मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बोस्टन   

अमेरिकामा प्रवासी नेपालीहरुले अर्जेन्ट केयर क्लिनिक सञ्चालनमा ल्याए

अमेरिकामा प्रवासी नेपालीहरुले अर्जेन्ट केयर क्लिनिक सञ्चालनमा ल्याए

जुन १९ बाट नियमित सेवा सुरु, प्रवासी नेपाली समुदाय लाभान्वित हुने विश्वास


तस्बिर: सक्रिय बस्नेत ।

अमेरिकाको म्यासाच्युसेट्स राज्यमा प्रवासी नेपालीहरुले अमेरिकन फ्यामिली केयर अन्तर्गत अर्जेन्ट केयर क्लिनिक(AFC-Urgent Care Clinic) सञ्चालनमा ल्याएका छन्। यही जुन १८ तारिख मंगलवारका दिन अमेरिकाको ऐतिहासिक सहर बोस्टन नजिकै रहेको नरउड टाउनको 956 Boston Providence Hwy, Norwood, MA-02062 मा अवस्थित क्लिनिकको औपचारिक उद्घाटन गरी सञ्चालनमा ल्याएइएको हो।

क्लिनिकको औपचारिक उद्घाटन क्लिनिकका प्रमुख कार्यकारी अधिकृत सुशीलचन्द्र पौडेल र मेडिल डाइरेक्टर डाक्टर अशोक देवकोटाले संयुक्त रुपमा रिबन काटेर गरेका थिए। उद्घाटन कार्यक्रम सञ्चालन गर्दै नेपोन्सेट रिभर रिजनल चेम्बर अफ कमर्सका अध्यक्ष टिम म्याक्केबले नरउडमा नयाँ एएफसि अर्जेन्ट केयर सञ्चालनमा आएकोमा खुशी व्यक्त गरेका थिए। उनले सञ्चालकहरुलाई बधाई ज्ञापन गर्नुका साथै द कमनवेल्थ अफ म्यासाच्युसेट्सको राज्य प्रतिनिधि जोन एच रोगर्सका तर्फबाट हाउसका स्पिकर रोनाल्ड मारियानोद्वारा हस्ताक्षरित प्रशंसासहितको बधाई तथा शुभकामना पत्र पढेर सुनाउदै उक्त पत्र क्लिनिक परिवारलाई प्रदान गरेका थिए। सम्बोधनका क्रममा उनले क्लिनिक सञ्चालन अभियानमा सक्रिय रहेका व्यक्तित्वहरुको परिचय गराउदै सफलताको कामनासमेत गरेका थिए।

कार्यक्रममा नोरफोक काउन्टीका कमिसनर रिचार्ड आर स्टैटी, नरउड टाउन अफिसियल तथा फायर डिपार्टमेन्टका प्रमुखलगायत उपस्थित नेपाली समुदायका सामाजिक अभियान्ताहरुले क्लिनिक परिवारलाई बधाई दिनुका साथै सफलताको कामना गरेका थिए।

उद्घाटन कार्यक्रमको दौरानमा सम्बोधन गर्दै क्लिनिकका प्रमुख कार्यकारी अधिकृत (सिइयो) सुशीलचन्द्र पौडेलले लामो प्रतिक्षा पछि क्लिनिक सञ्चालनमा आएकोमा निकै खुशी व्यक्त गरे। समुदायको लागि स्वास्थ्य क्षेत्रमा केही गरौं भन्ने भावनाले केही साथीहरु मिलेर सुरु गरिएको अभियानले सार्थकता पाएकोमा क्लिनिकका सिइओ पौडेलले गर्व गर्दै अहोरात्र खटेर साझा सपनालाई सार्थक बनाउन साथ दिने सबैलाई धन्यवाद ज्ञापन गरे। सम्बोधनका क्रममा उनले संस्थाको मुख्य ध्येयका बारेमा जानकारी गराउदै क्लिनिकले प्रदान गर्ने सेवाहरु आवश्यक परेमा सम्झन सबैलाई अनुरोधसमेत गरे।

क्लिनिकका मेडिकल डाइरेक्टर डाक्टर अशोक देवकोटाले कोभिड माहामारीका बेला र त्यसपछि स्वास्थ्य सेवाहरु प्राप्त गर्न कठिन हुदै गएको स्मरण गराउदै आफूहरु नरउड र आसपासमा रहेका समुदायलाई तत्काल स्वास्थ्य सेवाहरु प्रादन गर्ने अभियानमा जुटिरहेको बताए। सञ्चालनमा आएको स्वास्थ्य सेवा केन्द्र दक्ष जनशक्ति र स्वास्थ्य परिक्षणका लागि ल्याबसहित उपकरणयुक्त रहेको दाबी गरेका उनले, सेवाग्राहीहरुलाई छिटो, छरितो, राम्रो र उच्च गुणस्तरीय स्वास्थ्य सेवाहरु प्रदान गर्न प्रतिबद्ध रहेको बताए। वर्तमान समयमा प्राथमिक स्वास्थ्य सेवा केन्द्र वा अस्पतालहरुबाट स्वास्थ्य उपचार लिन समय लाग्ने र धेरै असुविधाहरु हुने भएकाले तत्काल स्वास्थ्य सेवाहरु लिनु पर्ने भएमा एएफसि अर्जेन्ट केयर सेन्टर, नरउडमा आउनसमेत निर्देशक देवकोटाले सबैलाई अनुरोध गरेका छन्।

उद्घाटन गरिएसंगै क्लिनिकले जुन १९ बुधवारदेखि नै नियमित रुपमा आफ्ना सेवाहरु सेवाग्राहीहरुलाई प्रदान गर्न सुरु गर्ने क्लिनिकका बजार तथा व्यापार निर्देशक उमेश पनेरुले जानकारी दिए। उनले दिएको जानकारी अनुसार सेवा केन्द्र सेवाग्राहीहरुलाई सेवा प्रदान गर्नका लागि हप्ताको सातै दिन खुलाइने भएको छ।

सञ्चालनमा ल्याइएको क्लिनिकले नेपालीहरुको बाक्लै बसोबास रहेको नरउड टाउन तथा आसपासका क्षेत्रहरुमा रहेका बासिन्दाहरुलाई लक्षित गरी गुणस्तरी स्वास्थ्य सेवाहरु उपलब्ध गराउने लक्ष्य राखेको छ। यसबाट नेपाली समुदाय लाभान्वित हुने क्लिनिक सञ्चालकहरुले विश्वास लिएका छन्।

उक्त क्लिनिक अमेरिकामा स्वास्थ्य, व्यवस्थापन र व्यापार क्षेत्रमा सक्रिय रहेका प्रवासी नेपालीहरुले मिलेर सन् २०२२ मा खोलेको कम्पनी नेप्रस इन्कले सञ्चालन गरेको हो। कम्पनीले अमेरिकामा स्वास्थ्य क्षेत्रमा स्थापित अमेरिकन फ्यामिली केयरको फ्र्यान्चाइज्ड(Franchised)लिएर अर्जेन्ट केयर क्लिनिक सञ्चान गरेको हो। जो अमेरिकामा प्रवासी नेपालीहरुको लगानी र व्यवस्थापन सञ्चालनमा ल्याइएको पहिलो अर्जेन्ट केयर क्लिनिक भएको सञ्चालकहरुको दाबी छ। कम्पनीले निकट भविश्यमै अमेरिकाको बोस्टन सहर निटक रहेको अर्को राज्य न्यू हेमसायरमा पनि आफ्नो सेवा विस्तार गर्ने गरी आवश्यक तयारीको कामलाई तिब्रता दिइरहेको छ भने, भविश्यमा अमेरिकाको अन्य सहरहरुमा पनि सेवा विस्तार गर्ने योजना रहेको क्लिनिकका बजार तथा व्यापार निर्देशक पनेरुले जानकारी दिएकाछन्।