मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रेस विज्ञप्ती / सूचना पाटी   
बोस्टन   

बोस्टनमा भव्यताका साथ महाशिवरात्रि मनाउने प्याब्फोनको तयारी

बोस्टनमा भव्यताका साथ महाशिवरात्रि मनाउने प्याब्फोनको तयारी


अमेरिकाको बोस्टन सहर स्थित पशुपतिनाथ तथा बुद्ध मन्दिरमा विविध धार्मिक क्रियाकलापहरु गरेर महाशिवरात्रि भव्यताका साथ मनाउने तयारी गरिएको छ। बोस्टन स्थित प्रवासी नेपालीहरुको संस्था पशुपतिनाथ बुद्ध फाउण्डेशन अफ न्यू इंग्ल्याण्ड (प्याब्फोन-PABFONE)ले पशुपतिनाथ तथा बुद्ध मन्दिरमा महाशिवरात्रि मनाउने तयारी गरेको हो।

प्याब्फोनले 594 Washington Street, Braintree स्थित आफ्नै सामुदायिक भवनमा गत वर्ष मे २७ देखि ३० तारिखसम्म ४ दिने बृहत् धार्मिक तथा सामाजिक कार्यक्रम ‘मूर्ति प्राण प्रतिष्ठा एवं सामुदायिक भवन समुद्घाटन कार्यक्रम’ सम्पन्न गरेको थियो। तत् पश्चात् मन्दिरमा हिन्दू धार्मिक पात्रो अनुसारका धार्मिक तथा सांस्कृतिक चाड पर्वहरुमा विशेष कार्यक्रमहरुको आयोजन गरी विविध धार्मिक क्रियाकलापहरु गरिदै आइरहेको छ भने, श्रद्धालु भक्तजनहरुलाई पनि देवी देवताहरुको दर्शन तथा पूजापाठका लागि मन्दिर दैनिक खुला गरिदै आइरहिएको छ। प्राण प्रतिष्ठा पछिको यो पहिलो ‘महाशिवरात्रि’ भएकाले, यसलाई भव्यताका साथ मनाउने गरी आवश्यक तयारी गरिएको प्याब्फोन(PABFONE)ले जनाएको छ।

प्याब्फोन कार्यसमितिका अध्यक्ष बिरोचन नेपालले जानकारी दिए अनुसार आउदो मार्च ८ तारिख शुक्रवारको दिन भक्तजनहरुका लागि विहानैदेखि मन्दिर खुल्ने र दिनभरि नै चरणबद्ध अखण्ड विविध धार्मिक क्रियाकलापहरु गरिने छ। उक्त दिन सामूहिक महाशिवरात्रि व्रत पूजा, रुद्राभिषेक, पूजापाठ, आरति, महाप्रसाद, शिवधुनी, भजनकीर्तनलगायत धार्मिक क्रियाकलापहरु हुने छन्।

हिन्दू धर्मावलम्बीहरुका लागि ‘महाशिवरात्रि’ अति नै महत्वपूर्ण भएकाले, आयोजित उक्त विशेष धार्मिक कार्यक्रममा सपरिवार सहभागी हुन अध्यक्ष नेपालले न्यू इङल्याण्डवासी नेपालीहरुलाई संस्थाको तर्फबाट चुले निम्तो दिएका छन्। तयारीका सम्बन्धमा जानकारी दिदै उनले भने, ‘ यो प्राण प्रतिष्ठा गरिएपछिको पहिलो महाशिवरात्रि हो। त्यसैले विशेष रुपमा मनाउने तयारी गरेका छौं। सम्पूर्ण तयारी पूरा भएको छ। यो विशेष धार्मिक कार्यक्रममा उपस्थितका लागि सबैलाई संस्थाको तर्फबाट चुले निम्तो दिन चाहन्छु।’

अध्यक्ष नेपालका अनुसार उक्त दिन ब्राह्मणहरुले विधिवत् रुपमा भगवान शिवको विशेष पूजापाठ तथा आराधन गर्ने र खारिएका भजनमण्डलीहरुले शिवभक्ति सम्बन्धी विशेष भजनकीर्तन गर्ने भएका छन्।