मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एनआरएन विशेष   

म काम गर्नका लागि एनआरएनमा आएको हुँ : उपाध्यक्ष पदका आकाङ्क्षी शेरचन

म काम गर्नका लागि एनआरएनमा आएको हुँ : उपाध्यक्ष पदका आकाङ्क्षी शेरचन


गैर आवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय समिति (एनआरएनए, आइसिसि-NRNA, ICC)को आसन्न निर्वाचनमा उपाध्यक्ष पदका आकाङ्क्षी रोबिन शेरचनले, आफू काम गर्नका लागि एनआरएनएमा आएको प्रष्ट पारेका छन्। संस्थाको आगामी दुइ वर्षीय कार्यकाल(२०२३-२५)का लागि उपाध्यक्ष पदका लागि उमेदवारी घोषणा गरेर संस्थाको सदस्य तथा मतदाताहरुसंग भेटघाट गर्ने, चुनावी प्रचारप्रसार गर्ने र मत माग्ने मुख्य उद्देश्यहरु लिएर मध्यपूर्वी देशहरु दुबई, कतार, ओमानलगायतको भ्रमणका क्रममा युएई पुगेका शेरचनले यस्तो बताएका हुन्। युएईमा भएको एक कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा आफू कुरामा भन्दा काममा विश्वास गर्ने प्रस्ट पार्दै उनले भने, ‘मैले धेरै गफ गर्न जानेको छैन। कुरा थोरै काम धेरै गर्ने कुरामा विश्वास गर्दछु। त्यसैले म काम गर्नका लागि एनआरएनमा आएको हुँ।’

सम्बोधनका क्रममा हाल एनआरएनए, आइसिसिको बोर्ड सदस्यसमेत रहेका शेरचनले, मध्यपूर्वमा ठूलो संख्यामा रहेका नेपालीहरुको विविध समस्याहरु समाधानका लागि थप जिम्मवारी बहन गरी प्राथमिकताका साथ काम गर्न चाहेको र त्यसका लागि आफूले उपाध्यक्ष पदको दावी गरेको प्रस्ट्याए। लामो समय जापानमा रहेर सफल व्यवसायी तथा समाजसेवीको छवि बनाउन सफल उनले, आफू सधै मध्यपूर्व क्षेत्रमा रहेका एनआरएनएहरुसंगै रहेको बताउदै भने, ‘तपाईहरुको समस्याहरुको पहिचान र त्यसको समाधानको बाटो पहिल्याउन एवं तपाईहरुको समस्या समाधानमा तपाईहरुसंगै भएको जानकारी गराउन यहाँ आएको हुँ।’ वैदेशिक रोगजारीले नेपालमा रहेका परिवारको घरखर्च मात्र नभइ, नेपालकै अर्थतन्त्र धानेको जिकीर गर्दै शेरचनले त्यसको सट्टा बैदेशिक रोजगारीमा गएका र तिनको परिवारको भलोका लागि नेपाल सरकारले हालसम्म खास ठोस काम नगरेको भन्दै दु:खेसो पोखे। उनले भने, ‘अगुल्टो पनि नझोँसी आगो बल्दैन, त्यसैले अब हामी जागरुक हुने बेला आएको छ। तपाईहरुको आवाज हामी बोल्नेछौ। र, केही कामको सुरूवात गर्न चाहन्छौं।’

परदेशमा काम गर्ने श्रमिकहरुलाई लक्षित गरेर नेपालमा एउटा सुविधा सम्पन्न एनआरएनए अस्पताल खोल्नु पर्नेमा जोड दिदै शेरचनले त्यस कामको सुरुवात आफैले गर्ने विश्वास दिलाए।
सम्बोधनका क्रममा उनले परदेशमा रहेर आपतविपतमा परेका श्रमकिहरुको सहयोगका निम्ति एउटा ठूलो अक्षयकोष स्थापना गरेर सहयोग पुर्‍याउने प्रतिबद्धतासमेत जाहेर गरे। भेटघाट कार्यक्रमका क्रममा उनले आसन्न निर्वाचनमा आफूलाई विजयी गराइ जिम्मेवारी सुम्पेर काम गर्ने अवसर दिन मतदाताहरुलाई अनुरोध समेत गरे।

शेरचन यतिबेला ‘अपनत्व, विकास र सुदृढ पद्धतिका लागि, रूपान्तरित एनआरएनए’ भन्ने मूल नारा लिएर चुनावी मैदानमा होमिइरहेका छन्। उनले, प्राथमिक रुपमा पाँच वटा विषयलाई आफ्नो भावी योजना तथा चुनावी मुद्दाका रुपमा अघि सारेका छन्। उनले अघिसारेका ति प्राथमिक चुनावी मुद्दाहरूमा : संस्थागत गरिमा उच्च राख्दै संस्थागत वर्तमान पद्धतिमा रूपान्तरण गरी प्रभावकारी कार्ययोजना बनाउने, नेपाल भित्रिने रेमिट्यान्सलाई उत्पादनमूलक क्षेत्रमा लगानी गर्न वातावरण तयार गर्ने, लगानीको सुरक्षा गर्दै सबै खाले आय भएका एनआरएनएहरुलाई समेटेर लगानीमा अभिवृद्धि गर्ने, सामूहिक अक्षय कोषको स्थापना गरी समस्यामा परेका एनआरएनएहरुलाई राहत प्रदान गर्ने र विविध कारणले एनआरएनएमा आवद्ध नभएका सक्षम जनशक्तिहरुलाई संस्थामा आबद्ध गराएर नेपालको अर्थतन्त्र र विकासलाई सहयोग पुर्याउने रहेका छन्।