मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रेस विज्ञप्ती / सूचना पाटी   
बोस्टन   

हेल्थ फाउण्डेशन नेपालको सहयोगार्थ बोस्टनमा कार्यक्रम गरिदै

हेल्थ फाउण्डेशन नेपालको सहयोगार्थ बोस्टनमा कार्यक्रम गरिदै


बोस्टन- अमेरिकाको बोस्टन सहरमा हेल्थ फाउण्डेशन नेपालको सहयोगार्थ कार्यक्रम गरिने भएको छ।हेल्थ फाउण्डेशन नेपाल(HFN)ले ग्रेटर बोस्टन क्षेत्रमा रहेका नेपाली भाषीहरुलाई मानसिक स्वास्थ्य सेवा पुर्याउन आवश्यक पर्ने आर्थिक सहयोग जुटाउने मुख्य लक्ष्य राखेर कार्यक्रमको आयोजना गरेको हो। कार्यक्रम आयोजक संस्था हेल्थ फाउण्डेशन नेपालले अंग्रेजी नयाँ वर्ष २०२४ शुभारम्भको अवसर पारेर प्रवासी नेपालीहरुको संस्था ग्रेटर बोस्टन नेपाली कम्युनिटी(GBNC),एनआरएनए(NRNA)मासाच्युसेट्स च्याप्टर र पशुपतिनाथ बुद्ध फाउण्डेशन अफ न्यू इंग्ल्याण्ड (PABFONE)संगको सहकार्यमा रात्री भोज तथा आर्थिक सहयोग संकलन कार्यक्रम ‘New Year Party and Charity Event-2024’ गर्न लागेको हो।

कार्यक्रम यही आउदो जनवरी ६ तारिख शनिवार साँझ अमेरिकाको बोस्टन सहरको 594 Washington Street, Braintree, MA-02184 स्थित पशुपतिनाथ बुद्ध मन्दिर रहेको प्रवासी नेपालीहरुको सामुदायिक भवनमा गरिने भएको छ। नयाँ वर्षको अवसरमा एकआपसमा आत्मीयता साटासाट गर्दै शुभकामना आदानप्रदान गर्ने, आर्थिक सहयोग संकलन गर्ने र सांगीतिक कार्यक्रममा रमाउदै सामुहिक रात्री भोज खाने कार्यक्रमको मुख्य उद्देश्यहरु रहेको आयोजकले जनाएको छ। कार्यक्रम आयोजक संस्था हेल्थ फाउण्डेशन नेपालका संस्थापक तथा अध्यक्ष डाक्टर श्रीधर पौडेलले दिएको जानकारी अनुसार, कार्यक्रमको तयारी अन्तिम चरणमा पुगिसकेको छ। अध्यक्ष पौडेलका अनुसार उक्त कार्यक्रमलाई मनोरञ्जनात्मक र उल्लासमय बनाउन नेपाली परिकारहरु समेटिएको स्वादिष्ट खानाको व्यवस्था गरिनुका साथै स्थानीय कलाकारहरुले विविध सांगीतिक कोसेलीहरु(गीत, संगीत तथा नृत्य)पस्किने भएका छन्। त्यसका लागि आवश्यक तयारी भइरहेको उनले बताए। “आफ्नो, परिवार, आफन्त, इष्टमित्र र छरछिमेककोसमेतको मानसिक स्वास्थ्यमा ख्याल गरौं” भन्ने सन्देश दिनका लागिसमेत आयोजना गर्न लागिएको उक्त कार्यक्रममा, सपरिवार सहभागी हुन सम्पूर्ण न्यू इंग्लाण्डवासी प्रवासी नेपालीहरुलाई अध्यक्ष पौडेलले संस्थाको तर्फबाट चुले निम्तोसमेत दिएका छन्।

कार्यक्रममा सहभागी हुनेहरुका लागि आर्थिक सहयोग शुल्क बापत प्रतिव्यक्ति ७५ डलर तोकिएको छ भने, विद्यार्थीहरुले ५० डलर सहयोग शुल्क तिर्नु पर्ने छ। तर, १० वर्ष मुनिका बालबालिकाहरुलाई भने निशुल्क प्रवेशको व्यवस्था गरिएको आयोजकले जनाएको छ। र, कार्यक्रममा सहभागी हुन इच्छुकहरुका लागि आफ्नो नाम दर्ता गर्न खुल्ला गरिसकिएको छ।
नाम दर्ताका लागि उपलब्ध गराइएको लिंक यस प्रकार रहेको छ । https://forms.gle/zcz1YKuVn6dwjMBR9 

हेल्थ फाउण्डेशन नेपाल स्वास्थ्य क्षेत्रमा क्रियाशिल व्यक्तित्वहरुको पहलकदमीमा आज भन्दा १० वर्ष अघि सन् २०१३ मा जन्मिएको एक मुनाफारहित सामाजिक संस्था हो। जसले नेपाल र अमेरिका दुबै देशको सरकारी निकायबाट आफ्ना गतिविधिहरु सञ्चालन गर्न स्विकृति प्राप्त गरेको छ। संस्थाको मुख्य ध्येयहरुमा: समुदायमा आधारित संस्थाहरूलाई आर्थिक तथा प्राविधिक सहयोग प्रदान गर्नु, सार्वजनिक स्वास्थ्य अनुसन्धानहरु सञ्चालन गर्नु र बृहत् प्राथमिक स्वास्थ्य हेरविचारका लागि आवश्यक प्रत्यक्ष क्लिनिकलहरु सञ्चालन गर्नु रहेका छन्। उक्त ध्येयको प्राप्तिका लागि संस्थाले आफ्नो स्थापना कालदेखि नै अमेरिका र नेपालमा स्वास्थ्य क्षेत्रमा विविध क्रियाकलापहरु गरी लक्षित वर्गहरुलाई स्वयंसेवी सेवाहरु प्रदान गर्दै आइरहेको छ।