बोस्टन

मगर समुदायको १०औं वार्षिक साधारण सभा बोस्टनमा हुने

मगर समुदायको १०औं वार्षिक साधारण सभा बोस्टनमा हुने


अमेरिका, बोस्टन। अमेरिकामा रहेका मगर समुदायको संस्था ‘मगर संघ, अमेरिकाको १०औं वार्षिक साधारण सभा अमेरिकाको ऐतिहासिक सहर बोस्टनमा हुने भएको छ।

मगर संघ, अमेरिका, बोस्टन च्याप्टरको व्यवस्थापनमा हुनलागेको उक्त साधारण सभा यही आउदो अगस्ट ८,२०२६ शनिबारका दिन बोस्टनमा हुन लागेको हो। यसका लागि संघका केन्द्रीय उपाध्यक्ष तथा बोस्टन च्याप्टरका सल्लाहकार चेतन बुढा मगरको संयोजकत्वमा मूल समारोह समिति गठन गरी आवश्यक विभिन्न उपसमितिहरु गठन गरेर संघ तयारीमा जुटिरहेको बोस्टन च्याप्टरका अध्यक्ष देवराज पुनले जानकारी दिए।

Advertisement

अमेरिकाको मूल प्रवाहमा मगरहरुको उपस्थिति र सहभागिता !
उदाँउदो मगर पुस्तालाई मगर भाषा , संस्कार , संस्कृति पुस्तान्तरण आजको आवश्यकता ’’

भन्ने मूल नाराको साथ हुने उक्त साधारण सभा हाल बेलायतमा रहेका बिश्वप्रसिद्व पर्वतारोही हरि बुढा मगरको प्रमुख आतिथ्यतामा हुने भएको छ। यसैगरी, साधारण सभामा विशिष्ट अतिथिका रुपमा सहभागिता जनाउन नेपालबाट नेपाल आदिवासी जनजाति अन्तर्राष्ट्रिय महासंघका अध्यक्ष मान बहादुर राना मगर, बेल्जियमबाट अन्तर्राष्ट्रिय मगर महासंघका महासचिब बिरभान घर्ति मगर, नेपालबाट त्रिभुवन विश्वविधालयका प्रोफेसर झकेन्द्र घर्ति मगर बोस्टन उत्रने भएका छन्।

मगर संघ अमेरिका केन्द्रीय समितिका पुर्व अध्यक्षहरु महेन्द्र थापा मगर, रुद्र आले मगर, कुलदिप राना मगर र निवर्तमान अध्यक्ष याम पुन मगरको पनि बिशेष उपस्थिति हुने संघले जनाएको छ।

बोस्टन च्याप्टर अध्यक्ष पुनले जानकारी दिए अनुसार उक्त दिन मगर जातिको पहिचान र संस्कृति झल्किने गरी “मगर सांस्कृतिक परेड-२०२६”को पनि आयोजना गर्ने तयारी भइरहेको छ। साधारण सभाको दौरानमा उद्घाटन तथा बन्दसत्र हुनुका साथै शुभकामना सांस्कृतिक साँझ तथा विविध साँस्कृतिक प्रस्तुति कार्यक्रमकोसमेत आयोजना गरिने भएको छ। सांस्कृतिक साँझ तथा विविध साँस्कृतिक प्रस्तुति कार्यक्रममा विभिन्न च्याप्टरबाट आएका कलाकारहरुले नेपाली तथा मगर समुदाय केन्द्रीत विविध साङ्गीतिक प्रस्तुतिहरु पस्किने तयारी गरिएका छन्।

संघका अनुसार कार्यक्रमको दौरानमा प्रमुख अतिथि बुढा मगरलाई बिशेष अभिनन्दन गरिनुका साथै संस्थाको गरिमा उच्च राख्न महत्त्वपूर्ण योगदान पुर्‍याउने व्यक्तित्वहरुलाई सम्मान गरिने भएको छ। यसैगरी, अमेरिकामा अध्ययनरत १० जना विद्यार्थीहरुलाई “मगर छात्रवृति-२०२६” प्रदान गरिने भएको छ।

साधारण सभाको समापनसंगै संघले बोस्टन घोषणापत्र-२०२६ सार्वजनिक गर्ने तयारीसमेत गरेको जनाएको छ।

अमेरिकामा रहेका मगरहरुलाई एकताबद्ध गराउने, उत्थानका लागि आवश्यक सामाजिक क्रियाकलापहरु गर्ने, मगरहरुको पहिचान बोकेको भाषा, भेषभूषा, संस्कार, संस्कृति, परम्परा र रितिरिवाजको संरक्षण, सम्वर्धन र प्रवर्द्धन गर्नेलगायत मुख्य उद्देश्य राखेर सन् २००४ मा अमेरिकाको न्यू योर्कमा यस संस्थाको स्थापना भएको थियो। हाल अमेरिकाको ९ राज्यहरुमा आफ्नो च्याप्टर गठन गरिसकिएको छ।र, अन्य राज्यहरुमा पनि च्याप्टरहरु गठन गर्दैजाने संघको योजना रहेको छ।