मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

व्यापारी रामहरि श्रेष्ठको हत्या प्रकरण : पूर्वकमाण्डर खामलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश

व्यापारी रामहरि श्रेष्ठको हत्या प्रकरण : पूर्वकमाण्डर खामलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश

‘न्याय पाउने आश पलायो’ : परिवारजन

केशव भट्टराई

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चितवन । काठमाडौँ कोटेश्वरका व्यापारी रामहरि श्रेष्ठको हत्याको अभियोगमा १५ वर्षपछि पक्राउ गरिएका माओवादी पूर्वकमाण्डर कालीबहादुर खामलाई चितवन जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ ।

जिल्ला न्यायाधीश दयाराम ढकालको इजलासले खामलाई शुक्रबार पुर्पक्षका लागि थुनामा पठाउन आउदेश दिएको अदालतका श्रेष्तेदार विष्णुप्रसाद आचार्यले जानकारी दिए । बिहीबार र शुक्रबार गरी दुईदिन थुनछेक बहसपछि न्यायाधीश ढकालले घटनामा खामको संलग्न नरहेको भनी अहिले भन्न नसकिने भएकाले तत्काल थुनामा पठाउन आदेश दिएका हुन् ।

आदेशमा भनिएको छ, ‘तत्काल प्रमाणको आधारमा दाबीको कसुरमा प्रतिवादी खामको संलग्नता नरहेको भनी अहिले नै भन्न नसकिने विद्यमानता नदेखिँदा पछि मुद्दामा थप प्रमाण बुझ्दै जाँदा ठहरेबमोजिम हुनेगरी कानुन बमोजिमको सुविधा पाउनेगरी मुलुकी फौजदारी कार्यविधि संहिता–२०७४ को दफा (६७) बमोजिम मुद्दा पुर्पक्षका लागि थुनामा राख्न निज प्रतिवादी विविध भन्ने कालीबहादुर खाममगरलाई कारागार कार्यालय चितवनमा पठाइदिनू साथै निज प्रतिवादीले साक्षीसमेत राखेको देखिँदा निजका साक्षीहरुसमेत बुझी नियमअनुसार गर्न यो आदेश गरिदिएँ ।’

सर्वोच्च अदालतबाट बुधबार साँझ मिसल आइपुगेपछि बिहीबार खामको बयान सुरू भएको थियो । १५ वर्षदेखि फरार रहेका खामलाई मंगलबार काठमाडौँको ठमेलबाट पक्राउ गरी चितवन अदालतमा पेस गरिएको थियो । कोटेश्वरका व्यापारी श्रेष्ठको २०६५ वैशाखमा चितवन शक्तिखोरमा रहेको माओवादी लडाकुको अस्थायी शिविरको तेस्रो डिभिजनमा हत्या भएको थियो । खाम त्यस बेला तेस्रो डिभिजनका कमाण्डर रहेका थिए । रामहरि श्रेष्ठको कोटेश्वरमा रहेको घरमा तेस्रो डिभिजनको सम्पर्क कार्यालय थियो ।

कार्यालयबाट १७ लाख रूपैयाँ नगद र हतियार हराएपछि सोधपुछ छानबिनका लागि भनेर श्रेष्ठलाई शक्तिखोर ल्याइएको थियो । शिविरभित्रै श्रेष्ठको कुटपिटबाट हत्या भएको पुष्टि भएपछि श्रेष्ठकी श्रीमती रमिलाले खामसहित अर्का कमाण्डर गोविन्दबहादुर बटला, केशव अधिकारी र गंगाबहादुर थापाविरूद्ध जाहेरी दिएकी थिइन् । यो मुद्दामा बटला आफैँ प्रहरीमा उपस्थित भएर २०६८ सालमा तीन वर्षको कैद सजाय पाए पनि अरू कोही पक्राउ परेका थिएनन् ।

‘न्याय पाउने आश पलायो’

चितवन जिल्ला अदालतले व्यापारी श्रेष्ठको हत्या अभियोगमा फरार भई पक्राउ परेका माओवादीका पूर्वकमाण्डर कालीबहादुर खाममगरलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएपछि रामहरिका श्रीमती रमिला र छोरा रोमनले न्याय पाउने आश पलाएको प्रतिक्रिया दिएका छन् ।

जिल्ला अदालत परिसरमै रहेकी रमिलाले थोरै भए पनि न्याय पाएको अनुभूति मिलेको प्रतिक्रिया दिइन् । छोरा रोहनसहित उपस्थित भएकी रमिलाले भनिन्, ‘आज अलिकति जितेको महसुस गरेको छु, अहिले बल्ल पहिलो खुड्किला चढेजस्तो भएको छ न्याय पाउने अनुभूति भएको छ ।’ उनले थपिन्, ‘पहिलो फरार भएको मान्छे कहिले भेट्ने हो भन्ने भएको थियो, प्रहरीले अहिले समातेर ल्यायो, थुनामै राखेर कारबाही गरेपछि मैले न्याय पाउँछु भन्ने लागेको छ ।’

खाम पक्राउ परेको जानकारी पाएपछि लन्डनबाट छोरा रोमन पनि आमालाई साथ दिन नेपाल आएका छन् । अदालत परिसरमा रहेका रोमनले अदालतको आदेशपछि प्रतिक्रिया दिँदै केही न्याय पाउनेमा आशा जागेको बताए । उनले पहिलो सफलता निष्पक्षरुपमा भएको अनुभूत भएको भन्दै मुद्दामा सहयोग गर्ने सबैमा धन्यवाद दिए ।

‘म विगत आठ वर्षदेखि लन्डनमा बस्दै आएको छु, अहिले न्याय पाउने आशामा एकतर्फी टिकट काटेर आएको छु, यो आदेश हाम्रो पहिलो सफलता हो, निष्पक्ष नै भएजस्तो लाग्यो’ रोमनले भने ‘अहिलेसम्म हामीलाई साथ दिने सबैलाई धेरैधेरै धन्यवाद, आशा छ राजनीतिक हस्तक्षेपबिना दोषीलाई निष्पक्षरुपमा कानुनबमोजिम कडाभन्दा कडा कारबाही हुनुपर्छ ।’

घटनाको समयमा रोमन मात्र १२ वर्षका थिए । उनलाई अहिले पनि विगतको त्यो दुखद क्षणको झलझली याद आउँछ । विगतका दिन सम्झँदै रोमनले भने, ‘विगत १५ वर्ष नै हाम्रो सबैभन्दा धेरै पीडादायी क्षण हो, मुख्य अभियुक्त खुलेआम हिँडिरहेको हामीलाई पहिलै जानकारी थियो, अन्तर्राष्ट्रियरुपमा दवाब दिँदा पनि समाउन नसक्दा हामीलाई सधैँ बिझाइरहेको थियो, हामीले एक किसिमले न्यायको आश छोडिसकेका थियौँ । तर, आमा हरेश खानु भएन, नेपालमै बसेर लड्छु भनेर लाग्नुभयो, हामी यसमा खुसी छौँ ।’