अमेरिका , बोस्टन । यतिबेला अमेरिकाको म्यासाच्युसेट्स राज्यको ग्रेटर बोस्टन क्षेत्रमा रहेका प्रवासी नेपालीहरु ‘नेपाल डे-२०२६’ मनाउने तयारीमा जुटिरहेका छन्। यस क्षेत्रमा क्रियाशील प्रवासी नेपालीहरुको संस्था ‘ग्रेटर बोस्टन नेपाली कम्युनिटि'(जिबिएनसि)को अगुवाइमा “नेपाल डे-२०२६” भब्य बनाउदै मनाउने तयारी गरिएको हो।
जिबिएनसिले उक्त कार्यक्रम एभरेट सिटीसंगको सहकार्यमा यही आउदो अगष्ट २, २०२६ आइतवारका दिन एभरेट सिटी स्थित ग्लेन्डल पार्कमा गर्ने तयारी गरिरहेको छ। जिबिएनसि र एभरेट सिटीको संयुक्त आयोजनामा सन् २०२३ देखि मनाउन थालिएको “नेपाल डे” कार्यक्रमलाई आयोजकले यस वर्ष पनि निरन्तरता दिएको हो।
कार्यक्रम आयोजक संस्था जिबिएनसिका अध्यक्ष सन्दिप भट्टराईले कार्यक्रमलाई भव्य बनाउन आवश्यक तयारीमा आयोजक जुटिरहेको बताए। तयारी अन्तिम चरणमा पुगेको जनाउदै उनले ‘नेपाल डे’ मार्फत ग्रेटर बोस्टनवासी प्रवासी नेपालीहरुलाई संगठित गर्ने, नेपाली पन तथा पहिचानको संरक्षण, संवर्धन तथा प्रवर्धन गर्नुका साथै रम्ने रमाउने कार्यक्रमको मुख्य उद्देश्य रहेको बताए।
आयोजकका अनुसार कार्यक्रममा विगतमा झैं नेपाली स्वाद, नेपालीपन तथा पहिचान झल्काउने खानाका विभिन्न परिकारहरुका साथै सरसामानहरुका स्टलहरु, संघ संस्थाका जानकारीमूलक स्टलहरु राखिनुका साथै बालबालिकाहरुको मनोरञ्जनका लागि विभिन्न खेल सामग्रीहरुको व्यवस्था गरिने भएको छ।

विगतमा झैं कार्यक्रमको अर्को आकर्षण विविध साङ्गीतिक कार्यक्रम हुनेछ। जहाँ नेपाली साङ्गीतिक क्षेत्रका चर्चित गायक प्रकाश सपूतको बेजोड प्रस्तुति रहेने भएको छ। जिबिएनसिद्वारा आयोजित “बैशाखी साँझ-२०८०’ मा विशेष अतिथिका रुपमा सहभागिता जनाउदै ग्रेटर बोस्टनवासी प्रवासी नेपालीहरुसंग पहिलो पटक सांगीतिक साक्षात्कार गरेर मन जितेका सपूतले यस पटक “नेपाल डे” मा पनि भरपूर मनोरञ्जन दिलाएर कार्यक्रमलाई सफलताको उचाइमा पुर्याउन अहम भूमिका खेल्ने आयोजकको विश्वास छ। साङ्गीतिक कार्यक्रमको दौरानमा स्थानीय कलाकारहरुले पनि मञ्च साझा गर्दै नेपाली गीत सङ्गीतका प्रस्तुतिहरु पस्किएर साङ्गीतिक माहोललाई थप तताउने तयारी गरिरहेका छन् ।
कार्यक्रमका बारेमा जानकारी दिदै अध्यक्ष भट्टराईले कार्यक्रमलाई सफल बनाउन सम्पूर्ण नेपाली समुदायको साथ, सहयोग र सद्भाव पाउने विश्वस व्यक्त गरे। उनले कार्यक्रममा सहभागी भइदिन सबैलाई निमन्त्रणा गर्दै चुले निम्तोसमेत गरेका छन्।
नेपाल डे कार्यक्रमको आयोजना गरिनु हरेक ग्रेटर बोस्टनप्रवासी नेपालीहरुको गर्वको विषय भएकाले सबै मिलेर उत्सवका रुपमा मनाउनु पर्ने जिकिर गर्दै उनले भने, ‘यो समग्र नेपाली समुदायले गर्व गर्ने कार्यक्रम हो। यसलाई सबै मिलेर उत्सवका रुपमा मनाउदै ऐतिहासिक बनाउन एकजुट हुनु पर्दछ। तसर्थ, सक्रिय सहभागिता र सहयोगका लागि सबैलाई अनुरोध गर्दछु।’
सन् १९८९ मा स्थापित प्रवासी नेपालीहरुको सबैभन्दा पुरानो यस संस्थाले आफ्नो स्थापनाकालदेखि नै नेपाली समुदायको उत्थानका लागि विविध क्रियाकलापहरु गर्दै आइरहेको छ।












प्रतिक्रिया