मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   
एनआरएन विशेष   

एनआरएनए मासाच्युसेट्स च्याप्टरद्वारा आपतकालीन कोषको स्थापना

एनआरएनए मासाच्युसेट्स च्याप्टरद्वारा आपतकालीन कोषको स्थापना


अमेरिका । गैरआवासीय नेपाली संघ, अमेरिकाको मासाच्युसेट्स च्याप्टरले आपतकाली कोष (Emergency Fund)को स्थापना गरेको छ।

कुनै कारणले आपत विपतमा परेका नेपालीहरुलाई तत्कालीन अवस्थामा सक्दो केही राहत उपलब्ध गराउने मुख्य उद्देश्यले आपतकालीन कोषको स्थापना गरिएको संस्थाले जनाएको छ।

गत नोभेम्बर १९ तारिख आइतवारका दिन च्याप्टरका अध्यक्ष प्रचण्ड श्रेष्ठको अध्यक्षतामा बसेको सल्लाहकारहरुसहितको पूर्ण बैठकले यस्तो निर्णय गरेको हो। गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद, अमेरिकाका उपाध्यक्ष प्रेम तामाङको विशेष उपस्थिति रहेको उक्त बैठकले गरेको निर्णयअनुसार हाललाई उक्त आपतकालीन कोष (Emergency Fund) पचास हजार डलर राशीको हुने र सो रकम संस्थाभित्र तथा बाहिर रहेका सहयोगी दाताहरुको खोजी गरी जुटाइने लक्ष्य राखिएको छ।

च्याप्टरका अध्यक्ष श्रेष्ठले जनाएअनुसार उक्त कोष सञ्चालका लागि छुट्टै खाता खोली कोषाध्यक्षमार्फत खर्च गरिने व्यवस्था मिलाइने भएको छ। र, उक्त कोषबाट साच्चै आपतविपतमा परेकाहरुलाई तत्कालीन अवस्थामा केही हदसम्म भए पनि राहत दिने ध्येयले सहयोग स्वरुप केही रकम प्रदान गर्ने गरी आवश्यक व्यवस्था मिलाइने भएको छ।

उनका अनुसार त्यसका लागि छुट्टै समिति गठन गरेर आवश्यक अधिकारसहितको जिम्मेवारी प्रदान गरिने भएको छ।

त्यसैगरी, उक्त बैठकले विद्यार्थीहरुलाई आवश्यक पर्ने परामर्श सेवा तथा अन्य विविध सहयोगहरु उलब्ध गराउने उद्देश्यले च्याप्टरका युवा संयोजक मुकुन्द पोखरेललाई संयोजक तोकी आवश्यक अधिकारसहित जिम्मेवारी सुम्पेको छ।

सल्लाहकारहरुसहितको उक्त पूर्ण बैठकमा, कार्यसमिति र सल्लाहकारहरुका बीच आपसमा परिचय गरिनुका साथै संस्थाद्वारा हालसम्म भए गरिएका कामहरुको समीक्षा र भावी योजनाहरुका बारेमा पनि विचार विमर्श गरिएको च्याप्टरका अध्यक्ष श्रेष्ठले जानकारी दिए ।