नेपाल

बिदेसिनुपर्ने बाध्यता अन्त्य गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री शाह

बिदेसिनुपर्ने बाध्यता अन्त्य गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री शाह


शेयर गर्नुहोस:

0
Shares

  • change font
  • change font

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले बडादसैँ एकता, आत्मीयता र भलाकुसारीको सङ्गमका रूपमा नेपालीमाझ स्थापित चाड भएको बताएका छन् ।

बडादसैँका अवसरमा शनिबार सामाजिक सञ्जालमार्फत शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री शाहले बडाका हातबाट टीका र जमरा लगाएर आशीर्वाद थाप्ने परम्परा सानालाई माया र ठूलालाई आदर गर्ने हाम्रो मौलिक परम्पराको प्रतिबिम्ब भएको उल्लेख गरेका छन् ।

Advertisement

प्रधानमन्त्रीले बडादसैँ देशभित्रका विभिन्न स्थानहरूबाट मात्र नभई देशबाहिरबाट समेत आफ्नो घरआँगनमा फर्कने, आफ्ना परिवार र आत्मीयजनहरूसँग भलाकुसारी गर्ने, खानपान गर्ने र रमाइलो गर्ने अवसरका रूपमा युगौँदेखि परिचित रहेको समेत बताएका छन् ,। “बडादसैँको माहोलको आकाश नै अलग हुन्छ, धर्तीको सुगन्ध छुट्टै हुन्छ अनि वातावरण त्यसै–त्यसै उल्लासमय र उमङ्गले भरिपूर्ण हुन्छ”, उनले भने ।

प्रधानमन्त्री शाहले यस पावन उत्सवको अवसरमा सम्पूर्णमा हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दै विश्वभर छरिएर रहेका नेपाली समुदायलाई एकताबद्ध गर्ने चाडका रूपमा रहेको बडादसैँले हरेक घरमा उत्सव र उमङ्ग ल्याओस् भन्ने कामना गरे ।

“तपाईं–हाम्रो घरआँगनमा नेपालीहरूको महान् चाड बडादसैँले प्रवेश गरिसकेको छ । आज सप्तमी तिथि अर्थात् फूलपाती, दशमी तिथि अर्थात् विजया दशमीको दिन टीका ग्रहण गर्ने मुख्य दिन रहे तापनि नवरात्रको सुरुवात विधिपूर्वक घटस्थापना गरेर यसअघि नै भइसकेको छ”, उनले भने ।

नेपाली समाजमा सदियौँदेखि दसैँको विशेष महत्त्व रहिआएको र धार्मिक, सामाजिक तथा सांस्कृतिक दृष्टिकोणले महत्त्वपूर्ण चाडका रूपमा रहेको उनको भनाइ छ । यस अवसरमा सबैभन्दा लामो सार्वजनिक बिदा छुट्याइने भएकाले पनि दशैं निस्फिक्री रमाउने चाडका रूपमा रहँदै आएको उनले उल्लेख गरे ।

“स–साना बाबुनानीहरूका लागि त झनै विद्यालय बिदा भएपछि खाने, खेल्ने र नयाँ–नयाँ लुगा लगाएर मामाघर जानेजस्ता फुरुङ्ग पार्ने गतिविधिले अर्कै उत्साह ल्याउने गर्दछ र त्यसले पनि वातावरणलाई थप पुलकित पार्ने गर्दछ । आर्थिक गतिविधिका हिसाबले समेत बडादसैँ नेपालीहरूमाझ सबैभन्दा चलायमान पर्वका रूपमा रहेको छ” उनले भने ।

प्रधानमन्त्री शाहले नेपालीहरूले विभिन्न विषम र सङ्कटपूर्ण परिस्थितिहरूबाट गुज्रँदै पनि चाडपर्वका अवसरहरूमा धार्मिक, सांस्कृतिक तथा सामाजिक मूल्यमान्यता र मौलिकताको जगेर्ना गर्दै अविच्छिन्न रूपमा चाडपर्व मनाउँदै आएका समेत स्मरण गरे ।

“कुनै बेला भूकम्पले थलिएको अवस्थामा पनि, अनि कुनै बेला कोभिडजस्तो महामारीको बीचमा पनि दसैँ आयो र गयो । अघिल्लो वर्ष जेनजी आन्दोलन र त्यसपछिको तनावपूर्ण परिस्थितिको केही समयमै हामीमाझ दसैँ आयो । हामीले आफ्नो रीतिथिति र परम्पराअनुसार मनायौँ”, उनले भने ।

यसवर्ष पनि रसुवा, नुवाकोट, गोरखालगायतका ठाउँहरूमा भएका प्रलयकारी विनाशको शोक आलो रहँदै दसैँ आइपुगेको उल्लेख गर्र्दै प्रधानमन्त्रीले ज्यान गुमाएकाहरूको चिरआत्माको शान्ति तथा घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्न गरे । साथै सिङ्गो देशका तर्फबाट शोकसन्तप्त परिवारहरूप्रति समवेदना व्यक्त गरे ।

प्रधानमन्त्री शाहले पारिवारिक मिलन र आफन्तजनको सामीप्यमा हर्षोल्लासका साथ मनाइनुपर्ने चाडपर्वहरू हिजोआज रित्ता र उजाडिँदै गएका गाउँका घरआँगनहरूमा निरस देखिँदै गइरहेको तीतो यथार्थलाई पनि शुभकामना सन्देशमा स्मरण गरे ।

हरेक दिन बाध्यताले बिदेसिनुपर्ने दाजुभाइ तथा दिदीबहिनीहरूको पीडा र चाडपर्वका अवसरमा पारिवारिक मिलनका लागि घर फर्कने चाहना हुँदाहुँदै पनि फर्कन नपाई परदेशमा रित्तो निधार लिएर बस्न बाध्य हुनुपर्ने लाखौँ नेपाली दिदीबहिनी तथा दाजुभाइहरूको नियति बदल्न हामी सबैको हातेमालोबाट सम्भव छ भन्नेमा उनले दृढ विश्वास व्यक्त गरे ।

उनले भने, “सरकार देशको समृद्धि र आमनागरिकको सुखद जीविकाप्रति प्रतिबद्ध रहँदै अगाडि बढिरहेको छ भन्नेमा आश्वस्त पार्न चाहन्छु ।”

आर्थिक रूपमा हरेक नागरिकको सम्पन्नताले नै चाडपर्वहरूको रौनक अझै थपिन्छ । आर्थिक कारणले नै दसैँजस्तो महान् पर्व कसैका लागि बोझ बन्नु हुँदैन भन्नेमा सरकार सचेत भएको उहाँको भनाइ छ । उनले आर्थिक सम्पन्नताको बाटोमा यथोचित पाइला अघि बढाउँदै देशलाई सुशासनको मार्गमा अग्रसर गराउन वर्तमान सरकार अहोरात्र खटिइरहेको पनि उल्लेख गरे ।

शुभकामना सन्देशमा भनिएको छ, ‘दसैँको अन्तर्यमा रहेको सत्यको विजयलाई आत्मसात् गर्दै सत्यको बाटोमा र सुशासनको बाटोमा हिँड्न माता दुर्गा भवानीको सत्प्रेरणा र कृपा हामी सबैमा सदैव परिरहोस् भन्ने शुभेच्छासहित सबै जनामा बडादसैँको सुअवसरमा आरोग्य, सुख, शान्ति र समृद्धिको हार्दिक शुभकामना व्यक्त गर्दछु । सभ्य र भव्यरूपमा दसैँ मनाऔँ ।’