अमेरिका, बोस्टन। हिमालयन लायन्स क्लब, डिस्ट्रिक्ट ३३के, म्यासाचुसेट्सले नेपालले हालै भोग्नु परेको प्राकृतिक महाविपत्तिप्रति गहिरो दु:ख प्रकट गर्दै शोक व्यक्त गरेको छ। क्लबले सेप्टेम्बर १२,२०२६ बुधबार नरउड टाउन कमनमा एक कार्यक्रमको आयोजना गरी शोक व्यक्त गरेको हो।
क्लबका अध्यक्ष थानीरत्न कँडेलले दिएको जानकारी अनुसार, शोक प्रकट गर्ने क्रममा दीप प्रज्वलनसहित प्रार्थना गरिएको थियो। सहभागीहरुले उक्त घटनाका कारण हुनगएको अकल्पनीय जनधनको क्षतिप्रति गहिरो दु:ख प्रकट गर्दै ज्यान गुमाउनेहरुको आत्माको चिरशान्तिको कामनासहित श्रद्धासुमन अर्पण गरेका थिए। सहभागीहरुले शोक प्रकट गर्ने क्रममा मृतकका परिवारहरुप्रति समवेदना प्रकट गर्नुका साथै घाइतेहरुको सिघ्र पूर्ण स्वास्थ्यलाभ र पुनर्स्थापनाका लागि प्रार्थनासमेत गरेका थिए।
उक्त महाविपत्तिबाट प्रभावितहरुलाई सक्दो राहत जुटाउने अभियानमा साथ दिदै क्लबका सदस्यहरुबाट राहत सहयोग स्वरुप जम्मा भएको रकमसहित क्लबले कुल दुई हजार डलर नेपाल सरकारको प्रधानमन्त्री राहत कोषमा जम्मा गर्न लागेको अध्यक्ष कँडेलले जानकारी दिए। क्लबले यस दु:खको घडिमा एकजुट भएर नेपाल र नेपालीलाई सक्दो सहयोग गरिदिन सबैलाई आव्हानसमेत गरेको छ।
कार्यक्रममा क्लब परिवार, नेपाली समुदायका विभिन्न संघ संस्थाहरुका प्रमुख तथा प्रतिनिधिहरुका साथै स्थानीय प्रवासी नेपाली समुदायको उपस्थिति रहेको थियो।












प्रतिक्रिया