मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जानी राखे राम्रो    
अमेरिका समाचार   
जो चर्चामा रहे   

सन् २०२१ अमेरिकामा नेपाली समुदाय जो चर्चामा रहे

सन् २०२१ अमेरिकामा नेपाली समुदाय जो चर्चामा रहे


सन् २०२१ नेपाली अमेरिकामा नेपाली समुदायका कतिपय संघसंस्थाले तमासा देखाएको बर्ष रह्यो । सदस्यता संख्याका आधारमा अमेरिकामा सबैभन्दा ठुलो सञ्जाल भएको एनआरएनए एनसीसी अमेरिका भित्र विवाद सल्टिनुको साटो बढेर गयो । एनआरएनए अमेरिकाको न्यूयोर्कमा आयोजित भेलामा झण्डै हात हालाहालको स्थिति आयो ।
एनआरएनए अमेरिकाबाट शुरु भएको विवादले समग्र एनआरएनएलाई नै प्रभावित पारेको छ । यो विवादमा थुप्रै पात्रहरु छन् । जसलाई नेपाली समुदायले रुचाएका छैनन । विदेशमा बस्ने नेपालीको पक्षमा अब एनआरएनएले लविङ्ग गर्न सक्दैन कि भन्ने प्रश्न उठाउँदै विकल्पको खोज्ने प्रयास समेत सुरू भएको छ ।
आफुलाई नेपालको पहिलो र प्रजातान्त्रिक राजनीतिक पार्टी नेपाली कांग्रेस निकट दावी गर्ने जनसम्पर्क समितिले अर्को तमासा देखाएको छ । अहिले अमेरिकामा जनसम्पर्क समिति आधिकारिक हौं भन्दै दावी गर्ने तीनवटा कार्यसमिति खडा भएकाछन् । जनसम्पर्क समिति कुनै विधि विधानमा चलेको छैन । यसवाहेक नेपालका राजनीतिक पार्टीको आस्था बोक्ने छ अन्य संस्थामा पनि विवादै विवाद छ ।
नेपाली समाज कसरी विभाजित हुँदैछ भन्ने पछिल्लो उदाहरण त नेपाल समाज टेक्सस भयो । मुख्य रुपमा टेक्सस डलासमा केन्द्रित यो संस्थाको केही दिन अघि भएको चुनावमा समेत दुई प्यानल वन्यो । सामाजिक संस्थामा जीत–हारका लागि प्यानल किन बन्छ ? तँछाड मछाड किन हुन्छ ? भन्ने प्रश्न नेपाली समुदायले उठाईरहेको छ ।
सन् २०२१ मा चर्चामा रहेका नेपालीको सूचि बनाउँदा पनि कतिपय नाम त्यहीवाट खोज्नु पर्ने अवस्था आयो । केही नाम चर्चामा त आए तर, उनीहरुले अमेरिका बस्ने नेपाली समुदायको हित गर्छन वा गर्दैनन त्यो हेर्न बाँकी छ । यी चर्चामा आएका नामले समुदायलाई विभाजित होइन संगठित गरुन भन्ने हाम्रो आशा छ । केही नाम भने केही आशालाग्दा छन् । यहाँ उल्लेखित नाम चर्चामा जो आए उनीहरुको हो । तर, कामको मूल्यांकन गर्ने जिम्मा भने हामी समुदायलाई नै छाड्छौं ।

उपेन्द्रदेव आचार्यः (कानुनका एकमात्र नेपाली प्राध्यापक)

उपेन्द्रदेव आचार्यः (कानुनका एकमात्र नेपाली प्राध्यापक)

पछाडि चुल्ठो बाटेका, बोलीमा असाध्यै शिष्ट, वैदिक परम्परालाई आत्मसात गर्ने, धोती कछाड बेरेर पूजापाठहरूमा देखिने र संस्कृतका मन्त्र–श्लोकहरू कण्ठस्थ सुनाउने एकजना यस्ता व्यक्ति, जो अमेरिकाको कानुन अध्ययन अध्यापनको क्षेत्रमा पनि प्रतिष्ठित मानिन्छन्- उपेन्द्रदेव आचार्य ( विद्यावारिधि) ।

विक्रम सम्वत् २०२० मा तनहुँको चुँदी रम्घामा जन्मेका उपेन्द्रदेव आचार्य वासिङगटनस्थित गोन्जागा ल युनिभर्सिटीका  प्राध्यापक हुन् । आजका दिनसम्म अमेरिकामा कानुन पढाउने आचार्य एकमात्र नेपाली प्रोफेसर हुन् ।

अमेरिकाको युनिभर्सिटीमा कानुनको प्राध्यापक हुनु मात्र आचार्यको विशेषता होइन। उनी ब्राजिल, फ्रान्स, चीन, भारत, इटाली, लेबनान, फिलिपिन्स, मेक्सिकोका अनेक ल स्कुलका भिजिटिंग प्रोफेसर पनि हुन् ।

विभिन्न देशका ल स्कुलहरूमा गएर दिने मन्तव्यलाई निकै महत्त्व दिने गरिन्छ । उत्तर एटलान्टिक सन्धि संगठन (नाटो), नेभीले गर्ने अन्तर्राष्ट्रिय सम्मेलनहरूका प्राज्ञिक सल्लाहकारसमेत रहेका आचार्यले थुप्रै अन्तर्राष्ट्रिय मुद्दा पनि लडेका छन् । यिनै आचार्यको पहलमा आगामी  जुलाई २९-३० मा नेपालमा ‘एसियन सोसाइटी अफ इन्टरन्यासनल  कन्फ्रेन्स हुँदैछ, जहाँ ‘इन्टरन्यासनल  ट्राइबुनल फर द ल अफ द सी’ का अध्यक्षका साथै ‘इन्टरन्यासनल  कोर्ट अफ जस्टिस’का न्यायाधीशहरूको सहभागिता रहने अपेक्षा गरिएको छ ।

प्रचार र हल्लाखल्लाको दुनियाँबाट प्राय: टाढै बस्न रुचाउने आचार्य,  नेपालमा हुन लागेको अन्तर्राष्ट्रिय सम्मेलनसँगै एउटा नेपाली मिडियाले हालै लिएको अन्तर्वार्ताका कारण पनि यतिबेला चर्चामा छन्। खासमा आचार्य यसअघि नै चर्चामा आउनुपर्ने पात्र हुन् ।

टीका पौडेल

टीका पौडेल

गत जुन महिना अघि टेक्ससको युलेस सिटीमा बस्ने टीका पौडेललाई स्थानीय नेपाली समुदायका थोरैले मात्र चिन्दथे । नेपालबाट अमेरिका आएको डेढ दशक भएपनि व्यबसाय र रोजगारीमै व्यस्त थिए पौडेल । नेपाली समुदायलाई घरायशी प्राविधिक समस्या पर्दा घरमै पुगेर सहयोग गर्ने उनको सहयोगी बानीले गर्दा चिनेजानकोे सर्कलमा उनी लोकप्रिय भने थिए ।

यही लोकप्रियता र आँटले गर्दा टेक्सस राज्यको इतिहासमै नाम लेखाउन उनी सफल भए । नेपाली समुदायको आप्रवासीले टेक्ससको भाइब्रेन्ट सिटी युलेसमा पहिलोपटक सिटीको बोर्ड सदस्य (काउन्सिल मेम्बर) मा निर्वाचित भए ।

चितवनमा प्राध्यापनरत पौडेल अमेरिका आएपछि नेपालको पार्टीगत राजनीतिबाट अलग्गै रहे । ‘हामीले मातृभूमिको लागि सहयोग गर्ने सदभाव राख्ने हो, कुनै दल विशेषको राजनीति यहाँबाट गर्दा सुहाउँदैन’ उनी सधैं यही भन्थे र यही अडानमै रहे । बरु अमेरिकाको राजनीतिमा लाग्ने हो भने नेपाललाई चिनाउन, बढ्दा सहयोग गर्न सकिन्छ भन्ने उनको धारणा थियो । त्यही धारणाले उनी अमेरिकी राजनीतिमा होमिएका हुन् ।

नेपालीमुलका व्यक्तिले अमेरिकाको राजनीतिमा प्रवेश गरेर सफलता पाउन निकै मेहनत आवश्यक पर्छ । अमेरिकी समुदायको विश्वास जित्न सजिलो छैन । पौडेलले जित्नेमा नेपाली समुदायकै अग्रजहरु समेत विश्वस्त थिएनन् । तर लगातारको खटाई, विश्वास आर्जनले गर्दा पौडेलले शुद्ध अमेरिकी एरिक वन्सलाई हराउन उनले सफलता पाए ।

प्रयास गरेमा सफलता मिल्छ । प्रयासनै नगर्ने हो भने कहिल्यै अघि बढिदैन भन्ने तथ्यलाई आत्मसात गरेर उनी अघि बढेका थिए । अमेरिकाको राजनीतिमा सिटी तहमा कुनै पनि दलले प्रत्यक्ष उम्मेदवार खडा गर्दैनन् । तर पनि उनलाई डेमोक्रेटिक पार्टीले समेत सहयोग गरेको थियो । एकातिर आप्रवासी समुदायको सहयोग, अर्कोतिर डेमोक्रेटिक पार्टीको इण्डोर्समेन्टले गर्दा पौडेलले चुनाव जिते ।

पौडेलको विजयले अन्य राज्य र सिटीहरुमा बस्ने नेपालीमुलका अमेरिकनहरुमा पनि आँट र भरोसा बढेको छ । ह्यारी भण्डारी भन्दा पछिपछि लागेर आगामी दिनमा नेपालीहरु अमेरिकी मुलधारको राजनीतिमा प्रवेश गर्ने संभावना र संकेत बढेका छन् ।

बुद्धिसागर सुवेदी

बुद्धिसागर सुवेदी

एनआरएनए एनसीसी अमेरिकाका निर्वाचित अध्यक्ष हुन बुद्धिसागर सुवेदी । यसले मात्र उनको परिचय सिमित छैन । अहिले एनआरएनए भित्र देखिएको विवादमा पनि उनी अग्रपङ्क्तीमा छन् । विभिन्न देशमा रहेका एनआरएनए एनसीसी बीच छलफलको संयोजन पनि उनले गर्दै आएका छन् । आईसीसी केन्द्रिय नेतृत्वले नचाहेपनि उनको संयोजनमा एनसीसीहरुको दुईवटा विश्व भेला सम्पन्न भयो । यो भेलाले एनआरएनए आईसीसीलाई विभिन्न सुझाव दिई दवाव दिदैं आएको छ ।

एनआरएनए अमेरिकामा करिब २० हजार सदस्य छन् । कयौं राज्यमा च्याप्टर छ । एनआरएनए अमेरिकामा सवैभन्दा ठुलो संजाल भएको नेपाली समुदायको संस्था पनि हो । तर, यो सधैं विवादमा भने छ । केही महिना अघि भएको निकै प्रतिस्पर्धात्मक चुनावबाट अध्यक्षमा सुवेदी निर्वाचित भए । निर्वाचनको क्रममा उनले सयौं नेपालीसँग अन्तकृया गरे । कयौं राज्यमा पुगे । बुद्धि सुवेशी पेशाले व्यवसायी पनि हुन । उनले अहिले व्यवसाय पनि विस्तार गरिरहेका छन् ।

सुवेदीले एनआरएनए अध्यक्षका रुपमा आफ्नो कार्यकाल शुरु गर्न नपाउँदै एनआरएनए विवादमा पर्न गयो । पद हस्तान्तरणका लागि राखिएको सम्मेलननै विवादमा पर्यो । यो सहज रुपमा हुन सकेन । एनआरएनए भित्र एक पछि अर्को विवाद आईरहेको छ । यो विवादमा उनले जश पाउने योगदान भने दिईसकेका छैनन् । एनआरएनए एनसीसी मध्ये सवैभन्दा धेरै सदस्य भएको एनआरएनए अमेरिकालाई नेतृत्व गर्ने बुद्धि सुवेदीले आउने दिनमा कस्तो भुमिकामा प्रस्तुत हुन्छन् र विवाद समाधानमा कति सफल हुन्छन् यो परिक्षा हुन बाँकी छ ।

सराहाना श्रेष्ठ

सराहाना श्रेष्ठ

साराहाना श्रेष्ठ पहिलो पुस्ताकी नेपाली मुलकी अमेरिकन हुन् । उनले आउने नोभेम्बर महिनामा हुने न्यूयोर्क राज्यको एसेम्ब्ली सिटमा प्रतिस्पर्धा गर्ने तयारीमा छन् । आफु बस्दै आएको न्युयोर्क एसेम्ब्ली डिष्ट्रिक १०३ मिड हड्सन् म्याली क्षेत्रवाट उनले उम्मेदवारी दिने तयारी गरेकी हुन् । तर, यसका लागि उनले केही चरण पार गर्न बाँकी छ ।

उनले आफुलाई पहिलो पुस्ताको नेपाली अमेरिकन, जलवायु परिवर्तन सम्वन्धि अभियन्ता र वार्किंगं क्लासको पक्षधरका रुपमा परिचय दिदैं यसका लागि चुनाव उठ्न लागेको वताएकी छिन् ।

स्वास्थ्य सवैका लागि सर्वसुलभ हुनुपर्छ भन्ने उनको अर्को मुद्दा छ । मेडिकल केयर आम्दानी, रोजगार र लिगल स्ट्याट्समा केन्द्रित हुनुहुदैंन भन्ने उनको मान्यता छ ।
सन् २००१ मा कम्प्युटर ग्राफिक्स पढ्न अमेरिकी आएकी श्रेष्ठले त्यसको केही वर्षपछि अमेरिकी नागरिकता लिएकी थिईन । नेपालको बसाई भन्दा अमेरिकामा वढी समय बिताएको बताउँदै उनले परिवर्तनको पक्षमा आफुले राजनीति गर्ने दावी गरेकी छिन् ।

डा. यादव पण्डित

डा.यादव पण्डित

डा. यादव पण्डित पेशाले अमेरिकाको कलेजमा भोतिकशास्त्र (फिजिक्स) पढाउँछन् । त्यसमा पनि अहिलेको चर्चित विषय न्यूक्लियर फिजिक्सका ज्ञाता हुन् । तर, एनआरएनए होस वा राजनीति दुवै तिर उनी चर्चामा हुन्छन् । एनआरएनए निर्वाचनमा बुद्धि सुवेदीको समुहलाई समर्थन गर्दा उनी चर्चामा रहे । कतिले उक्त समुहको रणनीतिकारको संज्ञा पनि दिए । तर, डा पण्डित आफै भने सल्लाह दिए पनि रणनीतिकार हो भन्ने कुरा मान्दैनन् ।

अहिले एनआरएनए विवादमा पनि डा. पण्डित जोडिएका छन् । विवाद समाधानका लागि बनाईएको उच्चस्तरीय सुझाव समितिमा उनी पनि छन् । एनआरएनएमा कुल आचार्य पक्षलाई जिताउन डा. पण्डितले पहल गर्दै आएका थिए । आचार्य समुहको वैठकमा उनीपनि सहभागि हुदैं आएका छन् । त्यही भएर उनलाई अहिलेको विवाद टुंग्याउन समितिमा राखिएको हो ।

एनआरएनए बाहेक डा. पण्डित नेपालको पुरानो राजनीतिक पार्टी नेपाली कांग्रेसको महाधिवेशनमा अमेरिकावाट प्रतिनिधिका रुपमा सहभागी भए । यी उदाहरणले नेपाल विद्यार्थी संघका पुर्व महामन्त्री डा. पण्डित फिजिक्स पढाएर मात्र बसेका छैनन् भन्ने पुष्टि गर्छ । उनको यो सकृयताले नेपाली समुदायलाई कस्तो फाइदा पुग्छ त्यो भने आगामी दिनले देखाउने छ ।

किरण गजमेर

किरण गजमेर

किरण गजमेरले नेपालको टेलिभिजन च्यानलमा आएको रियालिटी शो भ्वाइस अफ नेपालको यस बर्ष प्रसारित तेस्रो संस्रकरणमा तहल्का मच्चाए । सयौं प्रतिष्पर्धीलाई पछि पार्दै किरण उक्त संस्करणको विजेता वने । अमेरिकाको मिजौरी देखि काठमाडौमा भ्याइस अफ नेपालको यात्रा सहज थिएन । उनको लगन र प्रतिभाले साथ दियो ।

किरण नेपालमा जन्मिए । भुटानी शरणार्थीका रुपमा परिवारसंग अमेरिका आए । संगित प्रति उनको लगाव थियो । अभ्यास गरिरहे । उनले एक टेलिभिजनसंगको अन्तवार्तामा नेपालसंघ जोडिन पनि उक्त प्रतियोगितामा सहभागी भएको वताएका छन् । उक्त प्रतियोगिताका क्रममा आठ महिना काठमाडौ वसे । पछि फेरि नेपाल जाँदा नेपालको इमिग्रेशन कानुनले गर्दा उनी चर्चामा पनि आए । यो चर्चा सकारात्मक पनि हो । नेपालवाट अमेरिका आएका एक लाख भन्दा वढी नेपाली मुलका भुटानीले नेपाललाई आफ्नो देश ठान्छन् । नेपालले यसवारेमा केही सोच्नु पर्ने अवस्था पनि छ । किरणले आफ्नो गायकीले मन मात्र जितेका छैनन । ठुलो समुहको मनमा रहेको एउटा राजनीतिक विषय पनि चर्चामा ल्याएका छन् ।

आशिष संग्रौला

आशिष संग्रौला

दुई बर्ष यता नेपाली समुदायमा छिटो गतिमा प्रचलित हुँदै गएको विषय शेयर र क्रिप्टो करेन्सीमा लगानी हो । अहिले नेपाली समुदायको सानो जमघटमा पनि शेयर र क्रिप्टो करेन्सीमा लगानी गर्ने कोही न कोही नेपाली भेटिन्छन् । शेयरमा पाँच सय डलर देखि मिलियन डलर भन्दा बढी लगानी भएका नेपाली छन् । न्यूयोर्क स्टक एक्स्चेञ्जमा सुचिकृत कतिपय कम्पनीहरु नेपाली माझ चर्चित पनि बन्दै गएका छन् । चीनको इलेक्ट्रिक कार बनाउने कम्पनी निओ देखि कोलम्बियाको गाँजा उत्पादक कम्पनीका शेयरमा नेपालीले लगानी गरेका छन् ।

यो बजारमा नेपाली माझ चर्चित नाम हो आशिष संग्रौला । उनलाई पछ्याउने थुप्रै नेपाली छन् । उनले फेसबुकमा रविनहुड नेपाली समुह संचालन गर्छन यसमा शेयरमा लगानी गर्ने चासो राख्ने थुप्रै नेपाली जोडिएका छन् । त्यहाँ आशिष लगायत कयौंले विभिन्न सुझाव टिप्पणी राख्छन् ।

वासिङगटन डीसी नजिक भर्जिनियामा बस्ने आशिष कुनै बेला तीन मिलियन डलर सम्म शेयर किनवेचको व्यवस्थापन गरेको बताउँछन् । शेयर बजारमा लगानी गर्दा सवैभन्दा महत्वपुर्ण पक्ष के हो ? यसमा आशिष भन्छन इमोशन कन्ट्रोल हो जसले आफ्नो इमोशन नियन्त्रण गर्न सक्दैन त्यसलाई शेयर बजारले डुवाउन पनि सक्छ । पहिलो थौ पैसा लिएर शेयर बजार वुझ्दै लगानी वढाउनु उपयुक्त हुने सुझाव उनको छ । शेयर बजार मार्फत चर्चामा आएका आशिष एनआरएनए अमेरिकाका बोर्ड सदस्य पनि हुन् ।
उनको नेपालको शेयर बजारमा समेत संलग्न हुने लक्ष्य छ । यसका लागि केही योजनाका पनि छन् ।

लोक तिवारी

लोक तिवारी

केही साता अघि सम्मलोक तिवारीको परिचय अमेरिकामा व्यवसाय गर्ने नेपाली, समुदायमा सकृय व्यक्ति र एनआरएनए अमेरिकाका पुर्व उपाध्यक्ष भन्ने थियो । तर, केही दिन अघि उनको परिचय थपिएको छ । उनी नेपालको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का केन्द्रिय सदस्य निर्वाचित भएका छन् ।

पुर्व पञ्चहरुले स्थापना गरेको उक्त पार्टीमा विदेशमा बस्ने नेपालीका तर्फवाट उनले उम्मेदवारी दिएका थिए । तिवारी निर्वाचित भए । नेपालमा पुर्खाली थलो स्याङ्जा जिल्लाका तिवारीको पुर्व पञ्चहरुसँग पहिले देखिनै राम्रो जान पहिचान थियो । यसले उनलाई केन्द्रिय सदस्य बन्न सहयोग पनि गर्यो । राजेन्द्र लिङगदेनले नेतृत्व गरेको यो पार्टीले नेपाली राजनीतिमा अव कस्तो प्रभाव पार्ला भन्ने चासो भने बढेको छ । यससगै लोक तिवारीले केन्द्रिय सदस्यका रुपमा कसरी कुन स्थानमा आफुलाई नेपालको राजनीतिमा राख्न सफत हुन्छन् यो हेर्न बाँकी छ ।

कृष्ण पन्त

कृष्ण पन्त

गत जुलाई ३१ तारिक टेक्ससको अर्भिङमा एउटा कार्यक्रम आयोजना भएको थियो । नेपाली सांस्कृतिक तथा आध्यात्मिक केन्द्र, जस्लाई स्थानीय रुपमा पशुपतिनाथ तथा बुद्ध मन्दिरका नामले चिनिन्छ । कार्यक्रममा स्थानीय एक व्यक्तिले नयाँ बन्न लागेको मन्दिरका लागि एकलाख डलर दान दिने घोषणा गरे । ती व्यक्ति थिए परिचित व्यबसायी कृष्ण पन्त ।

पन्तले एकलाख डलरको घोषणा गरेपछि अमेरिकाभरिको नेपाली समुदायबीच उनी को हुन् र कस्तो पृष्ठभूमिका हुन् भन्ने बारेमा निकैनै चर्चा र सोधीखोजी भएको थियो । धेरैले उनको सहयोगी मनको प्रशंसा गरे ।

नेपालको गोरखाको गाइखुरमा जन्मिएर सन् १९९६ मा अमेरिका आएका पन्त टेक्ससमा निकै सफल व्यबसायीका रुपमा चिनिन्छिन् । नेपाली समुदायले गौरव गर्ने प्रोजेक्टमा रुपमा अघि बढिरहेको युलेसको नयाँ मन्दिर बनाउन उनले एकलाख डलर दिने घोषणा गर्दा तालीको गडगडाहटले तीन मिनेटसम्म हल गुञ्जियो । पन्तभन्दा अघि कसैले पनि त्यति ठूलो रकम मन्दिरलाई दिने घोषणा गरेका थिएनन् । नत त्यसपछि नै उनले बोलेको रकमलाई उछिनेर सहयोग गर्ने कोही महादानी निस्किएको छ ।

एकलाख सहयोगको घोषणा गरेका पन्तले ५० हजार रकमको चेक समेत केही साता अघिनै मन्दिरलाई हस्तान्तरण गरिसकेको मन्दिर बोर्ड अफ ट्रष्टीका अध्यक्ष विनय अर्यालले जानकारी दिए । उनको दम्पत्तिनै अहिले मन्दिरको संरक्षक पदमा छन् ।

टेक्ससको डिएफडब्लु मेट्रोप्लेक्समा पर्ने भ्यालीरेञ्चमा परिवार सहित बस्दै आएका पन्तले अरु नेपाली जस्तै ग्याँस स्टेशन, ग्रोसरी स्टोरमा लगानी गरेका छन् । तर त्यो भन्दा बढी रियलस्टेट, मोटलहरुमा आफ्नो लगानीलाई केन्द्रित गरेका छन् । आठ वटा ग्याँस स्टेशन, चारवाट होटल, बिजनेस कम्प्लेक्स र हाउजिङ मार्केटमा पन्तको ठूलो लगानी छ । आफूमात्र नभएर आफ्नो सम्पर्कमा आउने जति सबैलाई उद्यमशीलता बढाउन सहयोग गर्ने उनको स्वभाव छ ।

मन्दिर निर्माणका लागि एकलाख डलरको घोषणा गरेर दानवीरका रुपमा अमेरिकाभरिका नेपाली समुदायमा उनी परिचत भएका छन् । यसअघि नेपाली समाज टेक्ससमा आवद्ध भएर काम गरेपनि पछिल्ला केही वर्षहरुमा उनी आफ्नो व्यबसाय विस्तार र उद्यमशीलताका लागि सहयोगमा सकृय भए । मन्दिरका लागि उनले एकलाखको घोषणा गरेपछि सहयोगदाताको बाढीनै लागेको छ ।

तिलक केसी

तिलक केसी

एनआरएनए अमेरिकाको गत निर्वाचनमा अध्यक्ष पदका उम्मेदवार थिए तिलक केसी । चारजना उम्मेदवारमध्य वाककला, शव्द चयन, स्पष्टशैली केसीमा भएको टिप्पणी सदस्यहरूको थियो । तर यिनै विशेषताका धनी केसीले सबैभन्दा कम मत प्राप्त गरे । तर, उनले धेरैको मन भने जितेका थिए । एनआरएनएमा सुधार गर्नु पर्छ भन्ने अभियानका साथ उनी अध्यक्षका प्रत्याशी भएका थिए । निर्वाचनका क्रममा उनलाई सुन्नेहरुले ताली पनि पिटे ।

चार उम्मेदवार बीच भएको ककसमा सवैभन्दा राम्रो प्रस्तुती तिलककै थियो । उनले चर्चा पाए तर, बहुमतको मत पाएनन् । त्यसवेला उठाएका मुद्दा भने जायज भएको अहिले पुष्टि हुदैं छ ।
यस अघिको कार्यकालमा तिलक एनआरएनए अमेरिकाका बोर्ड सदस्य मात्र थिए । बोर्ड वैठकमा अन्य सहकर्मीहरुले उनको प्रस्तुतीको प्रशंसा पनि गर्थे ।

पोखराका तिलक विद्यार्थी काल देखिनै राजनीति गर्थे । मिठो बोल्थे । अहिलेपनि संस्था खोलेर समाजमा सकृय छन् । तिलक व्यवसायी पनि हुन् । उनी अहिले एनआरएनएको कुनै जिम्मेवार तहमा छैनन् । उनका लागि अबको समय आफ्नो क्षमताको सदुपयोग गरेर देखाउने अवसर भने छ ।

पछिल्लो समयमा नेकपा माओवादी निकट प्रवासी संस्था जनप्रगतिशील मञ्च अमेरिकाको अध्यक्ष चुनिएका छन् । अमेरिकाको उत्तर तर्फ क्यानडासँग सीमा जोडिएको विन्सकन्सिन राज्यमा बसोबास गर्ने केसी विगतमा त्रिभुवन विश्वविद्यालयको स्ववियू सचिव समेत थिए ।