मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जानी राखे राम्रो    
अमेरिका समाचार   
जो चर्चामा रहे   

सन् २०२३ मा अमेरिकामा नेपाली

सन् २०२३ मा अमेरिकामा नेपाली

जो चर्चामा रहे

-हिमालयखबर टीम

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

अमेरिकामा नेपाली समुदायका जो चर्चामा रहे ।

प्रत्येक बर्ष फेरिने क्यालेन्डरसँगै अमेरिकामा नेपाली समुदाय पनि परिवर्तन भईरहेको छ । सन् १९९० को दशकमा विद्यार्थीका रूपमा नेपाल प्रवेश गरेका नेपाली युवाहरू विस्तारै रिटायर्ड तर्फ अघि बढेका छन् । दोस्रो पुस्ता पनि तयार भईरहेको छ । नेपाली समुदायको वढ्दो जनसंख्या सँगै विविध क्षेत्रमा नेपाली समुदाय संलग्न हुन थालेको छ । अमेरिकाको सानो होस वा ठुलो नेपालीको व्यवसाय भेट्न सकिन्छ ।

साना र अमेरिकाका भित्री क्षेत्रमा रहेका राज्यका साना तिना शहरमा समेत व्यवसाय गर्न नेपाली पुगेका छन् । यो विस्तारसँगै नेपालीहरूका समस्या पनि बढेका छन् । घरायसी विवाद र मानसिक समस्या परिवार भित्र मात्र सिमित नभई वाहिर आउन थालेका छन् । सन् २०२३ मा यस्तै मानसिक समस्याले नेपाली समुदाय भित्र केही दुर्घटनामा पनि परे ।

हिमालयखवरले विगतका बर्षमा जस्तै नेपाल समुदाय भित्र चर्चामा आएका नामको बारेमा छलफल गर्दा कैयौं प्रश्नहरू उठे । समाजमा सकारात्मक प्रभाव पारेकालाई मात्र सुचीमा राख्ने कि नकारात्मक रूपमा चर्चामा आएकालाई पनि समेट्ने भन्ने हाम्रो चर्चाका केन्द्र बन्यो । मानव तस्करको आरोपमा नेपालको जेलमा परेका हस्त गौतम पनि चर्चामा रहे । उनले तल्लो बाटो (दक्षिण अमेरिकाबाट मेक्सिको) बाट गैरकानुनी रूपमा नेपालीलाई अमेरिका ल्याउने भन्दै अलपत्र पारेका थिए । यो नाममा छलफल भएपनि सुची भित्र भने हामीले राखेनौं । यसै वर्ष समता सिनेटका विषयमा समेत नेपाली समुदायमा असल, राम्रा भनेर छवी आर्जेका व्यक्तिहरू मुछिए ।

तर पनि हामीले पहिले जस्तै उत्कृष्ठ नेपालीको सुची मात्र होइन गत बर्षभर चर्चामा रहेका नेपालीलाई समेटेका हौ ।

हिमालयखबरकै सहकर्मीद्वय तारा बराल र विटु केसी सन् २०२३ मा झण्डै दुइ दशक लामो अमेरिका बसाई पुरा गरेर नेपाल फर्किनुभयो । उहाँहरूको नेपाल फर्काइ यतादेखि उतासम्म (अमेरिकादेखि नेपालसम्म) चर्चाको विषय बन्यो । अमेरिका बस्ने पत्रकार सञ्जय घिमिरेको नयाँ किताब ‘पात्रहरू’ सार्वजनिक भयो । उनका केही लेखले निकै चर्चा पाए । उनीहरू हिमालयखवर निकट थिए । त्यसैले यो सुची तयार गर्दा सहभागी गराएनौ । हामीलाई लाग्छ उहाँहरूलाई पछयाउने आउने दिनमा अरू बढ्ने छन् । नेपालले केही सहुलियतहरू दिने हो भने बराल र केसी जस्तै नेपाल फर्किने संख्या वढ्ने छ । यो नेपालका लागि निकै फाइदाजनक हुने हामीले देखेको छौ ।

राज भण्डारी/श्रद्धा पौडेल :

यसपटक अमेरिकामा नेपाली समुदायमा चर्चाको शिखरमा एक दम्पत्ती छन् । अमेरिकी राष्ट्रपति जोसेफ वाइडेनले अमेरिकामा नेपाली युवाले सञ्चालन गरिरहेको कम्पनी साइनसिक्सलाई अवार्ड प्रदान गरेका छन्। यसको स्वामित्व राज के भण्डारी र श्रद्धा पौडेल हुनुहुन्छ ।

अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइटहाउसमा गत मे महिनामा भण्डारी र पौडेलले संयुक्त रूपमा सञ्चालनमा ल्याएको साइनसिक्स कम्पनीलाई राष्ट्रपति वाइडेनले सम्मान गर्नुभएको थियो ।

साइनसिक्सलाई अमेरिकाको ‘स्मल बिजनेस एड्मिनिस्ट्रेसन’ले ‘एक्सपोर्टर अफ दी इयर २०२३’ अवार्डबाट सम्मानित गरेको थियो।

सन् १९८५ मा स्थापना भएको उक्त कम्पनीको स्वामित्व भण्डारी र पौडेल समूहले सन् २०२१ मा ग्रहण गरेका थिए । हाल उक्त कम्पनीमा २६ जना कर्मचारी कार्यरत छन्। यो अवार्ड पाउने उनीहरू नेपालमुलका पहिलो हुनुहुन्छ ।

अमेरिकाको मिनासोटा राज्यमा कारखाना र साउथ क्यारोलिनामा रहेको प्रशासनिक भवनबाट सञ्चालित हुँदै आएको उक्त कम्पनीको अध्यक्ष डा. भण्डारी हुन् भने श्रद्धाले ‘एडभाइजर टु दि प्रेसिन्डेन्ट’ र ‘मेन्टर’को जिम्मेवारी सम्हाल्दै अाउनु भएको छ । साउथ डकोटा स्टेट युनिभर्सिटीबाट विद्यावारिधि गरेका भण्डारीले हार्डवर्ड स्कुल अफ पब्लिक हेल्थमा अनुसन्धान सहयोगीका रूपमा एक वर्ष कामसमेत गरेका थिए ।

अमेरिकी राष्ट्रपति वाइडेन र उपराष्ट्रपति कमला ह्यारिसको उपस्थितिमा सो समूह सम्मानित भएको थियो। कास्की जिल्लाको लामाचौरमा जन्मिएका भण्डारी सन् २००४ मा र श्रद्धा सन् २००५ मा विद्यार्थी भिसामा अमेरिका आउनुभएको हो ।

अठार वर्ष अमेरिकामा बसेर प्रविधिमा आधारित उत्पादन र वितरणसँग जोडिएर काम गर्दा आफूहरूले यो सफलता हासिल गरेको उनीहरूको भनाइ छ। यो कम्पनीले औषधिको गुणस्तरमा परिमाणको मात्रा जाँच्नका लागि आवश्यक पर्ने उपकरणको मर्मतसम्भार गर्ने पार्टपुर्जा उत्पादन गर्ने गर्दछ। उक्त कम्पनीले ती पार्टपुर्जा अमेरिका र विश्वका एक सय देशमा निर्यात गर्दै आएको छ।

डा जगदम्बा पण्डित
एडिक्सन साइक्याट्रिष्ट (मानसिक चिकित्सक) :

अमेरिकामा नेपाली समुदाय बीच मानसिक समस्या पनि बढ्दै छ । नेपाली समुदाय धेरैले मनमा आईरहेका उथल पुथलहरू खुलेर कुरा गर्दैनन् । मानसिक उद्वेग वा समस्याका वारेमा कुरा गर्यो भने पागल भएछ भन्छन कि भन्ने त्राशले कतिपय नेपालीले आफ्ना समस्या मन भित्रै लुकाउँछन् । यसले गर्दा गत २०२३ मा नेपाली समुदाय भित्र केही दुर्घटनाहरू पनि भए ।

नेपाली समुदायका मानसिक स्वास्थ्यका वारेमा खुलेर कुरा गरेर धेरैका मन जितेकी अमेरिकामा बस्ने नेपाली हुन डा. जगदम्बा पण्डित । उहाँका पिता पनि नेपालमा बाल रोग चिकित्सक तथा स्थास्थ्य विषयका लेखक हुनुहुन्थ्यो ।

मानसिक स्वाथ्य समाधानका निम्ति कुनै तरिकाबाट मनमा रहेको तनाव हटाउन सक्नुपर्छ भन्ने उहाँको भनाई छ । यसका लागि भर्जिनिया राज्यमा जमीन लिएर पशुपालन तथा खेतीपाती समेत गर्दै आएकी छिन् । ‘हामीले परम्परादेखि गर्दै वा देख्दै आएको खेतीपातीले पनि तनाव हटाउँछ’ उहाँ भन्नुहुन्छ । ‘नेपाली भाषामा नेपाली स्वास्थ्य, मानसिक स्वास्थ्य भन्ने वित्तिकै मानिसहरू अरूले शंका गर्छन हिच्किचाउने देखेको छु’ एक अन्तवार्तामा उहाँले भन्नुभएको छ-‘त्यसले यो लुकाउने विषय होइन भन्ने जानकारी दिन मैले युट्युब र टिकटकमा समाजमा चल्दै आएका कुराहरू राख्ने गरेको छु ।’

अमेरिकाको विभिन्न अस्पताल र संस्थामा आवद्ध डा. पण्डितलाई फेसबुक, टिकटिक लगायत सामाजिक सञ्जाल लाखौंले जोडेका छन् पछ्याएका छन् । डा. जगदम्बा पण्डितलाई समाजिक सञ्जालमा हेरेको छु देखेको छु भन्ने थुप्रै नेपाली अमेरिका र नेपालमा भेटिन्छन् । अमेरिका बस्ने धेरै नेपालीले उनको कामलाई मन पनि पराएका छन् ।

डा रुद्रराज पाण्डे (आइटी उद्यमी):

डियर होल्डका संस्थापक अक्ष्यक्ष तथा हाम्रा पात्रोका अध्यक्ष आइटी उद्यमी रुद्रराज पाण्डे गत वर्ष चर्चामा रहनुभयो । खासगरी नेपालको शिक्षा प्रणालीको सुधारका लागि उनले व्यक्तिगत रुपमा र सामाजिक सञ्जालहरुमा आवाज बुलन्द गर्दै आइरहनुभएको छ । नेपालका निजी क्षेत्रका कलेजहरुको क्षमता छ र शिक्षकहरु उपलब्ध छन् भने आइटी इन्जिनियरिंग वा कुनै पनि इन्जियिनयरिंगलाई कोटा प्रणालीले बाध्न नहुने बरु पढाउनका लागि अनुमति दिइनुपर्ने उहाँको जिकिर रहँदै आएको छ ।

सूचना प्रविधि शिक्षामा फोकस गर्दै विकसित देशका लागि अावश्यक जनशक्ति उत्पादन गर्ने एकोहोरो लक्ष्यमा पाण्डे निरन्तर लागिरहनुभएको छ ।

पदमा आसिन रहेका विभिन्न मन्त्रीहरु र युवा नेताहरुलाई नीतिगत सुधारको लागि पटकपटक घच्घच्याउँदा पनि यसमा कुनै सुधार नभएपछि यसप्रतिको आक्रोश र तिक्तता सामाजिक सञ्जालमा पोख्दै आउनुभएको छ । उहाँले आइटी शिक्षा मात्र होइन भ्रष्टाचार र कुशासनको पनि प्रशस्त विरोध गर्दै फेसबुक र एक्समा पोष्टहरु गरिरहनुहुन्छ ।

अमेरिकाको बस्टनस्थित नर्थ इस्टर्न युनिभर्सिटीबाट अर्थशास्त्रमा विद्यावारिधि पाण्डेको नेपालमा आफ्नै पनि आइटी कलेज छ डियरवाक डिडब्लु आइटी कलेज । नेपालमा डियरवाक ब्राण्डको स्वामित्व रहेका पाण्डेले आइटी व्यवसायमाको विस्तार अमेरिकामा मात्र होइन जापान मा पनि लगानी छ । उहाँका केही मिडलइस्टका देशहरुमा पनि विस्तारको तयारीमा रहेका छन । डियरवाकका पूर्व कर्मचारी र यसबाट उत्पादित ग्रयाजुयटहरु अहिले विकसित मुलुकका आइटि कम्पनीहरुमा काम गर्छन् । उनी आइटी तथा शैक्षिक उद्यमीको रुपमा परिचित छन् र यससम्बन्धी व्ययसायमा अहिले आफ्नो सर्कल र त्यो भन्दा बाहिर म्यानेजमेन्ट गुरु मानिन्छन् । आफ्नो व्यवसायहरुको विस्तार र विकासका लागि प्रशस्त कसरत गर्ने सफल उद्यमी पाण्डे वर्षमा आधा नेपाल र आधा नेपाल बाहिर बस्दै अाउनुभएको छ । अमेरिकामा उहाँ म्यासाचुसेटमा बस्नुहुन्छ ।

बुद्धि सुवेदी (लगानीकर्ता):

गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए) अमेरिकाको अध्यक्ष कार्यकाल सकिएर पद हस्तान्तरण गरेको भोली पल्टै बुद्धि सुवेदी नेपाल तर्फ लाग्नुभयो । नेपाल पुगेको केही दिन पछि हिमालयखवरले उनलाई प्रश्न गरेको थियो नेपालमा के गरेर बसिरहनुभएको छ ? यसको उत्तरमा उहाँले भन्नुभयाे ‘हामी मिलेर नेपालमा होटल किन्यौं नि ?’

उक्त प्रश्न गर्दा पटक पटक चर्चामा आएको भैरहवा स्थित टाईगर प्यालेस होटल बुद्धि सुवेदी र उनको समुहले किनेर संचालनको जिम्मेवारी लिएको केही दिन भएको थियो । अमेरिका र विश्वका अन्य देशमा वस्ने नेपालीको समुह वनाएर सुवेदीले उक्त होटल किनेका थिए । नेपाली समुहले अमेरिकाको डेलावरमा दर्ता गरेको कम्पनीले टाईगर प्यालेसमा रहेको विदेशी कम्पनीको सवै शेयर किनेर यसको जिम्मेवारी लिएको हो । यसको नेतृत्व गर्नुभएको थियो बुद्धि सुवेदीले । गौतम बुद्ध जन्मस्थल नजिक रहेको यो होटल विभिन्न कारणले पटक पटक चर्चामा आइरने गरेको थियो । यो होटल किन्न विभिन्न समुह लागि परेको थियो । तर, बुद्धि सुवेदी र उहाँको समुहल यसमा सफल भयो । यो होटलले सुवेदीलाई लगानीकर्ताको रूपमा पहिचान पनि दिलायो ।

होटल चलाउन सजिलो भने छैन । तर, बुद्धि सुवेदीको समुह यसलाई सफल वनाउन कम्मर कसेर लागिपरेको छ । विदेशमा आर्जन गरेको करोडौ सम्पत्ति नेपालमा लगानी गर्नु पक्कै पनि सकरात्मक हो । यो अमेरिका बस्ने नेपालीले किनेको संभवत सवैभन्दा ठुलो व्यवसायीक लगानी पनि हो ।

टाइगर प्यालेस होटल खरिदका कारण बुद्धि सुवेदीको बढी चर्चा भयो । उहाँको पहिचान पनि लगानीकर्तामा आयो । उनले एनआरएनए महासचिवमा उम्मेदवारी दिनुभयो । तर जीतका लागि त्यो लगानीमात्र प्रयाप्त भएन । उहाँ पराजित हुनुभयो । यद्पी निर्वाचन प्रकृया विवादास्पद भने बन्न पुग्यो । यो एनआरएनएको यात्रा भने सुवेदीको त्यति सहज भएको छैन । तर, पनि उहाँ यो होटलको मुख्य लगानीकर्ताका रूपमा निकै चर्चामा रहनुभयो ।

डा. मधु ज्ञवाली (प्राध्यापक):

डा. मधु ज्ञवाली ह्युस्टन नेपाली समुदायमा परिचित नाम हो। ह्युस्टनस्थित सान जासिन्टो कलेजमा फिजिक्सका (भौतिकशास्त्र) प्रोफेसर डा. ज्ञवाली उच्च शिक्षा अध्ययनका सन्दर्भमा सन् २००५ मा अमेरिका आएका हुन् । सन् २०१२ मा नेभडा राज्यको रेनोस्थित यूनिभर्सिटी अफ नेभडाबाट भौतिकशास्त्रमा विद्यावारिधी (पिएचडी) गरेका डा. ज्ञवाली सन् २०१५ देखि सान जासिन्टो कलेजमा फिजिक्सका प्रोफेसर छन्। अध्यापन शुरु गरे यता सन् २०१६ देखि २०२३ सम्म नै लगातार ‘एक्सेप्सनल रेटिङ पाएका प्राध्यापक डा. ज्ञवाली २०२१-२०२२ का लागि वर्षको उत्कृष्ट प्राध्यापकको रूपमा समेत सम्मानित भएका थिए । भौतिकशास्त्र विषयमा उनको योगदानको कदर स्वरूप ‘मिन्नी पाइपर’ अवार्डका लागि करिब चारसय ५० भौतिक शास्त्रका प्रोफेसरहरु मध्येबाट मनोनीत भएका थिए ।

डा. ज्ञवाली सहितका प्राध्यापकहरुको सक्रियतामा कलेजमा स्नातक अनुसन्धान केन्द्र स्थापना भएको छ। अनुसन्धान र जेहन्दार छात्रवृत्तिप्रति उनको योगदान कति महत्वपूर्ण छ भन्ने हालै कलेजमा Pandora Spectrometer जडान भएबाट समेत प्रमाणित हुन्छ। नासासंगको प्राविधिक सहकार्यमा जारी अनुसंधान कार्यको प्रमुख अनुसन्धानकर्ताको हैसियतमा डा. ज्ञवाली विद्यार्थीहरूलाई अनुसन्धान मार्गदर्शन, अनुसन्धान लक्ष्य निर्धारण, तथ्यांक विश्लेषण एवं प्रमाणीकरणका साथै नासा लगायतका सहयोगी निकायहरुसँग समन्वय गर्ने मुख्य जिम्मेवारी बहन गरिरहेका छन् । उनको सक्रियतामा स्थापित Pandora Spectrometer ले कलेजको अनुसन्धान क्षमता बढाउनुका अतिरिक्त नासा, युरोपीयन अन्तरिक्ष एजेन्सी र पर्यावरण संरक्षणमा संलग्न निकायहरुको सहयोगमा विश्वव्यापी वायु गुणस्तर अनुगमन र भूउपग्रहहरुले उपलब्ध गराउने तथ्यांक प्रमाणीकरण एवं प्रशोधन कार्यमा महत्त्वपूर्ण भूमिका खेल्दछ।

डा. ज्ञवाली पेण्डोरा ग्लोबल नेटवर्क अन्तर्गतको संयुक्त कार्यक्रम योजना मार्फत नासाका वैज्ञानिक र अमेरिका तथा नेपालका विभिन्न विश्वविद्यालयहरूसँग सहकार्य एवं स्थानीय समुदायमा इँटा र मिमेण्टबाट हुने प्रदूषणको प्रभावलाई बुझ्न स्याटेलाइट डेटाको विश्लेषणमा समेत सक्रिय रूपमा संलग्न छन्। उनी संलग्न अनुसन्धान साथै जलवायु र प्रदूषण मापन अनुसन्धानमा नेपालका पिएचडी अध्ययनरत विद्यार्थीहरूलाई संलग्न गराउने कार्यमा समेत उनको महत्वपूर्ण योगदान रहेको छ। उनको टोलीले हालै नेपालस्थित होङ्सी सिमेण्ट उद्योगको वायू प्रदूषण मापन र त्यसले स्थानीय पर्यावरणमा पुऱ्याएको नकारात्मक प्रभाव विश्लेषण गरेको थियो र त्यो अनुसन्धान नतिजा हालै नेपालमा सार्वजनिक समेत भएको थियो।

डा. ज्ञवाली नेभडामा पिएचडी अध्ययनरत रहँदादेखि नै अनुसन्धान, प्रकाशन एवं शिक्षण कार्यमा विशेष रुचि राख्दथे। शैक्षिक गतिविधिमा उनको विशेष सक्रियताका कारण वर्ष २०११-२०१२ का लागि “उत्कृष्ट अन्तर्राष्ट्रिय स्नातक विद्यार्थी पुरस्कार” समेत प्राप्त गरेका थिए। पीएचडी पछि डा. ज्ञवाली रेनो नेभाडास्थित डेजर्ट रिसर्च इन्स्टिच्युटमा नासासँग सम्बन्धित अनुसन्धान परियोजनाहरूमा संलग्न थिए। त्यहाँ संलग्न रहँदा डा. ज्ञवालीले सम्मानित राष्ट्रिय र अन्तर्राष्ट्रिय वैज्ञानिक पत्रिकाहरूको साइन्टिफिक जर्नल सम्पादनमा समेत सेवा पुऱ्याउनुभएको थियो ।

डा. ज्ञवाली सन् २००८ मा यूनिभर्सिटी अफ नेभडामा नेपाली विद्यार्थीहरुको संगठन अध्यक्ष समेत भएका थिए। अमेरिकी विश्व विद्यालयहरुमा नेपाली कला र संस्कृति ‍प्रवर्द्धनमा नेपाली विद्यार्थी यूनियनहरुको निकै महत्वपूर्ण भूमिका रहँदै आएको छ। डा. ज्ञवाली नेपालमा गुल्मी जिल्लाको रुरु गाउँपालिका स्थायी बासिन्दा हुन् ।

राजेन्द्र वाग्ले (अध्यक्ष नेपाली समाज टेक्सस):

अमेरिकामा नेपाली समुदायको धेरै संख्या रहेको राज्यमा टेक्सस पर्छ । टेक्ससको शहर ड्यालस, ह्युस्टन, अस्टिन लगायतमा नेपालीको संख्या वृद्धि भईरहेको छ । ठुलो संख्यामा नेपाली व्यवसायी पनि टेक्ससमा भेटिन्छन् ।

टेक्ससमा नेपाली समुदायलाई प्रतिनिधित्व गर्ने संख्था नेपाली समाज टेक्सस (एनएसटी) को नेतृत्वमा दोस्रो कार्यकालका लागि पनि चयन भएर राजेन्द्र वाग्ले चर्चामा अाउनुभयो । वाग्लेले अध्यक्ष पदमा पुनः उम्मेदवार दिएका दिनुभएको थियो । प्रतिस्पर्धामा उनले चुनाव मात्र जितेनन्, भोट अन्तर पनि ठुलो थियो ।

एनएसटी ड्यालसको नेपाली समुदाय बीच मर्दा र पर्दाको सहयोगी मात्र होइन अमेरिकाको केन्द्रिय प्रशासन ह्वाइट हाउससँग पनि सम्पर्कमा रहेको संस्था हो । सन् २०२३ मा एनएसटीले ह्वाइट हाउसका नेपाल डेस्क हेर्ने वरिष्ठ अधिकारीहरूसँग भेटघाट र परामर्श गरेको थियो । त्यसवेला नेपाल अमेरिका सम्वन्ध लगायतका विषयमा कुराकानी भएको थियो । नेपालमा चीनको दवाव लगायतका विषयमा पनि ह्वाइट हाउसका वरिष्ठ अधिकारीले खुला रूपमा आफ्नो धारणा राखेका थिए ।

एनएसटीले विभिन्न माध्यमवाट नेपाली समुदायलाई जोड्ने, जुटाउने काम गरिरहेको छ । यस्तो संस्थामा दोस्रो कार्यकालका लागि सहज जितले राजेन्द्र चर्चामा आउनुभएको हो ।

हरि शर्मा (अमेरिकी राजनीतिज्ञ):

अमेरिकाको भर्जिनिया राज्यको लाउडन काउन्टीमा वस्नु हुने हरि शर्मा पेशाले चार्टर्ड एकाउन्टेन्ट हुनुहुन्छ । उहाँ व्यावसायिक जीवनवाट निवृत्त हुनुहुन्छ । अमेरिकाको राजनीतिमा समेत सक्रिय सहभागिता राख्नु हुने शर्माले पछिल्लो पटक हिमानी ट्रष्टको अमेरिकाको अध्यक्षको रुपमा समेत सक्रिय हुनुहुन्छ ।

पूर्व युवराज्ञी हिमानी शाहलाइ अमेरिका अामन्त्रण गरेर शर्माले अाफ्नै पहलमा कार्यक्रम अायोजना गर्नुभएपछि चर्चा कमाउनुभएका थिए ।

नेपाल अमेरिका सम्वन्धको विविध पक्षमा नागरिक स्तरको सम्वन्ध स्थापित गराउनको लागि शर्माले आफूलाई सदैव सक्रिय बनाउदै आउनु भएको छ ।

डा. आमोद पोखरेल (वातावरणीय स्वास्थ वैज्ञानिक):

युनिभर्सिटी अफ क्यालिफोर्निया (युसी) बर्कलीका प्राध्यापक डा. आमोद पोखरेलले सन् २०२३ मा नेपालमा गएर केही उल्लेखनीय कार्य गरेर निकै चर्चामा रहनुभयो ।

गाइबस्तुको गोबरले मानिसको स्वासप्रश्वासमा पार्ने असरको विषयमा भएको अध्ययन निकै चर्चित रह्यो । यो अनुसन्धानमा गाईबस्तु पाल्ने घरका बालबालिका र ६० वर्ष भन्दा बढि उमेरसमूहका पाका मानिसको स्वास प्रश्वासमा गम्भिर असर परेको देखिएको डा. पोखरलेले जानकारी दिनुभयो । यसको अर्थ गोबर चलाएपछि हात राम्रोसँग नधुने वा स्वास्थ्यमा सचेतना कम रहेको पुष्टी गरेको छ ।

डा. पोखरलेले अर्को अध्ययन थियो-लुम्बिनी औद्योगिक क्षेत्र वरपरका बालवालिकाको स्वास्थ्य अवस्था । यसको नतिजा आउन भने बाँकी छ ।

डा. पोखरेल सन् २०२४ मा नेपाल सरकारले डिजिटल हेल्थ रेडिनेशमा अनुसन्धान गर्दै हुनुहुन्छ । उहाँ यसको नेतृत्व गर्दै हुनुहुन्छ । केही छोटा अनुसन्धान पुरा गर्ने योजनामा हुनुहुन्छ । यसको लक्ष्य टेलिमेडिसिनमा जान कति तयार छौ भनेर अनुसन्धान गर्ने हो । यसमा इन्टरनेटको र अर्को विद्युतको गुणस्तरको अनुसन्धान समेत हुने डा. पोखरलले जानकारी दिनुभएको छ ।

डा. पोखरेलले नेपालमा हरेक वर्ष कुनै न कुनै अनुसन्धान गरिरहनुभएको छ । यसअघि चुलोमा निस्कने धुँवाले पार्ने असर लगायतका स्वास्थ्य क्षेत्रका अनुसन्धान गरिसक्नुभएको छ ।

पूजा चन्द (नायिका): 

दशक अघिकी नेपाली चलचित्रकी नायिका पूजा चन्दको परिचय हिजोआज अमेरिकामा बदलिएको छ । पुरानो पुस्ताले चन्दलाई नायिकाका रुपमा अझै चिने पनि नयाँ पुस्तामा नयाँ परिचय थपिएको छ अभियन्ता ।
हालै केही महिना अघिमात्र मेरिल्याण्ड राज्यले नेपालीहरुको ठूलो चाड दशैंलाई मान्यता दियो । त्यसमा मेरिल्याण्ड राज्यका सभासद् ह्यारी भण्डारी लगायत धेरैको अथक प्रयास र पहलले नेपालीहरुको पर्व बडादशंैंलाई राज्य सरकारले मान्यता दिएको थियो । त्यसलाई मान्यता दिने बिन्दूसम्म पु¥याउनका लागि पूजा चन्दले निकै धेरै समय र मेहनत खर्च गरेको तथ्यलाई मेरिल्याण्डबासी नेपालीहरुले अहिले पनि उत्तिकै प्रशंसा गरिरहेका छन् ।
पूजा अमेरिका बस्न थालेको झण्डै दुई दशक हुन लाग्यो । नेपालमा छँदा व्यस्त नायिकाको छबी बनाएकी पूजाको संलग्नता सुरुवातदेखिनै मेरिल्याण्डमा सामाजीक क्षेत्रमा रहेको छ । नेपालमा छँदा एउटा पेशा, व्यबसायमा स्थापित व्यक्तित्वहरु अमेरिका आइसकेपछि गुमनाम हुने चलनलाई पूजाले मेरिल्याण्डमा बिभिन्न क्षेत्रमा कृयाशीलता प्रदर्शन गर्दै अलग परिचय बनाउन सफल भएको धारणा नेपाली समुदायको छ ।

अमेरिकाको घरजग्गा किनवेचमा नेपाली (नेपाली रियल्टरर्स):

अमेरिकामा नेपाली समुदायको बृद्धिसँगै घरजग्गा किन्ने क्रम पनि तीब्र वन्यो । कोभिड शुरू भए पछि यो क्रम झनै वढ्यो । भाडामा बस्नु भन्दा दुःख सुख गरेर भएपनि घर किन्ने नेपाली बढे । अहिले नेपालीको घर किन्ने प्रकृयालाई नेपाली रियल्टर्सहरूले सहज वनाईदिएका छन् ।

ठूला शहर न्यूयोर्क, सानफ्रान्सिस्को, ड्यालस मात्र होइन केही साना शहरमा समेत नेपाली रियल्टरर्सहरूको सेवा लिन सकिन्छ । घर, किन्ने प्रकृया झन्झटिलो हुन्छ । यसका लागि विभिन्न प्रकृया पार गर्नु पर्छ । कानुनी भाषाहरू हुन्छन् । यो सबैले सजिलै बुझ्छन भन्ने छैन । आफ्नै मातृभाषामा घर जग्गा किनवेचको आवश्यक जानकारी उपलव्ध गराएर नेपाली रियल्टर्सहरूले नेपाली समुदायले सेवा दिईरहेका छन् । रियलल्टर्स एउटा पेशा पनि हो । यति हुँदाहुँदै पनि नेपाली रियल्टर्सले नेपाल समुदायलाई सेवा दिएर सजिलो पनि बनाईदिएका छन् । यसले गर्दा घर किन्ने नेपालीलाई सुलभ, सजिलो र सस्तो भएको छ ।

नेपाली समुदायको विस्तारसँगै आउने दिनमा नेपाली रियल्टर्सको सेवा पनि वढ्दै जाने देखिएको छ । यस्ता अन्य क्षेत्रमा पनि नेपाली समुदाय प्रवेश जानुपर्छ भन्ने हाम्रो मान्यता छ ।

अमेरिकामा नेपाली समुदायका जो चर्चामा रहे ।