मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रेस विज्ञप्ती / सूचना पाटी   
बोस्टन   

जिबिएनसिले ‘बैशाखी साँझ’ लाई निरन्तरता दिदै नेपाली नयाँ वर्ष भव्यताका साथ मनाउने

जिबिएनसिले ‘बैशाखी साँझ’ लाई निरन्तरता दिदै नेपाली नयाँ वर्ष भव्यताका साथ मनाउने


नेपाली नयाँ वर्ष नजिकै गर्दा अमेरिकाको न्यू इङल्याण्ड क्षेत्रमा बसोबास गर्ने नेपाली समुदायमा खुशीको आभाससंगै चहलपहल सुरुहुन थालिसकेको छ। नेपाली पात्रो अनुसार २०८० साल समाप्त भएर नयाँ वर्ष २०८१ साल प्रारम्भ हुन आजका मितिले अब २६ दिन मात्र बाँकी छ।

नेपाली नयाँ वर्ष नजिकिदै गरेकाले बोस्टन स्थित प्रवासी नेपालीहरुको संस्था ग्रेटर बोस्टन नेपाली कम्युनिटी(GBNC)ले सक्रियता देखाउन थालिसकेको छ। संस्थाले हरेक वर्ष नेपाली नयाँ वर्षको अवसरमा विशेष सांगीतिक माहोलसहितको ‘बैशाखी साँझ’ कार्यक्रम आयोजना गरेर हर्षोल्लासका साथ नेपाली नयाँ वर्ष मनाउदै आइरहेको छ। यस वर्ष पनि गर्दै आएको उक्त ‘बैशाखी साँझ’ लाई प्राथमिकताका साथ निरन्तरता दिदै नेपाली नयाँ वर्ष भव्यताका साथ मनाउने भएको छ। यो कार्यक्रम संस्थाले गर्ने आफ्नो प्रमुख वार्षिक क्रियाकलापहरुको तालिका अनुसार नै गर्न लागेको हो। जो संस्थाको प्रमुख कार्यक्रमहरु मध्यको एक हो।

यस वर्ष नेपाली नयाँ वर्ष २०८१ को पहिलो दिन अर्थात बैशाख १ गते तदनुसार अप्रिल १३ तारिख शनिवार परेको छ। ‘बैशाखी साँझ-२०८१’ लाई भव्यताका साथ मनाउन जिबिएनसि (GBNC) परिवार आवश्यक तयारीमा जुटिसकेको संस्थाका वरिष्ठ उपाध्यक्ष सन्दिप भट्टराईले बताए। उनले बताए अनुसार यसपटक कार्यक्रमको मुख्य आकर्षक सांगीतिक क्षेत्रका उदयमान गायक द्वय कृष्ण काफ्ले र परिजिता बास्तोला रहने भएका छन्।

पाँच सय भन्दा बढी गीतहरु गाएर नेपाली गीत संगीत प्रेमीहरुको मन जित्न सफल काफ्ले, जनसेवा श्री पदक पंचम, राष्ट्रिय रापती संगीत पुरस्कार, कामना फिल्म पुरस्कारलगायत पुरस्कारहरुबाट सम्मानित व्यक्तित्व हुन्। उनका ‘पर्ख पर्ख मायालु, देख्न चम्पा, तिम्रो पिक्चर हिट, आकाशका तारा, संझना तिम्रो, सके हसाउछु……जस्ता गीतहरु चर्चाको शिखरमा छन्।

त्यसैगरी, अमेरिकाको मेरिल्याण्डमा जन्मिएकी गायिका परिजिता बास्तोला पनि पछिल्लो समय सांगीतिक क्षेत्रमा चिरपरिचित नाम हो। उनले वहुचर्चित गाायन रियालिटी शो ‘द भ्वाइस’को अमेरिकी संस्करणमा भाग लिएर दमदार प्रस्तुति दिदै छोटो समयमा नै गतिलो छाप छोड्न सफल भएकी थिइन्। कम भोट पाएका कारण ‘द भ्वाइस’को टप ८ को प्रतिस्पर्धाबाट बाहिरिएकी बोस्तोला, गीत संगीत प्रेमीहरुको मन भित्र भने डेरा जमाउन सफल भइन्। पछिल्लो समय अमेरिकामा रहेका नेपाली समुदायहरुले आयोजना गर्ने विभिन्न सांगीतिक कार्यक्रमहरुका लागि उनी पहिलो रोजाइमा पर्न थालेकी छिन्। अंग्रेजी र नेपाली गीतहरु गाउदा उनको गायकीपनमा पृथक स्वाद पाइने भएकाले पनि उनी युवा पुस्ताको रोजाइमा पर्न सफल भइरहेकी छिन्।

‘बैशाखी साँझ-२०८१’ कार्यक्रममा काफ्ले र बास्तोलासंगै उदयमान स्थानीय कलाकारहरुले पनि मञ्च साझा गरेर सांगीतिक कोसेलीहरु पस्कदै सांगीतिक माहोललाई थप रौनक, मनोरञ्जनात्मक र उल्लासमय बनाउने भएका छन्।

तयारीका बारेमा जानकारी दिदै जिबिएनसि(GBNC)का उपाध्यक्ष भट्टराईले भने, ‘कार्यक्रमको मिति नजिकिदैछ। यस पटकको ‘बैशाखी साँझ-२०८१’ विगतको भन्दा पनि सक्दो बढी मनोरञ्जनात्मक, उल्लासमय र सन्देशमूलक बनाउने अपेक्षासहित तयारीमा जुटेका छौं। आशा छ कि सबैको साथ र सहयोगमा अपेक्षा पुरा हुने नै छ। कार्यक्रममा सहभागी भइदिन सबैलाई अनुरोध गर्दछु।’

बैशाख १ गते नजिकिदै गर्दा जिबिएनसिले आपसमा कार्यबिभाजन गरेर कार्यक्रमको प्रचारप्रसार गर्ने, प्रमुख अतिथि तथा अतिथिहरुलाई निम्त्याउने, प्रायोजक तथा सहयोगीहरुको खोजी गर्ने, टिकट बिक्री गर्नेलगायत तयारीका कामहरु सुरु गरिसकेको छ।

आयोजकले जनाए अनुसार, उक्त सांगीतिक कार्यक्रम नेपाली पात्रो अनुसार आउदो २०८१ साल बैशाख १ गते अर्थात् अप्रिल १३ तारिख शनिवारका दिन 400 Cardinal Medeiros Avenue, Cambridge मा, साँझ ६ बजेदेखि राती ११:३० बजेसम्म सञ्चान गर्ने गरी तयारी थालिएको छ। कार्यक्रममा सहभागिता जनाउनका लागि सहयोग स्वरुप प्रवेश शुल्क ४० डलर रहेको टिकटको व्यवस्था गरिएको छ भने, सहभागीहरुलाई डिजेको सांगीतिक माहोलमा स्वादिष्ट नेपाली परिकारकोसमेत प्रबन्ध गरिने भएको छ।