
गत कार्तिकमा पोखरामा आयोजित नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा पौडीमा ६ स्वर्ण जितेर एस्ली सापकोटा डंगोल एकाएक चर्चामा आईन ।
बाबु आमासँग अमेरिकाको क्यालिफोर्निया बस्दै आएकी एस्ली उक्त प्रतियोगितामा पौडीमा भाग लिन नेपाल गएकी थिईन । गैर आवासीय नेपाली संघ (एनआरएनए)को सदस्य खेलाडीका रुपमा उनले उक्त प्रतियोगितामा सहभागिता जनाएकी थिईन । पहिलो पटक राष्ट्रिय स्तरको प्रतियोगितामा सहभागी हुँदा नै उनले ६ वटा स्वर्ण जितेर तहल्का मात्र मच्चाईनन् पौडीको यस अघिको राष्ट्रिय रेकर्ड पनि तोडिन ।
एस्लीका बुवाआमा सन् १९९८ मा अमेरिका आएका थिए । सानै उमेरमा खुट्टामा समस्या भए पनि डाक्टरको सल्लाह अनुसार उनी चार बर्षको उमेर देखिनै पौडी खेल्न थालेकी थिइन् । अहिले १६ बर्ष पुगेकी एस्ली क्यालिफोर्निया राज्य स्तरको उनको उमेर समुहको पौडी खेलाडी पनि हुन् । उनले अमेरिका लगायत अन्य देशका विभिन्न प्रतियोगितामा भाग लिईसकेकी छिन् ।
पोखरामा आयोजित उक्त खेलकुद प्रतियोगितामा उनी मात्र होइन उनका भाई आशिष सापकोटा डंगोलले पनि तीन वटा स्वर्ण जिते ।

सुमन थापा ड्यालसका व्यवसायी हुन् । तर, उनी समाजिक अभियन्ताका रुपमा पनि देखिदैं आएका छन् । उनी नेपाली समाज टेक्ससका पुर्व अध्यक्ष तथा हाल एनआरएनए अमेरिकाका उपाध्यक्ष पनि हुन् । एनआरएनए आईसीसी र एनआरएनए अमेरिकाका बीच भएको विवादमा सुमनले सार्वजनिक गरेको अडानले समस्या सुल्झिएको थियो । संस्था भित्र विवाद आउँदा जहिले पनि मिलेर जानु पर्छ भन्ने पक्षमा रहेका सुमनले बढी समय भने अहिले व्यवसाय विस्तारमै लगाएका छन् । उग्र विवाद गरेर जाने समय आफुसँग नभएको पटक पटक उनले स्पष्ट गर्दै आएका छन् ।
अहिले सुमन होटल व्यवसाय विस्तारमा तल्लिन छन् । स्टोर र ग्याँस स्टेशनमा कमाएको रकम उनले विस्तारै होटलमा लगाउन थालेका हुन् । एउटाबाट दुईटा गर्दै उनले होटल थपिरहेका छन् । केही महिना अघि एउटा कफी गफमा उनले भनेका थिए मलाई त अमेरिकामा ५० वटा भन्दा बढी होटल वनाउन मन छ ।

टेक्ससको ड्यालस नेपाली समुदायको बाक्लो बस्ती भएको स्थान हो । यस पटक भने यहाँको नेपाली समुदाय विगत बर्षहरु भन्दा पृथक रुपमा पहिचान वनायो । त्यहाँका नेपाली समुदायले अमेरिका सरकारसँग प्रत्यक्ष संवाद गर्ने मौका पायो । अमेरिकाको स्टेट डिपार्टमण्टका वरिष्ठ अधिकारी र ड्यालसको समुदाय विच प्रत्यक्ष प्रत्यक्ष संवाद हुन सक्यो । समुदायका हितका वारेमा बृहत रुपमा ह्वाइट हाउस प्रशासनसँग नेपाली समुदायको प्रत्यक्ष संवाद भएको यो पहिलो पटक हो ।
ड्यालसमा आयोजित कार्यक्रममा त्यहाँ बसोवास गर्ने नेपाली समुदायले आफ्ना गतिविधि, अप्ठ्यारा र नेपाल अमेरिका विचको सम्वन्धका वारेमा खुलेर छलफल गरे । एमसीसीमा चीनको चासो जस्ता विषयमा पनि कुरा उठ्यो । स्टेट डिपार्टमेण्टका सहायक मन्त्री सरहका अधिकारी डोनाल्ड लु आफ्नो टिम सहित नेपाली समुदायसँग छलफल गर्न ड्यालस पुगेका थिए । त्यसको केही साता पछि लु ले नेपालको भ्रमण समेत गरेका थिए ।
यो छलफल पछि नेपाली समुदायका केही सदस्य स्टेट डिपार्टमेण्ट द्धारा आयोजित कार्यक्रममा सहभागी हुने मौका समेत पाए । यस्तो भेटघाट र छलफललाई निरन्तरता दिन सक्यो भने नेपाल र अमेरिका विचको सम्वन्धमा यहाँ बस्ने नेपाली समुदाय पनि जोडिदैं जाने छ ।

रेमिट्यान्स सेवामा सन् २०२३ र त्यसपछिका वर्षहरुमा यदि कुनै नेपालीको कम्पनीले द्रुत प्रगति गर्दैछ भने त्यो हाम्रो पात्रो हुनेछ । एउटै वेवसाइटमा नेपालीका साझा सरोकारका र जिज्ञासाका काम लाग्ने विषयवस्तुलाई समेटेर शंकर उप्रेतीले हाम्रो पात्रो सन् २०१० मा शुरु गरेका थिए ।
विगत एकवर्षदेखि नेपालमा रकम पठाउने सेवा समेत यसमा थपिएको छ । नेपालमा पैसा पठाउने माध्यम रेमिट सर्भिसको एकै वर्षमा १ अर्ब ५० करोड रुपैंयाँ नेपाल पठाइएको खुसी साट्दै उक्त कम्पनीका सिइओ उप्रेतीले उद्घोष गरे यो एप्सको प्रयोग गरि अब अष्ट्रेलियाबाट अब छिट्टै पनि नेपालमा पैसा पठाउन मिल्ने छ ।
नेपाल बाहिर बसेका नेपालीहरुलाई नेपालसँग अन्य विभिन्न सामाजिक सञ्जालले जोडेका छन् । तर नेपाल सम्बन्धी काम लाग्ने जानकारीको साथमा यदि कुनै एप्सले जोडेको छ भने त्यो हाम्रोपात्रो हो । धेरै भन्दा धेरै नेपालीहरुले आफ्नो स्मार्ट फोनमा डाउनलोड गरेको याप हाम्रो पात्रो हो भनिन्छ । हाम्रो पात्रोमा विभिन्न नेपाली मिडियाले प्रकाशित गरेका समाचार छन्, त्यहिं ज्योतिष सेवा छ । विभिन्न एफएफ स्टेशनका प्रसारण सुन्न पाइन्छ, म्यागाजिनहरु पढ्न पाइने मात्र होइन टेलिहेल्थको माध्यमबाट डाक्टरहरुसँग परामर्स सेवा लिन सकिन्छ, अनि आजभोली नेपालमा रकम पठाउन सकिन्छ ।
पुल्चोक इन्जिनियरिंग कलेजबाट कम्प्यूटर इन्जिनियरिंगमा स्नातक गरेका उप्रेतीले बोष्टन युनिभर्सिटीबाट एमएस गरेका थिए । जतिबेला हाम्रो पात्रोको शुरुवात बस्टनबाट उप्रेतीले गरे त्यतिबेला उनी बस्टन युनिभर्सीटीमा अध्ययनरत र भेरिस्क हेल्थमा प्रिन्सिपल सफ्टवेर इन्जिनियरको रुपमा कार्यरत थिए । अब हाम्रोपात्रोबाट व्यवसाय चल्नसक्छ भन्ने अठोट उनले सन् २०१५ मा मात्र गरे । र, त्यसयता उनी हाम्रो पात्रोबाट हुनसक्ने विभिन्न सेवाको विस्तारमा लागिरहेका छन् ।

दिग्विजय राज महत सन् २०२२ मा चर्चित रहे, जतिबेला उनी कार्यरत म्यासाच्यूसेट्स इन्स्टिच्युट अफ टेक्नोलोजीले महत संलग्न शोध र उनले नेपालमा भ्याक्सिनको पहुँच समानताको लागि गरेको एड्भोकेसीका बारेमा एउटा प्रोफाइल नैं छाप्यो । महतले आफ्नो बैज्ञानिक खोजबाट क्यान्सर रिसर्चको क्षेत्रमा केही नयाँ मात्र गरिहेका छैनन् । उनले आफ्नो सम्पर्क, पहुँच र योग्यताको प्रयोग गर्दै नेपाललाई कोभिड १९ भ्याक्सिन निर्मातासँग सम्पर्क स्थापित गराउन पनि उनको भूमिका थियो । नेपालमा जिन एडिटिंग क्रिस्पर क्यास नाइन प्रविधिबाट कोभिड १९ को टेस्ट गर्ने प्रविधि शरलक बायोसाइन्सेजको सहायतामा भित्र्याएका थिए । कोभिड १९ विरुद्धको खोप निर्माता जन्सन एण्ड जन्सनलाई नेपाल सरकारसँग वैज्ञानिक महतले सम्पर्क स्थापनाको पहल गरेका थिए । एमआइटीको ब्रड इन्स्टीच्यूट र हार्भडले संयक्त रुपमा विकास गरेको क्रिस्पर क्यास नाइन नामक प्रविधि पिसिआरको तुलनामा सस्तो र सुलभ हुने गर्छ । नेपालमा उनी क्यान्सर उपचारको रिसोर्स विकास गर्न चाहन्छन् र आफ्नो रिसर्च सेन्टर खोल्ने उनको योजना छ ।
महतले सन् २०१७ मा कोर्नेल युनिभर्सिटीबाट मोलिक्यूलर बायोलोजी तथा जिनेटिक्समा विद्यावारिधी गरेका थिए । हाल उनी सन् १९९३ को फिजियोलोजीमा प्रदान गरिएको नोबेल पुरस्कारका विजेता फिलिप ए शार्पसँग कोच इन्सटीच्यूट फर इन्टिग्रेटिव क्यान्सर रिसर्चमा पोस्ट डक्टोरल फेलोको रुपमा कार्यरत छन् ।

एरिका पाण्डे अमेरिकन न्यूज वेवसाइट एक्जिओसकी बिजनेस रिपोर्टर हुन् । एक्जिओसमा उनले ब्यवसाय तथा प्रविधिका ट्रेन्डका बारेमा समाचारहरु लेख्छिन् । उनलाई सिबिएसएन टेलिभिजन, एविसी टेलिभिजन, फक्स न्यूज आदिले प्रविधि र व्यवसायका बारेमा कहिलेकाहीं अन्तरवार्ता न्यूज कमेन्टरीहरुका लागि निम्त्याउने गर्छन् ।
सन् २०२२ मा उनले सूचना प्रविधिमा सार्वजनिक चासोका विषयहरुमा खुब लेखिन् र त्यसबारे थप जानकारी लिन अमेरिकी टेलिभिजनहरुले उनको न्यूज कमेन्टरी थाहा पाउन निम्त्याइरहे । कनेक्टिकटको आइभी लिग कलेजको रुपमा प्रख्यात यल युनिभर्सिटीबाट अंग्रेजीमा बिए गरेकी छन् । पाण्डे अमेरिकाको मुलधारको मिडियामा एउटा आसालाग्दो नेपाली उपस्थिति हुन् । म्याच्यूसेट्सको लेकक्जिंगटनमा हुर्किएकी उनी नेपाली आइटी उद्यमी रुद्रराज पाण्डेकी छोरी हुन् । एरिकाले लेखेका समाचारहरु हेर्न www.axios.com मा जान सकिन्छ ।

सन् १९७५ मा अध्ययनको लागि अमेरिका आएका डा. श्याम कार्कीले २९ वर्ष सम्म विभिन्न राज्यमा फार्मेसी विधामा काम गरे ।
फार्मेसीमा अध्ययन अध्यापन र लामो सेवा गर्नु भएका कार्कीको अर्को परिचय दानवीरको रुपमा पनि छ। मेरिल्याण्ड राज्यमा स्थापना भएको हिन्दू बुद्ध मन्दिरलाई उनले १ लाख २० हजार डलर भन्दा बढी दान समेत दिइ सकेका छन् । मेरिल्याण्ड राज्यको गभर्नर कार्यालयले स्थापना गरेको साउथ एशियन अफेयर्समा कमिसनरको रुपमा काम गरेका छन् ।
नेपालीलाई अमेरिकाको मूलधारको राजनीतिमा समाहित गराउने अभियानमा कार्कीले मेरिल्याण्ड राज्यको जनरल एसेम्वलीमा दुई पटक विजयी हुनु भएका डा. ह्यारी भण्डारीको चुनावी अभियानको समूहमा समेत महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।
अमेरिकामा स्थापना भएका नेपाली मूलका विभिन्न संघसंस्थामा काम समेत गर्नु भएको अनुभव छ । उनले अन्तराष्ट्रिय साहित्य समाज ( अनेसास)को बोर्ड अफ ट्रष्टीको अध्यक्ष समेत भएर काम गर्नु भएको थियो । एनआरएन आईसिसिको संस्थापक उपाध्यक्षको रुपमा समेत कार्कीले काम गरिसकेका छन्।

दी भ्वाइस रियालिटी शोको प्रतिस्पर्धा गरेर टप टेनमा पुगेकी पराजिता बास्तोला यसवर्ष नेपाली समुदायमा निकै चर्चित नाम हो । पुर्ख्याैली घर झापाको बिर्तामोड भएकी पराजिता अमेरिकामै जन्मेकी हुन् । उनले निकै उत्कृष्ठ प्रस्तुति दिदै अहिलेको चरणसम्म आइपुगेकी थिइन् ।
उनी विजयी हुन नसकेपनि निकै चर्चा र सहानुभूति बटुलेकी छिन् । उनले अाफूमा निकै संभावना रहेको संकेत पनि दिएकी छिन् । उनलाइ जिताउन नेपाली समुदायले निकै बल गरेका थिए ।

बासु फुलारा अमेरिकामा नेपाली समुदायलाई कानुनी परामर्श दिन्छन् । विशेष गरी अमेरिकामा बसेर व्यवसाय गर्न चाहने नेपाली व्यवसायीलाई उनले कानुनी सेवा दिँदै अाएका छन् । थपमा इमिग्रेशन सम्वन्धि परामर्शमा उनको विशेष दख्खल छ । कयौं नेपालीका इमिग्रेशनसँग सम्वन्धित मुद्दा उनले हेरेका छन् । पेशागत कारण उनको अमेरिका भर सञ्जाल फैलिएको छ । उनी सार्वजनिक कार्यक्रममा पनि इमिग्रेशन सम्वन्धि विचारहरु प्रवाह गरिरहेका हुन्छन् ।
यतिले मात्र उनको परिचय पुरा हुँदैन । उनी एनआरएनए अमेरिकाका निर्वाचन कमिटी प्रमुख पनि हुन् । एनआरएनए अमेरिकाको निर्वाचन कमिटी सधै चर्चा र विवादको केन्द्रमा हुन्छ । एनआरएनएमा सुधार हुनुपर्छ भन्ने पक्षमा उनले पहल गर्दै आएका छन् ।

उनले नेपाली सुपरहिरो यतिम्यानको पनि परिकल्पना गर्दै यो क्यारेक्टरलाई अन्तर्राष्ट्रिय स्तरमा ल्याउने तयारी गरिरहेका छन् । तामांग भाषा र तिब्बती भाषालाई मिलाएर यतिम्यानको भाषा उनीहरुले विकसित गरेको बताइएको छ ।
सन् २००७ मा डिज्नीको जागिर छोडेपछि उनले आफ्नैं एनिमेशन स्टुडियो शुरु गरे । उनको स्टुडियो तथा कार्यालय काठमाडौं र क्यालीफोर्नियाको लस एन्जलसमा छन् । सन् २०१७ मा उनले सह निर्देशन र उत्पादन गरेको मुभिंग माउन्टेन डकुमेन्टरीले विभिन्न पुरस्कारहरु जितेको थियो ।
.png)
प्रतिक्रिया