मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बोस्टन   

तिहारमा देउसी भैलो खेल्ने प्याब्फोनको तयारी

तिहारमा देउसी भैलो खेल्ने प्याब्फोनको तयारी


अमेरिकाको म्यासाच्युसेट्स राज्यको बोस्टनमा अवस्थित आप्रवासी नेपालीहरु आबद्ध संस्था पशुपतिनाथ बुद्ध फाउण्डेशन अफ न्यू इङ्गल्याण्ड (PABFONE)ले नेपालीहरुको दोश्रो ठूलो चाड तिहारमा ‘देउसी भैलो’ खेल्ने तयारी गरेको छ। प्याब्फोनले विगतमा झैं यस वर्ष पनि तिहारमा बृहत् देउसी भैलो खेल्ने तयारी गरेको हो।

धार्मिक, सांस्कृतिक, रितिरिवाज, परम्परा, नेपालीपन र नेपाली पहिचानको संरक्षण, संवर्धन एवम् प्रवर्धन गर्नु र प्याब्फोनको सहयोगार्थ आर्थिक सहयोग संकलन गर्नु कार्यक्रमको मुख्य उद्देश्य रहेको बुझिएको छ। संस्थाले जनाए अनुसार कार्यक्रम यही आउदो नोभेम्बर १ तारिख सुक्रबार साँझ ५ बजेदेखि ८ बजेसम्म 594 Washington Street, Braintree, MA-02184 स्थित आफ्नै भवनमा ‘बृहत देउसी भैलो-२०२४’ कार्यक्रमको आयोजना गर्ने तयारी गरिरहेको छ।

प्याब्फोन कार्यसमितिले कार्यक्रमलाई प्रभावकारी र उपलब्धिमूलक बनाइ सफलतापूर्वक सम्पन्न गर्न संस्थाको कार्यसमितिका उपाध्यक्ष मिलनकुमार कार्कीलाई संयोजनको जिम्मेवारी सुम्पिसकेको छ। देउसी भैलो कार्यक्रमलाई सफललतापूर्वक सम्पन्न गर्नका लागि विगतमा झैं तयारीमा संस्था जुटिसकेको ‘बृहत् देउसी भैलो-२०२४’ कार्यक्रमका संयोजक कार्कीले बताए। उनले भने, ‘हामी देउसी भैलो कार्यक्रम सफल बनाउन आवश्यक तयारीमा जुटिसकेका छौं। यो कार्यक्रम संस्थाको इतिहास, पहिचान, गरिमा र आर्थिक सहयोग संकलनसंग पनि जोडिएको छ। त्यसैले सोही मर्म अनुसार बृहत रुपमा देउसी भैलो खेल्ने तयारीमा जुटिरहेका छौं।’

नेपाली चाड, धर्म, संस्कृति, परम्परा, रितिरिवाज, चालचलन, नेपालीपन एवम् पहिचानको मर्मलाई केन्द्रमा राख्दै साङ्गीतिक माहोलका साथ कार्यक्रम सभ्य र भव्य हुने संयोजक कार्कीको दावी छ। उनले जानकारी दिए अनुसार कलाकार देवीका केसीको आतिथ्यता रहने उक्त कार्यक्रममा, स्थानीय कलाकारहरु देउसी भैलोलाई संगीतमय, हर्षोल्लासमय र मनोरञ्जनात्मक बनाउन तयारीमा जुटिरहेका छन्।

कार्यक्रमका बारेमा जानकारी दिने क्रममा संयोजक कार्कीले भने ‘नेपालीहरुको चाड, धर्म, संस्कृति, परम्पार, रितिरिवाज, रहनसहन, नेपालीपन र पहिचानसंग साक्षात्कार हुनु र त्यसको जगेर्ना गर्नु नै देउसी भैलो कार्यक्रमको मुख्य उद्देश्य हो। त्यसैमा केन्द्रित भएर देउसी भैलो खेल्ने प्रयास गर्ने छौं।’

फाइल तस्बिर : गत वर्ष प्याब्फोनले खेलिएको देउसी भैलोको एक झलक।

विगतमा आर्थिक सहयोग जुटाउने मुख्य आधार बन्दै आएको देउसी भैलो कार्यक्रमलाई यस पटक भने आर्थिक संकलमा केन्द्रिकृत नगरिने संयोजक कार्कीले बताए। यद्यपि, देउसी भैलोबाट उठेको दान रकम संस्थागत विकासका लागि उपयोग गरिने भएकाले आर्थिक सहयोग गर्न चाहनेहरुलाई ऐच्छिक रुपमा यथाशक्य आर्थिक दान गरिदिनका लागि भने उनले अपिल गरेका छन्।

कार्यक्रम संयोजक कार्कीले संस्थाको तर्फबाट न्यू इङ्गल्याण्डबासी प्रवासीहरुलाई कार्यक्रममा सहभागिताका लागि चुले निम्तो दिदै तिहारको शुभकामनासमेत व्यक्त गरेका छन्।