अमेरिकाको बोस्टन सहरमा २३औं बोस्टन तमु ल्होसार मनाउने तयारी भएको छ। अमेरिकाको म्यासाच्युसेट्स राज्यमा रहेका गुरुङ समुदायले आफ्नो जाति विशेषको नयाँ वर्ष ‘तमु ल्होसार’ विशेष कार्यक्रमको आयोजना गरी सामुहिक रुपमा मनाउने तयारी गरेका हुन्। विगत वर्षमा झैं यस वर्ष पनि ल्लोसारलाई भव्यताका साथ मनाउन बोस्टन स्थित गुरुङ समुदायको संस्था ‘बोस्टन तमु समाज’ आवश्यक तयारीमा जुटिसकेको छ।
‘मौलिक संस्कार र संस्कृति जोगाऔं, विविधतालाई एकतामा बाधौं ‘ भन्ने मूल नाराका साथ मनाउन लागिएको उक्त ल्होसार कार्यक्रम, यही आउदो डिसेम्बर २७ तारिख सुक्रबार साँझ 400 Cardinal Medeiros Avenue, Cambridge स्थित Saint Anthony Parish Hall गर्ने गरी तयारीलाई तिब्रता दिइएको छ।
चाइनिज पात्रो अनुसार १२ वर्षलाई एउटा चक्र मानेर हरेक वर्ष १२ वटा छुट्टा छुट्टै जनावरहरुका आधारमा नाम राख्ने गरिन्छ। तिब्बती बौद्धमार्गीहरुले वर्ष दिन भरी तमु या तालो ल्होसार, सोनाम ल्होसार र ग्याल्बो ल्होसार गरी तिन प्रकारको ल्होसार मनाउने गरेको पाइन्छ। जो नेपालमा पनि प्रचलित छ। यसै सिलसिलामा यस पटक गुरुङ समुदायले ‘मुप्र्ही ल्हो'(गिद्ध वर्ग) वर्षलाई विदा गर्दै ‘सप्ह्री ल्हो(सर्प वर्ग) नयाँ वर्षलाई स्वागत गर्दैछन्। यस वर्ष ‘तमु ल्होसार’ यही आउदो पौष १५ गते अर्थात डिसेम्बर ३० तारिख सोमबारका दिन परेको छ।
ल्होसार पर्व भव्यताका साथ मनाउन बोस्टन तमु समाज आवश्यक तयारीमा जुटिसकेको बोस्टन तमु समाजका अध्यक्ष रोबिन गुरुङले बताए। तयारीका सम्बन्धमा जानकारी दिदै उनले भने, ‘कार्यक्रमलाई भव्यताका साथ मनाउन हामी तयारीमा जुटिरहेका छौं। साङ्गीतिक माहोलमा हुने उक्त मनोरञ्जनात्मक कार्यक्रममा गुरुङ समुदायको साथै अन्य समुदायहरुलाई पनि समेट्ने छौं।’ सबै नेपालीको कार्यक्रम भएको महसुस गराउने गरी कार्यक्रमको तयारी भइरेको जानकारी दिदै अध्यक्ष गुरुङले भने, ‘हरसम्भव नेपालको हिमाल, पहाड, तराई, पूर्व, पश्चिम , उत्तर, दक्षिणलाई समेटेर समग्र नेपाल र नेपाली पहिचानको संरक्षण, संवर्धन र प्रवर्धनमा जोड दिनेछौं। र, एकताको सन्देश दिने प्रयास गर्नेछौं।’
अध्यक्ष गुरुङका अनुसार नेपालमा रहेका विभिन्न जातजातिहरुको भाषा, भेषभुषा, धर्म, संस्कृति, परम्परा, रितिरिवाज आदिको संरक्षण, सम्वर्धन र प्रवर्धन गर्ने, एकताबद्ध भइ भाइचाराको सम्बन्ध स्थापित गर्ने, मनोरञ्जन दिने/लिने र शुभकामना आदानप्रदान गर्ने कार्यक्रमको मुख्य उद्देश्य रहेको छ। अध्यक्ष गुरुङले तमु ल्होसार पर्व गुरुङ समाजको विशेष चाड भएतापनि यस अवसरमा आयोजित कार्यक्रमलाई उल्लासमय बनाइ सफल बनाउन सबै जातजाति भाषाभाषी नेपालीहरुको साथ, सहयोग र सहभागिता अपरिहार्य रहेको जिकिर गरे। उनले ग्रेटर बोस्टन क्षेत्रमा रहेका सबै जातजाति भाषाभाषी नेपाली समुदायलाई साथ सहयोगको लागि अपिल गर्दै कार्यक्रममा सहभागी भइदिन निम्तोसमेत गरेका छन्।
आयोजकका अनुसार कार्यक्रममा, नेपालीपन र पहिचान झल्किने गरी विविध सांस्कृतिक कार्यक्रमको आयोजना गरिनुका साथै नेपाली स्वादका विभिन्न स्वादिष्ट परिकारहरुको पनि व्यवस्था गरिने भएको छ। कार्यक्रममा सहभागिताका लागि आयोजकले प्रवेश शुल्क स्वरुप प्रति व्यक्ति ५० डलरको टिकट बिक्री गरिरहेको छ भने, १० वर्ष मुनीका बालबालिकाहरुलाई नि:शुल्क प्रवेशको व्यवस्था गरेको छ।
कार्यक्रमको मिति नजिकिदै गर्दा सिट सिमित हुदै गएकाले आयोजकले इच्छुकहरुलाई समयमै टिकट खरिद गरी आफ्नो सिट सुरक्षित गरिहाल्न अनुरोध गरेको छ। कार्यक्रमको तयारीका क्रममा प्रवासी नेपालीहरु आबध्द स्थानीय विभिन्न संघ संस्था तथा सामाजिक व्यक्तित्वहरुलाई आतिथ्यताका लागि निम्तोसमेत गरेको छ। कार्यक्रममा चासय सहभागीहरुको सहभागिता रहने आयोजकले अनुमान गरेको छ।
प्रतिक्रिया