मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एनआरएन विशेष   

एनआरएनए अमेरिका १३औं साधारण सभा तथा ज्ञान सम्मेलनको अन्तिम तयारीमा जुट्यो

एनआरएनए अमेरिका १३औं साधारण सभा तथा ज्ञान सम्मेलनको अन्तिम तयारीमा जुट्यो


यतिबेला गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद (एनआरएनए,एनसिसि),अमेरिका आफ्नो ‘१३औं साधारण सभा तथा ज्ञान सम्मेलन’को अन्तिम तयारीमा जुटेको छ। १३औं साधारण सभा तथा ज्ञान सम्मेलनको मिति नजिकिदै गरेकाले तिब्रताका साथ आवश्यक अन्तिम तयारीमा जुटेको संघले जनाएको छ।

यस सम्बन्धमा प्रेसमार्फत आफ्ना सदस्यहरु तथा सरोकारवालाहरुलाई जानकारी दिने उद्देश्यले संघले गत जुन २३ तारिख आइतवार भर्चुयलमार्फत पत्रकार सम्मेलन गरी तयारीका बारेमा जानकारी गराएको हो। संघका अनुसार क्यालिफोर्नियामा सम्पन्न पाँचौ नियमित बैठकले १३औं साधारण सभा डिसी मेट्रो क्षेत्रमा गर्ने निर्णय गरे अनुसार, आउदो जुलाई १३ र १४ तारिख शनिवार र आइतवारका दिन मेरिल्याण्ड राज्यको बाल्टिमोरमा ‘१३औं साधारण सभा एवम् ज्ञान सम्मेलन’ गर्ने निश्चित गरिएको हो।

पत्रकार सम्मेलनमा संघका कार्यवाहक अध्यक्ष एवम् १३औं साधारण सभा एवम् ज्ञान सम्मेलन’का कन्भेनर बिकाश उप्रेतिले कार्यक्रमलाई सफलतापूर्वक सम्पन्न गर्न आपसमा जिम्मेवारी बाँडफाँड गरी अन्तिम तयारीलाई तिब्रता दिइएको जानकारी दिएका थिए। उनका अनुसार जुन १२ तारिख सुक्रवार च्याप्टर नाइट (च्याप्टर अध्यक्षहरुसंग भेटघाट तथा बैठक) हुने, जुन १३ तारिख शनिवार साधारण सभा एवम् ज्ञान सम्मेलनको उद्घाटन तथा विज्ञहरुसहितको ज्ञान सम्मेलन गर्ने र १४ तारिख आइतवार बन्द सत्र गरी सांस्कृतिक कार्यक्रमसहित साधारण सभा समापन गर्ने गरी कार्यक्रमको प्रारम्भिक कार्यतालिका बनाइएको छ।

यस पटकको साधारण सभा विशेष गरी विधान संशोधनमा केन्द्रिकृत हुने भएकाले सोही अनुसार गृहकार्यहरु भइरहेको जनइएको छ। पत्रकार सम्मेलनलाई सम्बोधन गर्ने क्रममा कार्यक्रमको विस्तृत कार्यतालिका र तयारीका सम्बन्धमा थप जानकारी छिट्टै सार्वजनिक गरिने बताउदै कार्यवाहक अध्यक्ष एवम् कन्भेनर उप्रेतिले संघमा आबद्ध सबै सदस्यहरुलाई साधारण सभामा सक्रिय सहभागिता जनाउन अनुरोधसमेत गरेका थिए। उनले साधारण सभामा नेपाल सरकारका परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठलाई निमन्त्रणा गरिसकिएको र अन्य अतिथिहरुलाई पनि निमन्त्रणा गर्ने कार्य सचिवालयबाट भइरहेको जानकारी दिए। उनले साधारण सभाको प्रचार प्रसारमा केही ढिलाइ भएको स्विकार गर्दै अब भने साधारण सभा सम्बन्धी जानकारी तथा सूचनाहरुलाई प्राथमिकताका साथ नियमित रुपमा प्रवाह गरिने बताए।

यसैगरी, पत्रकार सम्मेलनमा संघका युवा उपाध्यक्ष एवम् को-कन्भेनर अनुप खनाल , उपाध्यक्ष एवम् ज्ञान सम्मेलनका संयोजक भानु खरेल, महासचिव रामहरि अधिकारी र मेडिया कोअर्डिनेटर सतिश चापागाँईले तयारीका दौरानमा हालसम्म भएका प्रगतिहरु र हुदै गरेका कामहरुका बारेमा जानकारी गराएका थिए।उनीहरुले हुदै गरेको साधारण सभालाई सफलतापूर्वक सम्पन्न गर्न प्रवासी नेपालीहरुका स्थानीय संघ संस्थाहरुसंग पनि छलफल गरिएको र स्थानीय संघ संस्थाहरुले पनि साथ सहयोग गर्ने प्रतिबद्धता जनाएको जानकारी गराएका थिए। प्राप्त जानकारी अनुसार १३ औं साधारण सभा एवम् ज्ञान सम्मेलन बाल्टिमोर सिटीको 1100 Cromwell Bridge Rd, Towson, MD 21286 स्थित Holiday Inn Express Towson मा हुने भएको छ भने, सहभागीहरुको बासका लागि सोही होटलमा र अन्य नजिकैका होटलहरुमा व्यवस्था गर्ने गरी तयारी गरिएको छ।

पत्रकार सम्मेलनमा जानकारी गराइए अनुसार सदस्यहरुले साधारण सभामा भाग लिनका लागि संघले उपलब्ध गराएको लिंकमा गएर एक सय डलर दर्ता शुल्क तिरी आफ्नो नाम दर्ता गर्नु पर्ने छ। त्यसका लागि दर्ता खुला गरिसकिएको र दर्ताका लागि लिंक सार्वजनिक गरिसकिएको संघले जनाएको छ। नाम दर्ता गरेर सहभागी हुने सदस्यहरुका लागि साधारण सभा अवधिभर संघले नै नास्ता तथा खानाको व्यवस्था गर्ने र बासका लागि भने संघले समन्वय गरिदिने भएतापनि लाग्ने खर्च भने सहभागी सदस्य स्वयंले बेहोर्नु पर्ने छ।

पत्रकार सम्मेलनमा नेपाल अमेरिका पत्रकार संघ(नेजा)का अध्यक्ष सुरज भण्डारीले नेजा र एनआरएनएको मूल उद्देश्यमा समानता रहेको जिकिर गर्दै नेपाली समुदायको भलोका लागि मिलेर अघिबढ्नु पर्नेमा जोड दिएका थिए। सम्बोधनका क्रममा उनले एनआरएनएको आसन्न साधारण सभा तथा ज्ञान सम्मेलन गैर आवासीय नेपालीहरुका लागि अत्यन्त महत्वपूर्ण रहेको जनाउदै साधारण सभाको सफलतको कामनासमेत गरेका थिए।