मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   
जो चर्चामा रहे   

सन् २०२४ मा अमेरिकामा नेपाली समुदाय : जो चर्चामा रहे

सन् २०२४ मा अमेरिकामा नेपाली समुदाय : जो चर्चामा रहे

-हिमालयखबर टीम

शेयर गर्नुहोस:

47.6k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

तस्बिर: सामाजिक संजाल

सन् २०२४ हामीबाट अब कहिल्यै नफर्किने गरि बिदा भएको छ । तर यो वर्षले केही चीरस्मरणीय घटना, सम्झनाहरू छाडेर गएको छ । विशेष रूपमा अमेरिकामा बस्ने नेपाली समुदायमा सन् २०२४ न उल्लेख्य, न सामान्य रह्यो । यस वर्ष नेपाली समुदायमा बिभिन्न सन्दर्भहरूले चर्चा, परिचर्चा पायो ।

सन् २०२४ मा अमेरिकामा बस्ने नेपाली समुदायभित्र भर्जिनियाबाट हराएकी ममता काफ्ले प्रकरण सबैभन्दा चर्चा र चासोको विषय बन्यो। अमेरिकामा नेपाली समुदायको बसोबास बढेसँगै यस्ता नहुनुपर्ने घटना एकपछि अर्को बाहिर आएका छन्। ममता प्रकरणले अमेरिकामा नेपाली समुदायभित्र तरङ्ग नै ल्यायो। नेपालबाट समेत के भएको हो ?

‘यस्तो किन भयो ?’ भन्ने प्रश्नहरू उठाइए। यो प्रकरण अझै टुंगोमा पुगेको भने छैन। परिवारभित्रको असमझदारीले घरेलु हिंसाका घटनाहरू क्रमशः सतहमा निस्कने क्रम सुरू भएको छ । काम, परिवारलाई दिने समय, पैसा, यौन लगायतका क्षेत्रमा सन्तुलन मिलाउन नसक्दा नेपाली समुदायभित्र यस्ता समस्याहरू देखिन थालेका छन्।

अमेरिका र नेपालमा बस्दा फरक परिस्थिति हुन्छ। अब यसलाई सन्तुलनमा राख्दै यहाँका राम्रा पक्षहरूलाई स्वीकार गर्दै जानु आवश्यक देखिएको छ। हामी मानसिक रूपमा यहाँको समाजको यथार्थलाई स्वीकार्दै जानुपर्ने अवस्थामा छौं। ममताको खोजी भइरहेकै बेला टेक्ससको ह्युस्टनमा नेपाली युवतीको हत्या भयो । उनी विद्यार्थी भिसामा अध्ययनका लागि अएकी थिइन् । अनुचित सम्वन्धले उनको हत्यासम्मको अवस्था सिर्जना गरेको घटनाक्रमले देखाएका छन् ।

यी र विगतका घटनाले नेपाली समुदायलाई झस्काएका छन्। अमेरिकामा चर्चित १० व्यक्तिको चर्चा गर्दै गर्दा, निकै चर्चामा रहेको तर नहुनुपर्ने विषय उठाउनु पर्‍यो। यद्यपी थुप्रै राम्रा पक्षहरू पनि छन्। नेपाली समुदाय थप परिपक्व हुँदै गएको छ। यहाँ बस्ने नेपालीहरूले आफ्नो व्यवसाय र आम्दानी वृद्धि गर्दै लगेका छन्। सन् २०२४ मा धेरैले यहाँको आम्दानी नेपालमा समेत लगानी गरेका छन्। अमेरिकामा बस्दै आएका नेपालीहरूले राजनीति तथा व्यावसायिक कारणले अमेरिकाका राष्ट्रपति, उपराष्ट्रपति सम्म आफ्नो पहुँच र कार्ययोजना पेश गर्न समेत सक्षम भएका छन्। फ्लोरिडादेखि अमेरिकामा दुर्गम मानिने वायोमिङ राज्यसम्म नेपालीहरू पुगेका छन्। त्यहाँ व्यवसाय गरेका छन्। हवाईका टापुहरूमा समेत नेपाली व्यवसायी भेट्न सकिन्छ। अमेरिकाको नेपाली समुदायसँग ह्वाइट हाउसले सम्बन्ध बढाउँदै लगेको छ। अमेरिकाको राजनीतिदेखि सरकारी प्रशासनसम्म नेपालीहरूको चासो र प्रवेश गर्ने क्रम बढेको छ। घर नभएका थुप्रै नेपालीहरूले घर, व्यबसाय जोड्दै गएका छन्। नेपाली रियल्टर, मोर्गेज एजेन्टहरूले सेवा दिइरहेका छन्। घरको सानो मर्मतदेखि व्यवसायिक कम्प्लेक्स निर्माणसम्म नेपाली समुदायबाट सेवा पाइन्छ।

अमेरिकाको शेयर बजारमा धेरै नेपालीहरूले डलर गुमाएका छन्। यसले केही पाठ सिकाएको छ। नेपालीहरू लगानीमा परिपक्व हुँदै गएका छन्। अमेरिका बस्ने नेपाली समुदाय विस्तारै यहाँको यथार्थमा प्रवेश गरिरहेको छ। यहाँको राजनीतिदेखि नेपालको राजनीतिसम्म नेपाली समुदायले राख्ने दृष्टिकोण परिपक्व र यथार्थमूलक हुँदै गएको छ। सन् २०२५ सँगै अमेरिकाको राजनीतिमा पुनः डोनाल्ड ट्रम्पको कार्यकाल सुरु हुनेछ। चार वर्षअघि उनलाई मत नदिएका कयौं नेपाली यस पटक ट्रम्पका समर्थक बने। ट्रम्पको इमिग्रेशन नीति केही कडा सुनिए पनि यहाँ कानुनी रूपमा बसेका नेपाली समुदायलाई खासै असर पर्ने देखिँदैन। तर, गैरकानुनी रूपमा तल्लो बाटो हुँदै अमेरिका प्रवेश गर्न खोज्नेहरूलाई भने ट्रम्प प्रशासनले निरुत्साहित गर्ने नीति लिएको छ । हामी पुनः भन्छौं—ज्यान र धनको जोखिम लिएर तल्लो बाटो हुँदै अमेरिका नआउनु नै बेस। किनकी त्यसरी आउनेलाई पहिले समातेर केही समयपछि जमानीमा छाडेर असाइलम मुद्धा लड्न दिइदै आएकोमा अब समातेर सिधै देश निकाला गर्ने, कुनै पनि अदालतमा सुनुवाइ नहुने नीति ट्रम्प प्रशासनले घोषणा गरिसकेको छ ।

अमेरिकाका नेपाली समुदायको दोस्रो पुस्ता विस्तारै बढ्दै गएको छ। सूचना प्रविधि, स्वास्थ, व्यबस्थापन लगायत प्रोफेसनल क्षेत्रमा नेपालीपुस्ताको प्रवेश बढ्दो क्रममा छ । नेपालबाट अध्ययनका लागि आउने विद्यार्थीहरू समेत सन् २०२४ मा अत्यधिक बढेका छन् । यसरी आएका विद्यार्थीहरू अध्ययन पुरा गरेपछि यतै सेटल हुने, दक्ष जनशक्तिका रूपमा अमेरिकी श्रम बजारमा प्रवेश गर्ने क्रम बढ्दो गतिमा छ । जसले गर्द आउने वर्षहरूमा अमेरिकाबाट नेपालमा जाने रेमिट्यान्सको मात्रा समेत उल्लेख्य रूपमा बढ्दै जानेछ ।

अमेरिकामा दोस्रो पुस्ताका नेपालीहरूको संख्या बढ्दै जाँदा अहिले समुदायमा देखिएको विभाजन, अस्वस्थ प्रतिस्पर्धामा कमि आउनेछ । आउँदा दिनमा यो पुस्ताले यहाँको समाजलाई अझ प्रभाव पार्ने योगदान दिने आशा गर्न सकिन्छ।

तपाईंहरूलाई सबैलाइ नयाँ वर्षको धेरै धेरै शुभकामना।

डा. समीरको सफलता:
सन् २०२४ मा भएका महत्त्वपूर्ण घटनाहरूमध्ये नेपाली मूलका व्यक्तिले अमेरिकाको स्टक एक्सचेन्जमा सूचीकृत गर्ने प्रयत्न एउटा महत्वपूर्ण घटना हो। नेपाली उद्यमी डा. समीर मास्केले स्थापना गरेको कम्पनी ‘फ्युजमेसिन्स’ अमेरिकाको प्रतिष्ठित स्टक एक्सचेञ्ज ‘नास्डक’मा सूचीकृत हुने प्रयास गरिरहेको र प्रशासनिक प्रक्रिया प्रक्रिया पूरा गरेपछि सूचीकृत छ । आर्टिफिसियल इन्टेलिजेन्स (एआई)सँग सम्बन्धित काम गर्दै आएको कम्पनी फ्युजमेसिन्स र सिएसएलएमएक्विजिसन कर्पबीच नास्डकमा सूचीकृत हुने गरी मर्जर सम्झौता भएको कम्पनीको भनाइ छ ।

मर्जरपछि कम्पनीको दुई सय मिलियन (२० करोड) डलर बराबरको हुने अपेक्षा गरिएको छ । अमेरिकाको कोलम्बिया विश्वविद्यालयमा सहप्राध्यापक समेत रहेका डा. मास्केले सन् २०१३ मा फ्युजमेसिन्स कम्पनी स्थापना गरेका थिए। हाल फ्युजमेसिन्स कम्पनीले नेपाल, अमेरिका र क्यानाडाका विभिन्न कम्पनी तथा संस्थासँग काम गरिरहेको छ । कम्पनीमा कार्यरत चार सय ५० जना कर्मचारीमध्ये तीनसय ५० ले नेपालबाट काम गरिरहेको उनले बताए । काठमाडौंको ठमेलमा हुर्केँर ठमेलकै बुद्ध प्रि–प्राइमरी स्कुलमा पढेका समिरले कक्षा एकदेखि दशसम्म सेन्ट जेभियर्समा अध्ययन गरे। उनले आइएससी बायोलोजी लिएर वीरेन्द्र सैनिकमा पढे। यही दौरान १२ कक्षाको अन्तिमतिर विभिन्न कलेजतिर आवेदन गरेका उनले अमेरिकाको कलेजबाट छात्रवृत्ति पाए ।

यही छात्रवृत्तिको आधारमा अमेरिकाको बेटस् कलेजमा आएर गणित र फिजिक्समा अन्डर ग्राजुएट गर्दै यस क्रममा एआईमा धेरै अनुसन्धान गरे। ‘नेपाली टु इङ्लिस स्पिच ट्रान्सलेसन स्टिमस’ लगायत क्षेत्रमा अनुसन्धान गरे। कलेजको चौथो वर्षको सुरुवातमा पिएचडी अप्लाई गरेर कोलम्बो युनिभर्सिटीबाट पाँच वर्षमा पिएचडी सके। त्यसपछि आइबिएममा काम गरेका उनले सबै कुरा छाडेर फेरि कोलम्बियामै पढाउन आएको उनी बताउछन्। डा. मास्केले भने कम्पनीको संस्थापकका रुपमा विश्वको प्रमुख वित्तीय साधन परिचालन गर्ने निकाय नास्डाकमा सूचीकृत भएर कारोबार गर्न पाउनु कम्पनीका लागि कोसेढुङ्गा नै हो । यसबाट कम्पनीले आर्टिफिसियल इन्टेलिजेन्सका क्षेत्रमा ठूलो फड्को मार्ने आशा गरेको छु ।”

नेपाल अमेरिका सम्वन्धका सेतु डा. पौडेल :
अमेरिकामा विगत दुईदशक देखि चिकित्सा पेशाामा रहँदै आएका डा. दामोदर पौडेल नेपाल अमेरिका सम्वन्धलाई विस्तार गर्न सदैव क्रियाशील छन् । हाल अमेरिकाको ओहायो राज्यमा रिजनल मेडिकल डाईरेक्टर तथा प्राईमेरी केयर फिजिसियनको रुपमा कार्यरत डा. पौडेलले आफनो व्यावसायिक जीवनलाई जति अव्वल रुपमा उभ्याउन सफल भएका छन्, त्यो भन्दा बढी नेपाल अमेरिका सम्वन्धमा नागरिक स्तरको सम्वन्ध बनाउन क्रियाशील छन् ।

ओहायो राज्यमा कार्यथलो बनाएका डा. पौडेलको चिनारी स्थानीय रुपमा ख्यातिप्राप्त चिकित्सक तथा सामाजिक रुपमा सक्रिय व्यक्तित्वका रूपमा रहेको छ । पौडेलले कोरोना महामारीको वेलामा समेत अमेरिका स्थित नेपाली दूतावाससँग समन्वय गरेर अमेरिकी जनप्रतिनिधीहरुलाई कोरोना महामारीको असरको वारेमा समेत तथ्यगत रिपोर्ट सहित खोप तथा अन्य स्वास्थ्य सामाग्रीहरुको लागि अमेरिकी सरकार समक्ष लवि गरे । तत्कालिन अवस्थामा नेपालको स्वास्थ्य मन्त्रालयका उच्च अधिकारीहरुसँग समेत समन्वय गरेर अमेरिकी कम्पनीहरु मोडर्ना, जोन्सन एण्ड जोन्सन तथा फाईजर कम्पनीका प्रतिनीधिहरुसँग समेत वैठक गराउन सफल भएका थिए । पौडेललाई हालैमात्र नेपाल सरकारको मन्त्री परिषद बैठकले ओहायो राज्यको लागि महावाणिज्यदुतको रुपमा नियुक्त गरेको छ । पौडलले भने- ‘हामीहरुले अमेरिका र नेपाल बीचको सम्वन्धलाई थप मजवुत बनाएर अमेरिकाले हासिल गरेको सेवा तथा वस्तुहरुलाई समेत नेपाली माझ पुर्याउन सकेको खण्डमा नेपालको सामाजिक आर्थिक रुपान्तरणमा महत्वपूर्ण सहयोग पुग्ने मेरो विश्वास छ ।’

पौडेलले आफूलाई दिइएको जिम्मेवारी अनुसार सदैव क्रियाशील हुने समेत बताए । अमेरिकाको वजारमा सदैव उच्च मागको रुपमा रहँदै आएको औषधी, जुत्ता तथा गार्मेन्ट लगायतको क्षेत्रमा नेपालको निर्यातको संभावना रहेको देखिएको छ । त्यसको साथसाथै पछिल्लो समयमा सूचना प्रविधी क्षेत्रमा पनि महत्वपूर्ण सफलता हासिल गरेका नेपाली अमेरिकनहरुलाई एकीकृत गर्दे अवसरको खोजीको आवाज उठिरहेको छ । डा. पौडेल पनि यसको लागि एउटा संयन्त्र मार्फत काम गर्नुपर्ने धारणा राख्छन् ।

पौडेलले स्थानीय समुदायलाई अमेरिकी स्थानीय, राज्य र संघीय सरकारका निकायहरु मार्फत जोड्नका लागि निर्वाचित प्रतिनीधिहरु मार्फत समन्वय समेत गर्दे आएका छन् । पौडेलकै पहलमा नेपाली साँस्कृतिक पर्वहरुमा स्थानीय जनप्रतिनीधिहरु, गभर्नरको कार्यालय लगायतका निकायका व्यक्तित्वहरुलाई आमन्त्रण गरेर मनाईदै आएको छ ।

पौडेलको पहलमा स्थानीय शहरमा तिहारलाई नेपालीहरुको चाडको रुपमा स्वीकृत दिदै सिटी काउन्सिलले रिजोलुसन पारित गरेको छ । पौडेल र स्थानीय समुदाय गर्दे आएको कामहरुलाई सम्बोधन गर्नुहुँदै अमेरिकी सिनेटर शेरुड व्राउन समेत प्रशंसा गरेका थिए । अमेरिकी कंग्रेसमेन व्राड विन्सट्रपले मे १४,२०२१ मा कंग्रेसको हाउस कमिटि वैठकमा डा. पौडेललाई उदधृत गर्दे नेपालमा कोरोनाको असरवारेमा युएस कंग्रेसमा पहिलो पटक आवाज उठाएका थिए ।

यसैगरि अमेरिकी राष्ट्रपतिको प्राइमरीमा उमेदवार बन्नु भएका अर्बपति माईक व्लुमवर्गसँगको प्रेसिण्डेन्सियल अभियानमा डा. पौडेलले प्यानलिष्टको रुपमा समेत सहभागी भएर आफनो धारणा राखेका थिए । उच्च रक्तचाप, मधुमेहको जटिल समस्या लगायतका विषयमा विशेषज्ञ समेत रहेका डा. पौडेलले चिकित्सा पेशासँगै सामाजिक,साँस्कृतिक तथा नागरिक जोडने अभियानलाई समेत सँगसँगै अघि बढाएका छन् । डा. पौडेलले सन् १९९५ मा त्रिभुवन विश्वविद्यालयवाट एमबिबिएस, व्याचलर अफ मेडिसीन तथा व्याचलर अफ सर्जरी गरेका थिए । सन् २००१ देखि सन् २००४ सम्म सेन्ट एलिजावेथ हेल्थ सेन्टर योङ्गसटाउन ओहायोमा फेमिली मेडिकल रेजिडेन्सी प्रोग्राममा सामेल थिए । यस डा. पौडेल २९ वर्ष देखि चिकित्सा पेशामा क्रियाशील रहँदै आएका छन् ।

ह्युस्टनको समुदायमा भिजेका ज्ञानेश्वर:
ह्युस्टनको नेपाली समुदायमा निकै सक्रिय व्यक्ति हुन् ज्ञानेश्वर श्रेष्ठ। १९९३ मा विद्यार्थीका हैसियतमा अमेरिका आएका श्रेष्ठ ह्युस्टनको पहिलो नेपाली संस्था नेप्लिज एशोसियसन अफ ह्युस्टन गठन हुँदादेखि नै नेपाली समुदायका लागि सहयोग गर्ने भूमिकामा रहँदै आएका छन्।

नेपालबाट आएको तीन दशकमा मेहनत, लगन र साथीहरुको सहयोगबाट श्रेष्ठ टेक्ससमा निकै सफल नेपाली व्यवसायीका रुपमा चिनिएका छन्। व्यवसाय विस्तारका क्रममा उनले अन्य व्यवसायिक साझेदारहरुसँग मिलेर ग्लोबल वन बैंक स्थापना र संचालनमा समेत महत्वपूर्ण भूमिका खेलेका छन्। श्रेष्ठ ह्युस्टनमा पहिलो नेपाली बैंकरको रुपमा समेत चिनिन्छन्। श्रेष्ठ कै नेतृत्वमा ह्युस्टनमा नेपाली व्यवसायीहरुको पहिलो व्यवसायिक संगठन ग्रेटर ह्युस्टन नेपाली च्याम्वर अफ कमर्श (जिएचएनसीसी) को गठन भएको थियो भने उनी त्यसको संस्थापक अध्यक्षको हैसियतमा अझै कार्यरत छन्।

नेपाली समुदायका लागि सक्रिय सहयोगी भइरहने उनको अभियानको निरन्तरता स्वरुप केही महिना पहिले सम्पन्न नेप्लिज एशोसियसन अफ ह्युस्टन (एनएएच) को साधारण सभाबाट अध्यक्षमा सर्वसम्मत चुनिएका छन् । ह्युस्टनको नेपाली समुदायको अगुवाका हैसियतमा श्रेष्ठले ह्युस्टनको पशुपतिनाथ मन्दिर र हिमालयन कल्चरल सेन्टरको लागि नयाँ सामुदायिक भवन निर्माण अभियानलाई अगाडि बढाएका छन्।

आफ्नो दुई वर्षे कार्यकाल मै बृहत सामुदायिक परिचालनबाट नेपाल कै पशुपतिनाथ मन्दिरको शैलीमा पशुपतिनाथ मन्दिर बनाउने काम सम्पन्न गर्ने लक्ष्य सार्वजनिक गरेका श्रेष्ठ केही वर्षदेखि नेपालमा आफ्नो गृहजिल्ला गुल्मीमा निःशुल्क स्वास्थ्य शिविर संचालन गर्दै आइरहेकाछन् ।

न्यूरो साइन्सकी डा. प्रेरणा:
नेपालबाट अमेरिका आएर बीसौँ वर्ष न्यूरो साइन्समा अभ्यास गरिरहेकी डा. प्रेरणा श्रेष्ठले भने यही विषयलाई नै आफनो अध्ययनको प्रमुख विषय बनाएकी छन् । सोही विषयको प्राथमिकताले उनी अहिले लोभलाग्दो सफलता हासिल गर्दै अगाडि बढेकी छन् । अमेरिकाको न्यूयोर्क राज्यको स्टोनी व्रुक युनिभर्सिटीमा न्यूरोवायोलोजी एण्ड बिहेभियर विभागमा अध्यापन गर्दै आएकी श्रेष्ठलाई यस्तै विषयमा अध्ययनका लागि अमेरिकी सरकारी निकाय नेशनल इन्ष्टिच्युट अफ मेन्टल हेल्थले २२ लाख डलर अर्थात् आजको विनिमय दरमा २९ करोड २५ लाख बरावरको रकम उपलब्ध गराएकोछ । श्रेष्ठका अनुसार मानिससँग मिल्दोजुल्दो आनीबानी भएका मुसामा अध्ययन गरिने विधिअनुसार (जसलाई मस्कुलर विधि पनि भनिन्छ) उनको टोलीले किन मस्तिष्कमा लामो समयसम्म यस्तो विषय रहिरहन्छ भन्नका लागि औजार जडान गरि अध्ययन गर्नेछ ।

आगामी सन् २०२७ को अक्टोबर सम्ममा सकिने गरि हुन लागेको यो अध्ययनले भविष्यमा यस्ता समस्यामा रहेका मानिसको उपचार विधि र पद्धति तर्जुमा हुनसक्ने श्रेष्ठ बताउँछिन् । अमेरिकी सरकारले नागरिकहरुको स्वास्थ्यको महत्वपूर्ण हिस्सा मानिएको मानसिक स्वास्थ्यसम्बन्धी काम गर्ने सरकारी निकायका अनुसार ३ तीन दशमलव ६ प्रतिशत वयस्कमा जीवनकालमा भएका कुनै घटना, दुर्घटनाका कारणले दीर्घकालीन रुपमा मनोवैज्ञानिक सन्त्रासको जीवन बिताउन वाध्य भएका छन् । सन् १९९९ मा उनलाई अमेरिकामा आउने वा कुनै देशमा एमबिबिएस अध्ययन गर्न जाने रहर जाग्यो । त्यसैबेला उनी अमेरिकामा पूर्ण छात्रवृत्तिमा बायोकेमेष्ट्री अध्ययनको लागि आइन् ।

अमेरिकामा मेडिकल कलेजमा भर्ना हुन चारवर्षको कोर्स आवश्यक पर्ने भएकाले मेडिकल स्कूलको लागि पूर्वतयारी कक्षामा सामेल भएकी थिइन्। अमेरिका आएपछि सन् २००२ को गृष्मयाममा उनले वैज्ञानिक अनुसन्धानको लागि हार्वर्ड युनिभर्सिटीको सेलवायोलोजी ल्यावमा दिएको परीक्षामा सफलता हात पारेपछि उनलाई अनुसन्धानमा झनै बढी रुची भयो । त्यसपछि उनले आफूले सिकेको विषय र मानव मष्तिष्कका बारेमा थप ज्ञान हासिल गर्न विद्यावारिधि कार्यक्रममा सामेल भइन् । न्यूरो साइन्समा दुई दशकदेखि काम गर्दे आएकी श्रेष्ठ आफ्नो जीवनलाई निर्णायक मोडमा पुर्याउने काम भने हार्वर्ड युनिभर्सिटीले दिएको रिसर्च फेलोको रुपमा ल्याबमा दिएको अवसरलाई मान्छिन् ।

पहिलो नेपाली मेयर हुने बाटोमा भट्टराई :
लामो समयदेखि क्यालिफोर्नियाको बे-एरियामा बस्दै अएका डिल्ली भट्टराई यो वर्ष निकै चर्चामा छन् । २०२४ मा सानफ्रान्सिस्को पारि रहेको सिटी अफ हर्कुलसको काउन्सिलमा चुनाव जित्न सफल भए । सात हजार भन्दा बढी भोट ल्याएर उनी सिटी कन्सुलर भएका हुन् ।
आफ्नो कार्यकालमा केही समय उनी उक्त सिटीको मेयर समेत हुने छन् । लामो समयसम्म अघि गैर आवासीय नेपाली संघ (एनआरएन) अमेरिकामा आवद्ध डिल्ली विस्तारै आफ्नो सिटी भित्र केन्द्रित भएका थिए । उक्त सिटीको प्लागिङ्ग कमिसन र फाइनान्स विभागमा बसेर काम गरेका उनले स्थानिय मुद्दालाई उठाउँदै आएका थिए । सार्वजनिक यातायात, पार्क, लाइब्रेरी जस्ता स्थानीय मुद्दा उनले उठाएका थिए । सन् २०२८ मा हर्कुलसको मेयर हुने उनी अमेरिकामा संभवत पहिलो नेपालीमुलका मेयर हुनेछन् ।

युटुबर टङ्कः

अमेरिकाको वासिङ्गटन राज्यमा बस्दै आएका नेपालीमुलका टङ्क दाहाल बितेको पछिल्लो वर्ष २०२४ मा निकै चर्चामा छन् । उनी कम्प्युटरको विन्डोज प्रोग्राम निर्माता माइक्रोसफ्टका प्राविधिक कर्मचारी हुन् । उनले आफ्नो बारेमा जानकारी दिन बनाएको एउटा भिडियो एपिसोडका अनुसार माइक्रोसफ्टमा झण्डै डेढ दशकदेखि कार्यरत छन् ।

तर उनी नेपाली समुदायमा चर्चित हुनुको कारण माइक्रोसफ्टको मेनेजर भएर भने होइन । उनले विगत एक वर्षदेखि निरन्तर सञ्चालन गरिरहेका युटूब च्यानल ‘टेकटङ्क’ का कारण उनी नेपाल र अमेरिकाको नेपाली समुदायबीच चर्चामा छन् ।

सुरुमा सूचना प्रविधि, क्रिप्टो करेन्सीबाट सुरु भएको उनको युटुबको यात्रा अहिले नेपालको समसामायीक घटनाक्रममा समेत व्याख्या, विश्लेषण गर्दै आएका छन् । राजनीतिक तथा कर्मचारीवृत्तमा भैरहेको बिभिन्न स्क्याण्डलहरु, प्रहरी सेना भित्रका घटनाहरु, उद्योगी व्यापारीबीच भैरहेका भनिएका घटनाहरुमा समेत उनले बनाएका युटुबले चर्चा कमाएको देखिन्छ । उनलाई पत्रकारका रुपमा धेरैले बुझ्ने गरेका छन् । तर उनी पत्रकार भन्दा पनि भिडियो मार्फत आफ्ना धारणाहरु राख्ने एउटा कमेन्टेटर हुन् । पत्रकारिता गर्दा हुनुपर्ने आधारभूत तथ्यहरु फाइभ डब्ल्यु र वान एच अर्थात के, कहिले, किन, कसरी, कहाँ र कति जनाको तथ्यहरु पत्रकारिताको सिद्धान्तले खोज्छ ।

तर लेख, कमेन्टमा लेखक वा प्रस्तुतकर्ताको धारणा मात्र हुने भएकोले समाचारमा जसरी सबै कुराको कम्प्याक्ट नभएपनि फरक पर्दैन । दाहालको च्यानल शुद्ध रुपमा उनले प्राप्त गरेको सूचना र तथ्यहरुलाई केलाएर प्रस्तुत गर्ने च्यानल हो । कुनै समाचारमुलक च्यानल होइन । उनको विचारको संगालो हो टेकटंक युटुब च्यानल ।

उनले एक वर्ष अघि बनाएको भिडियोमा आफू को हुँ र वाल्यकालमा कति दुःख, पीडा, हण्डर भोग्दै माइक्रोसफ्टसम्म पुगेँ भन्ने बारेमा उल्लेख गरेका छन् । पूर्बी नेपालको झापामा पिताले अर्की आमा ल्याएपछि उनकी आमा परिवारबाट अपहेलित भएको निष्काशितमा परेको कुरा उनले सुनाएका छन् । पढाईमा अब्बलता हाँसिल गर्दै आमाको दुःख र आफ्नो अभावबाट पाठ सिकेर सिंहदरबारभित्रको राष्ट्रिय कम्प्युटर केन्द्र हुँदै सियाटलसम्म पुगेको उनले उल्लेख गरेका छन् ।

उनको प्रस्तुत गर्ने शैली, उनले प्राप्त गरेका तथ्य, डकुमेन्टका आधारमा उनी छोटो समयमै लोकप्रिय भएका हुन् । एक वर्षकै अवधिमा चारलाख ४१ हजार सस्क्राइबर उनले बनाएका छन् । यो नेपालमा ‘मैँ हुँ’ भन्ने टिभी स्टेशन र युटूबरका लागि पनि चुनौति हो ।

उनले बनाएका केही भिडियोहरु तथ्य भन्दा बाहिर र अनावश्यक खैलाबैला (सेन्सेसन) मच्चाउने उदेश्य रहेको भन्दै आलोचना पनि हुने गरेका छन् । उनले आफैँले खोजेर, अनुसन्धान गरेर, स्रोतलाई भेटेर प्राप्त फस्ट ह्याण्ड सूचना भन्दा पनि अरु मिडियामा आइसकेका विषयहरुलाई व्याख्या, विश्लेषण गर्ने गरेको भनेर प्रश्न उठाउनेहरु पनि छन् । समाचारमुलक भन्दा पनि यो च्यानल उनको विचार, विश्लेषण मात्र भएकोले निर्वाध रुपमा उनले आफ्नो विचार राख्दा अरुले गाली गर्नु ठीक नभएको भन्नेहरु धेरै छन् ।

उनको भिडियो हेरेर ‘ए यस्तो भएछ है’ भन्ने धारणा बनाउनेहरु नेपालदेखि अमेरिकासम्म टन्नै भेटिन्छन् । काठमाडौंका ट्याक्सी ड्राइभरदेखि कतारको शपिङ्गमलमा काम गर्ने, क्यालिफोर्नियादेखि क्वालालम्पुरसम्म रहेका नेपालीहरुले उनको च्यानललाई रिफ्रेन्समा लिएर कुराकानी गर्ने गरेको सुनिन्छ । यद्यपी सेकेण्डरी सोर्सबाट आएको सूचनालाई भर गरिरहँदा कहिलेकाँही भयंकर दुर्घटनामा नेपाली पत्रकारिता, लेखक, साहित्यकारहरु पर्ने गरेको घटना नेपालका लागि नौलो होइनन् ।

टंक दाहालले आर्जन गरेको विश्वास कतिसम्म टिकाउन सक्छन् त्यो भने उनमै निर्भर गर्नेछ ।

पति सेवामा समर्पित सृजना:
मायाँ भन्ने कुरा कति महत्वपुर्ण हुन्छ भन्ने उदाहरण बनेकी छिन सृजना सुवेदी । नेपालमा बर्दियामा हुर्केकी सृजना विद्यार्थीका रुपमा आएका पति विवेक पंगेनीसँगै अमेरिकाको जर्जिया आएकी थिईन । दुर्भाग्यवश विवेकलाई जटिल रोग क्यान्सरले समात्यो । नियतिले विवेकको परिवारमा पनि एक पछि अर्को वज्रपात आईपर्यो । तर, पनि कत्ति विचलित नभई सृजनाले पतिलाई सम्हालिन र उनको सेवा, उपचारमा खटिइरहिन् ।

उनले टिकटक लगायत सामाजिक संजालमा पति बिरामी पर्दा गरेको माया, सहयोग, समर्थन प्रशंसा योग्य थियो । उनले बिरामी पतिलाई गरेको माया बाँच्न दिएको उत्साहले गर्दा सृजनालाई धेरैले मायाको उदाहरणका रुपमा चर्चा गरे । नेपाल भारत लगायतका मिडियाले समेत सृजनाले प्रस्तुत गरेको समपर्णलाई लिएर समाचार बनाए । सृजना पतिपत्नी बीचमा सकारात्मक सन्देशकी संवाहक भएकी छिन् । उनको जोडीलाइ अहिले समाजमा आदर्शजोडी, नयाँ मुनामदनका रूपमा परिभाषित गर्न थालिएको छ ।

भोजराज र अस्टिनको पशुपतिनाथ मन्दिरः
अमेरिकामा रहेका नेपाली मन्दिरहरूको नाममा अधिकांशले ‘पशुपतिनाथ’ नाम झुण्डाएका छन् । तर अधिकांश मन्दिरको ढाँजा, शैली नेपालको पशुपतिनाथको जस्तो प्यागोडाशैलीको देखिदैन । तर बितेको वर्ष अर्थात सन् २०२४ मा निर्माण सम्पन्न भएको अस्टिनको पशुपतिनाथ मन्दिर पुग्दा नेपालकै झल्को मिल्छ । पशुपतिनाथकै जस्तो प्यागोडा शैली, नन्दी (साँढे) भएको यो मन्दिर निर्माणले अस्टिनको नेपाली समुदाय अहिले अमेरिकाभरि निकै चर्चामा छन् । यसको निर्माणमा ग्रेटर अस्टिन नेपाली सोसाइटी लगायत समस्त अस्टिनबासी नेपाली समुदायको ठूलो साथ र सहयोग छ । तर त्यसको नेतृत्व गरेका तत्कालीन अध्यक्ष भोजराज भट्ट अझै चर्चामा छन् । सन् २००५ मा अध्ययनको सिलसिलामा अमेरिका आएका डोटी गडसेरामा जन्मेका भट्ट दुई कार्यकाल ग्यान्सको अध्यक्ष भएका थिए ।

अस्टिन नेपाली समाज (ग्यान्स) का निवर्तमान अध्यक्ष भट्टको अगुवाईमा स्थानीय समुदायले छोटो समयमै यो कार्य सम्पन्न गरेको थियो । अस्टिनको पशुपतिनाथ मन्दिर अहिले अस्टिन पुग्ने जो कोही नेपाली र हिन्दु धर्मावलीका लागि तीर्थ भएको छ । स्थानीय हुट्टो सहित वरिपरिका सिटीका मेयर, पदाधिकारीहरुसँगको समन्वयको राम्रो उदाहरण भट्टले मन्दिर उद्घाटन एवं मूर्ति प्राण प्रतिष्ठाका समयमा देखाएका थिए । हाल नेपालको धनगढी, कैलाली घर भएका भट्टको सकृयता र समर्पण यो मन्दिरका लागि निकै उच्च रहेको अस्टिनबासीहरू बताउँछन् ।

भट्टकै नेतृत्वमा अस्टिनको नेपाली समुदायले २०२२ को डिसेम्वरमा निर्माण शुरु गरेर करिब डेढ वर्षमा नै मन्दिर सार्वजनिक प्रयोगका लागि खुल्ला गऱ्यो। भट्टले आफूसँगै समुदायको बृहत् सहभागिता एवं अग्रज र पूर्व अध्यक्षहरु गेहेन्द्र केसी, देवराज न्यौपाने तथा हालका अध्यक्ष बिदुर खतिवडाको समेत सक्रिय सहयोग र सामुहिक नेतृत्वमा निकै आकर्षक पशुपतिनाथ मन्दिर मात्र बनाएनन्, अन्य कैयन नेपाली समुदायलाई नेपाली मन्दिर र सामुदायिक भवन निर्माण अभियानको निरन्तरता र सम्पन्न गर्ने हुटहुटी पनि जगाए।

टेक्ससमा मात्र होइन अमेरिकाका विभिन्न शहरमा नेपालीले मन्दिर र कल्चर सेन्टर स्थापना भएका छन् । थप बन्ने क्रममा पनि छन् । यसबाट नेपाली समुदायले आफ्नो पहिचान कायम बनाईरहने उद्देश्य मात्र होइन सामुदायिक सहयोग र सद्भाव वढाउन सहयोग पनि पुगिरहेको छ । अमेरिकाको सबैभन्दा ठुलो नेपाली बस्ती रहेको ड्यालसमा हाल संचालित मन्दिर र सामुदायिक केन्द्र संचालन र व्यस्थापनमा अग्रणी रहेको छ ।

अमेरिकामा नेपाली क्रिकेट फ्यान :
सन् २०२४ मा अमेरिकामा नेपाली राष्ट्रिय क्रिकेट टिम टी-ट्वेन्टी विश्वकप खेल्न आएको थियो । टेक्ससको ड्यालसमा भएको खेलमा अमेरिका बस्ने नेपाली क्रिकेट फ्यानले जुन उत्साहज देखाए यो उदाहरणीय थियो । ग्राण्डपेरीको क्रिकेट रंगशाला पुरै नेपाली दर्शक र फ्यानले छपक्कै ढाकेको थियो ।

अमेरिकाको विभिन्न शहरवाट नेपाली खेलाडीलाई हौसला प्रदान गर्न अमेरिका बस्ने नेपाली क्रिकेट फ्यानहरु ड्यालस पुगेका थिए । उनीहरू नेपाली झण्डा र नेपाली टिमको जर्सी लगाएर मैदान पुगे । त्यहाँ पुगेर नेपाली डायोस्पोराको गर्विलो उदाहरण पनि दिए । ड्यालस मात्र होइन अर्को खेलका लागि तोकिएको स्थल फ्लोरिडा समेत उनीहरू पुगेका थिए । मौसम प्रतिकुल हुँदाहुँदै त्यहाँ खेल नभए पनि नेपाली झण्डा लिएर फ्यानहरु मैदानमा पुगेका थिए । अमेरिकामा क्रिकेटका नेपाली फ्यान देखेर खेलाडीहरु पनि उत्साहित भएका थिए । यसलाई मुक्त कण्ठले प्रशंसा पनि गरे । ती खेलको नतिजा नेपालको पक्षमा आएन । खेलसँग जोडिएर आएका अफिसियलका कारण केही विवादहरु पनि भए । । तर, पनि विदेशमा नेपालीले आफ्नो देश र खेलाडी प्रति देखाएको उत्साह चर्चा योग्य थियो ।

चलचित्र तेलभिसाः
तेलभिसा अमेरिकामा बस्ने नेपालीले लगानी गरेको नेपाली फिल्म हो । केही साता अघि प्रर्दशनीमा आएको तेल भिसाले राम्रै चर्चा कमाएको छ । यसका लगानीकर्ता थिए अमेरिका बस्दै आएका अनिल पाण्डे र प्रिन्स युवराज कार्की । अमेरिकामा थुप्रै नेपाली कालाकारहरु स्थायी रुपमा बस्दै आएका छन् । तेलभिसाले यहाँ बस्ने कलाकारलाई पनि समेट्ने प्रयास गरेको थियो । विपिन कार्की, वर्षा राउत, ऋचा घिमिरे, बुद्धि तामाङ्ग लगायतका चर्चित कलाकारको अभिनय छ ।

सुत्केरी बुहारी स्याहार्न नेपालबाट अमेरिका पुगेकी सासुले भोगेको हण्डरका विषयवस्तुमा चलचित्र बनेको छ । यो फिल्मलाई अमेरिका मात्र नभएर विकसित देशहरू अष्ट्रेलिया, युरोपेली मुलुकमा नेपाली समुदायले भोग्नुपर्ने समस्याको कथा भनिएको छ ।
यस अघि पनि अमेरिकाका बस्ने अरू नेपालीले फिल्म बनाएका थिए । तर, तेलभिसाले जुन चर्चा कमायो यसलाई गर्विलो सफलता मान्न सकिन्छ । भविष्यमा नेपाली समुदायवाट अझ राम्रा सिनेमा बन्नेछन् भन्ने आशा गर्न सकिन्छ ।