मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रेस विज्ञप्ती / सूचना पाटी   
बोस्टन   

मजदुर दिवसको दिन बोस्टनबासी प्रवासी नारीहरु तीज विशेष कार्यक्रममा रमाउन आतुर

मजदुर दिवसको दिन बोस्टनबासी प्रवासी नारीहरु तीज विशेष कार्यक्रममा रमाउन आतुर


अंग्रेजी पात्रो अनुसार हरेक सेप्टेम्बर महिनाको पहिलो सोमबार लेबर डे अर्थात मजदुर दिवस पर्ने गर्दछ। यस वर्षको मजदुर दिवस सेप्टेम्बर २ तारिख सोमबारका दिन पर्न गएको छ। मजदुर दिवसको अवसरमा हुने बिदालाई छोप्दै अमेरिकाको म्यासाचुसेट्स राज्यको ग्रेटर बोस्टनवासी प्रवासी नारीहरु नेपालीहरुको विशेष चाड हरितालिका तीज भव्यताका साथ मनाउने तयारीमा जुटिरहेका छन्।

यसको चाँजो पाँजो मिलाउनका लागि महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको छ बोस्टन स्थित प्रवासी नेपालीहरुको पुरानो संस्था ‘ग्रेटर बोस्टन नेपाली कम्युनिटी(जिबिएनसि)’ले। जिबिएनसिले सेप्टेम्बर २ तारिख सोमबार साँझ क्याम्ब्रिज सिटीको 400 Cardinal Medeiros Avenue,Cambridge मा तीज विशेष कार्यक्रम ‘हरितालिका तीज-२०२४’ आयोजना गरेको छ। हरेक वर्ष झैं यस वर्ष पनि नेपाली धर्म, संस्कृति, परम्परा, रितिरिवाज आदिको जगेर्नामा सक्दो योगदान पुर्याउने, आपसी सम्बन्धनलाई थप प्रगाढ बनाउने, शुभकामना आदानप्रदान गर्दै हर्षोल्लासका साथ तीज मनाउदै मनोरञ्जन गर्ने मुख्य उद्देश्यहरु राखेर तीज विशेष कार्यक्रम ‘हरितालिका तीज-२०२४’ आयोजना गरिएको जिबिएनसिले जनाएको छ।

कार्यक्रमको आवश्यक तयारी पूरा भइसकेको कार्यक्रम आयोजक संस्थाकी महिला उपाध्यक्ष सानु बर्मा अधिकारीले जानकारी दिएकी छन्। हरेक वर्ष झैं यस वर्ष पनि हरितालिका तीज भव्यताका साथ मनाउन आवश्यक सम्पूर्ण तयारी पूरा भइसकेको जनाउदै महिला उपाध्यक्ष अधिकारीले कार्यक्रममा सहभागी भइदिन सम्पूर्ण ग्रेटर बोस्टनबासी प्रवासी नेपालीहरुलाई संस्थाको तर्फबाट निम्तोसमेत दिएकी छिन्। अमेरिकाको व्यस्त दैनिकीलाई थाती राखेर उक्त कार्यक्रममा सहभागिता जनाउदै साथी संगीहरुसंगै गाएर, नाचेर र खाएर रमाउन ग्रेटर बोस्टनवासी प्रवासी नारीहरु आतुर रहेका छन्।

आयोजकका अनुसार उक्त कार्यक्रममा गायिका देविका केसीका साथमा तीज विशेष सांगीतिक कार्यक्रम हुदै छ। त्यसका लागि गायिका देविका केसी सेप्टेम्बर १ तारिख आइतबार नै बोस्टन उत्रिसकेकी छन्। उनले सम्पूर्ण ग्रेटर बोस्टनबासी प्रवासी नेपालीहरुलाई बोस्टनमा हुने भव्य सभ्य तीज विशेष कार्यक्रममा आइदिन अनुरोध गर्दै नेपाली रिति तथा संस्कृतिलाई सम्मान र नेपाली गीत संगीतलाई माया गरिदिन अनुरोधसमेत गरेकी छिन्।

जिबिएनसिले जनाए अनुसार कार्यक्रममा तीज लक्षित स्वादिष्ट नेपाली परिकारहरुकोसमेत व्यवस्था गरिने भएको छ। तयारी अन्तर्गत प्राथमिकताका साथ कार्यक्रमको प्रचारप्रसार गरिनुका साथै कार्यक्रम स्थलको क्षमता अनुसार सहभागीहरुका लागि व्यवस्था गरिएको प्रेवेश टिकट बिक्री भइरहेको छ। संस्थाले सहयोग स्वरुप प्रति टिकट ३५ डलर तोकेको छ भने, १० वर्ष मुनिका बाबालिकाहरुका लागि निशुल्क प्रवेशको व्यवस्था गरेको छ।