पछाडि लाग्न नसकेकोमा गुनासो व्यक्त गर्दै नेपाली साहित्य जगत्ले उनको योगदानलाई कहिल्यै भुल्न नहुने धारणा राखे ।
सो अवसरमा बिपीलाई नजिकबाट चिन्ने व्यक्तित्वहरू तथा साहित्यकारहरू शिलु न्यौपाने, भगवती पौडेल, टीका शिवाकोटी, मोहन ज्ञवाली, गंगा थापा, सुरेशचन्द्र पोखरेल, ज्ञानेश्वर श्रेष्ठ, बैकुण्ठराज आचार्य र विमलचन्द्र पँगेनीलगायतले बिपीसँगका आफ्ना अनुभव साटासाट गर्नुका साथै रचना पाठ गरेका थिए ।
स्रष्टा साँझ अमेरिकाले हरेक शनिबार साँझ ५ः०० बजे युलेसस्थित ट्रिनिटी ब्लुबर्डमा रहेको स्वर्ग इभेन्ट सेन्टरमा यस्तै साहित्यिक जमघट गर्दै आएको छ । यसैबीच, आगामी शनिबार राष्ट्रकवि स्व. माधवप्रसाद घिमिरेको स्मृति तथा योगदानमा केन्द्रित रहेर अर्को विशेष साहित्यिक कार्यक्रम आयोजना गरिने जानकारी अध्यक्ष दीक्षितले दिएका छन् ।















प्रतिक्रिया