मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रेस विज्ञप्ती / सूचना पाटी   
बोस्टन   

बोस्टनमा ११४औँ अन्तर्राष्ट्रिय नारी दिवस मनाउन एनडब्लुजिएन तयारीमा जुट्यो

बोस्टनमा ११४औँ अन्तर्राष्ट्रिय नारी दिवस मनाउन एनडब्लुजिएन तयारीमा जुट्यो


अमेरिकाको बोस्टनमा ११४औँ अन्तर्राष्ट्रिय नारी दिवस मनाउने तयारी सुरु भएको छ। हरेक वर्ष झैं यस वर्ष पनि अमेरिकाको मासाच्युसेट्स राज्यको बोस्टन स्थित नेपाली मूलका नारीहरु आबद्ध संस्था ‘नेपाली वोमन्स ग्लोबल नेटवर्क, न्यू इग्ल्याण्ड च्याप्टर, बोस्टन (एनडब्लुजिएन-NWGN)आवश्यक तयारीमा जुटेको छ। महिलामा लगानी गर्नुहोस्: प्रगतिलाई गति दिनुहोस्”(Invest in women: Accelerate progress) भन्ने मूल नाराका साथ विविध कार्यक्रमहरु गरी ११४औँ अन्तर्राष्ट्रिय नारी दिवस मनाउने तयारी हुँदैगर्दा एनडब्लुजिएन (NWGN) पनि तयारीमा जुटेको हो। संस्थाले अन्तर्राष्ट्रिय नारी दिवस मार्च ८ लाई लक्षित गरी यही आउदो मार्च ३ तारिख आइतवारका दिन 77 Mass Avenue, Cambridge,MA स्थित MIT( Massachusetts Institute of Technology) भवनको कोठा नंबर १२० मा अपरान्ह १ बजेदेखि ४ बजेसम्म विविध क्रियाकलापहरु गरेर दिवस मनाउने गरी तयारी थालेको छ।

कार्यक्रमको बारेमा जानकारी दिँदै एनडब्लुजिएन (NWGN) न्यू इंग्ल्याण्ड च्याप्टरकी अध्यक्ष कल्पना श्रेष्ठले भनिन्, विगतमा झै यस वर्ष पनि अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर कार्यक्रम गर्ने तयारी गरिरहेका छौं। त्यसका लागि हामी जुटिरहेका छौं। कार्यक्रममा सहभागिताका लागि निम्तो दिने, प्रचारप्रसार गर्नेलगायत तयारीको काम भइरहेको छ।’

अध्यक्ष श्रेष्ठले कार्यक्रममा नारी पुरुष दुबैको उल्लेखनीय सक्रिय सहभागिताको अपेक्षा गरिएकोले, उपस्थित भइदिन प्रवासी नेपाली समुदायलाई अनुरोधसमेत गरेकी छिन्।नारीहरुको अधिकार, नारी हिंसा, शोषण, भेदभाव, समानता, सशक्तिकरण, अवसर, चुनौतीजस्ता महत्त्वपूर्ण सवालहरुमा अझै पनि यथोचित बहस तथा पैरवीको खाँचो रहेको औल्याउदै अध्यक्ष श्रेष्ठले आयोजित कार्यक्रम सोही विषयहरुमा केन्द्रित गरेर सञ्चालन गरिने बताइन्।

यो संस्था एनडब्लुजिएन(NWGN) नारी सशक्तिकरणको क्षेत्रमा केन्द्रिकृत भएर काम गर्ने मुख्य उद्देश्यले सन् २००२मा स्थापना भएको थियो। आफ्नो क्षेत्र विस्तार गर्ने क्रममा सन् २०१६ मा न्यू इंग्ल्याण्ड च्याप्टर, बोस्टनको स्थापना भएको हो। यस च्याप्टरले आफ्नो स्थापनाकालदेखि नै बेलाबखतमा विविध कार्यक्रमहरु गर्दै आइरहेको छ।

यसैबिच, अन्तर्राष्ट्रिय नारी दिवसलाई लक्षित गर्दै संसारभर राष्ट्रिय तथा अन्तर्राट्रिय सरकारी तथा गैर सरकारी संघ संस्थाहरुले विविध क्रियाकलापहरु गर्ने तयारी गरिरहेका छन्। यस दिवसको प्रारम्भिक अभियानको थलो अमेरिकाको न्युयोर्कलाई मानिन्छ। जहाँ सन् १९०८ मा १५ हजार भन्दा बढी श्रमिक नारीहरूले आफ्नो हक अधिकार सुनिश्चित गराउन आन्दोलन छेडेका थिए।

अमेरिकाको सिकागो सहरका नारीहरुले पनि मार्च ८ तारिखका दिन नारीहरुलाई समान अधिकार दिलाउन आन्दोलनमा होमिएका थिए। उनीहरु नारी कामदारहरुको तलब तथा सेवा सुविधा बढाउन, काम गर्ने घण्टा घटाउन र मतदानको अधिकार सुनिश्चित गर्न माग गर्दै आन्दोलनमा उत्रिएका थिए। यस आन्दोलनलाई अमेरिकाको सोसलिष्ट पार्टीले समर्थन गरेसंगै सन् १९०९ देखि अमेरिकामा नारी दिवस मनाउन थालिएको हो। यस दिवसलाई अन्तर्राष्ट्रियकरण गर्नमा भने नारी मुक्ति आन्दोलनकी अभियान्ता क्लारा जेट्किनको महत्वपूर्ण योगदान छ।

उनले सन् १९१० मा कोपेनहेगेनमा भएको नारीहरुको अन्तर्राट्रिय सम्मेलनमा मार्च ८ तारिखलाई अन्तर्राष्ट्रिय श्रमिक नारी दिवस घोषणा गर्न प्रस्ताव गरेकी थिइन्। उक्त प्रस्तावलाई सम्मेलनले पारित गरेपछि यस दिवसले अन्तर्राष्ट्रिय स्तरमा वैधता पाउन सफल भयो। र, सन् १९११ देखि हरेक वर्ष मार्च ८ तारिखका दिन औपचारिक रुपमा यो दिवस मनाउन थालियो। संयुक्त राष्ट्र संघले सन् १९७५ मा यस दिवसलाई औपचारिक मान्यता दिएपछि यो दिवस अन्तर्राष्ट्रियकरण हुन पुगेको हो।

संयुक्त राष्ट्र संघले सन् १९९६ मा पहिलो पटक ‘यसको विगतको उत्सव मनाउनुहोस्, भविष्यको योजना बनाउनुहोस् ‘ भन्ने नाराका साथ अन्तर्राष्ट्रिय नारी दिवस मनाएको थियो। यस दिवसलाई नेपालले पनि प्राथमिकताका साथ विविध क्रियाकलापहरु गरेर मनाउदै आइरहेको छ। संसारभर छरिएर रहेका नेपाली मूलका नारीहरुले पनि संगठित भएर विविध क्रियाकलापहरु गर्दै यस दिवसलाई उत्सवका रुपमा मनाउदै आइरहेका छन्।