काठमाडौँ । हालैका दिनमा मौसमी प्रतिकूलताका कारण देशका विभिन्न भागमा वायु प्रदूषणको स्तर बढ्दै गएको छ ।
विशेषगरी काठमाडौँ र पोखराजस्ता ठूला सहरका साथै तराईका अधिकांश स्थानमा वायु गुणस्तर सूचकांक (पीएम २.५) को मात्रा बढेको जनाइएको छ। वन तथा वातावरण मन्त्रालयअन्तर्गतको वातावरण विभागले वायु प्रदूषणको असरबाट जोगिन आम नागरिकलाई सावधानी अपनाउन अनुरोध गरेको छ ।
विभागले आज एक अपिलमार्फत वायु प्रदूषण बढी भएको समयमा घरबाहिर निस्किँदा मास्क प्रयोग गर्न, आफ्ना सवारीसाधनको नियमित मर्मतसम्भार गर्न र फोहोर एवं बालीनालीका अवशेष नजलाउन आग्रह गरेको छ। यस्ता वस्तु जलाउने प्रवृत्तिलाई सबैको पहलमा रोक्न पनि विभागले अनुरोध गरेको छ।
त्यसैगरी, वन–जंगलमा डढेलो नलगाउन र लागिहालेमा तत्काल निभाउने प्रयास गर्न, निर्माण कार्य गर्दा धुलो–धुवाँ नउड्ने व्यवस्था गर्न तथा उद्योग कलकारखाना सञ्चालन गर्दा सरकारले तोकेका मापदण्ड पूर्ण रूपमा पालना गर्न विभागका महानिर्देशक ज्ञानराज सुवेदीले सबैलाई आग्रह गरे ।
वायु प्रदूषण न्यूनीकरणका लागि जिम्मेवार सबै निकाय र आम नागरिकको सहकार्य एवं सकारात्मक प्रयास भएमा मात्र प्रदूषण घटाउन सम्भव र सहज हुने भएकाले त्यसका लागि सबैमा अनुरोध गरिएको उनले बताए ।
प्रदूषण बिहान र बेलुकाको समयमा उच्च हुने गरेको छ। चिसोका कारण विभिन्न स्रोतबाट उत्सर्जन भएको प्रदूषण छरिएर जान नसक्ने र लामो समयदेखि वर्षा नभएका कारण यो याममा वायु प्रदूषण बढेको विभागको भनाइ छ ।












प्रतिक्रिया