ड्यालस, अमेरिका- अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) ड्यालस च्याप्टरले नेपलिज एसोसिएसन इन साउथइस्ट अमेरिका (नासा)को ३५औँ वार्षिक सम्मेलनका अवसर पारेर एक विशेष साहित्यिक कार्यक्रम आयोजना गरेको छ।
प्रवासमा नेपाली भाषा, साहित्य र सिर्जनाको प्रवर्द्धन गर्ने उद्देश्यका साथ आयोजित उक्त कार्यक्रममा विभिन्न कवि, साहित्यकार, साहित्यप्रेमी तथा नेपाली संघ-संस्थाका प्रतिनिधिहरूको उल्लेख्य सहभागिता रहेको थियो। अनेसास डालासका अध्यक्ष सुमन कार्कीको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमको सञ्चालन महासचिव भगवती पौडेलले गर्नुभएको थियो।
कार्यक्रमका प्रमुख अतिथि गीतकार डा. ज्ञानेन्द्र गदालका साथै नासाका पूर्वअध्यक्ष राजा घले, नासाकी अध्यक्ष विद्या गुरुङ, अनेसास बीओटीका महासचिव प्रकाश नेपाल, हेम–सरिता फाउन्डेसनका अध्यक्ष हेम पाठक, ‘एयरपोर्ट इन्ट्याङ्गलमेन्ट’का लेखक तथा साहित्यकार डा. शिव गौतम, साहित्यकारहरू भारती गौतम, बैकुण्ठ आचार्य र डा. हरि उप्रेतीलगायतले आ-आफ्नो मन्तव्य व्यक्त गर्नुका साथै कविता वाचन गर्नुभएको थियो।
समारोहमा १७ जना कविहरूले आ-आफ्ना उत्कृष्ट कविताहरू प्रस्तुत गर्नुभएको थियो।
वाचित कविताहरूमा प्रवासका अनुभूति, नेपाली समाजको यथार्थ, समकालीन जीवन, मानवीय संवेदनाका विविध आयामहरूका साथै नेपालमा हालै गएको प्राकृतिक विपत्तिको पीडा प्रस्तुत गरिएको थियो। सो अवसरमा वक्ताहरूले प्रवासमा नेपाली साहित्यको भूमिका र नयाँ पुस्तासम्म भाषा र साहित्य पुर्याउनुपर्ने आवश्यकतामाथि जोड दिनुभयो।
स्रष्टा स्मरण, श्रद्धाञ्जली र पुरस्कार अभिलेखीकरण
कार्यक्रमका क्रममा अनेसास ड्यालस च्याप्टरले प्रदान गर्दै आएको ‘महानन्द सापकोटा साहित्य साधक पुरस्कार’बाट सम्मानित भई हालै दिवंगत हुनुभएका अग्रज साहित्यकारहरू दुर्गालाल श्रेष्ठ, डा. राजेन्द्र विमल र डा. शंकर फागोको साहित्यिक योगदानको स्मरण गर्दै उहाँहरूप्रति श्रद्धाञ्जली अर्पण गरियो। साथै हालै नेपालमा आएको बाढी-पहिरो तथा प्राकृतिक विपत्तिमा परी ज्यान गुमाउनेहरूप्रति समर्पित गर्दै एक मिनेट मौन धारणसमेत गरिएको थियो।
अनेसास ड्यालसले महानन्द सापकोटाकी नातिनी-बुहारी सीता सापकोटा र उहाँको परिवारको प्रायोजनमा हरेक वर्ष एक जना साहित्य साधकलाई ५० हजार रुपैयाँ राशिको ‘महानन्द सापकोटा साहित्य साधक पुरस्कार’ प्रदान गर्दै आएको छ।
यस वर्ष भने उक्त पुरस्कार कुनै नयाँ साधकलाई प्रदान नगरी हालसम्म यो पुरस्कार प्राप्त गरिसक्नुभएका सम्पूर्ण साधकहरूको परिचय र उहाँहरूका साहित्यिक कृतिहरूको संक्षिप्त अभिलेखीकरण गरिने जानकारी अनेसास ड्यालसका संस्थापक अध्यक्ष भीम कार्कीले दिनुभयो।












प्रतिक्रिया