मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विचार / ब्लग    

‘आधा मन’ले प्रवासमा बाँच्ने पूरा मनकी नेपाली – बिटु केसी

‘आधा मन’ले प्रवासमा बाँच्ने पूरा मनकी नेपाली – बिटु केसी

सुजन पण्डित

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

आधा मन स्वदेशमै आधा यहाँ बाँचेकोछु,
मुटु भित्र नेपालको माया साँचेकोछु।

कसले भन्छ मान्छे बाँच्न मुटु सहितको सिंगो शरीर मात्र काफी छ भनेर? भौतिक शरीर भन्दा धेरै त मान्छे मनले बाँचेको हुन्छ जस्तो लाग्छ। मन बाँचेको छ र त मान्छेलाई बाँचे जस्तो अनुभव दिन्छ। त्यो पनि नेपाली मनले बाँच्नु सगरमाथालाई सिरानी हालेर बाँच्नु जत्तिकै हो।

त्यसैले त गीतकार बिटु केसी आधा मन अमेरिका र आधा मन नेपाल हुँदा पनि बाँचेंकी छन्। अझ धेरै बाँचेंकी छन्, गीतमा, मुक्तकमा, कथामा अनि सामुदायिक पत्रकारितामा। साहित्यकार, गीतकार एवं पत्रकार बिटु केसी हिमालय खबरले दुई वर्ष अघि सार्वजनिक गरेको उनको गीत ‘आधा मन’ का प्रत्येक शब्द मार्फत अमेरिका प्रवासमा भावनाको नेपाल लिएर बाँचिरहेकी एक प्रतिनिधी नेपाली हुन्। ‘एक पटकको नेपाली संधै नेपाली’ कसैले भनिरहनै पर्दैन। उनका प्रत्येक अक्षरले नेपाल मात्र त बोलिरहेछन्। सिंगो नेपाल बोकेर आधा मनले बाँचिरहेको अमेरिकी भोगाई त हो आधा मन। परदेशमा नेपाल फर्कने हुट्हुटी त पोखिएका छन् उनको गीतमा।
बिभिन्न परिस्थितिले परदेशमा रहेका लाखौं नेपाली मनको बोली हो, गीतकार केसीको ‘आधा मन’ शिर्षकको आशिश गुभाजुको स्वर र अनिल शाहीको संगीतमा सजिएको देशप्रेमले ओतप्रोत गीत। हो, प्रत्येक नेपाली प्रावासमा शरीर मात्र सिंगो लिएर बाँचेको हुन्छ, उसको मन त आधा मातृभूमि मै हुन्छ। मुटु भित्र नेपालको माया साँचेकैले त गीतकार केसीको कलमबाट यति शसक्त नेपाल-प्रेम लेखिएका हुन्। गीतकार केसीको ‘आधा मन’ उनको मात्र कथा होइन, यो त बिदेशिएका लाखौं नेपालीको व्यथा हो। गीतकारले शब्दहरुमा देश समेटीकी छन्। भावनामा नेपाल बाँचेकी मात्र छैनन्, नेपाल फर्कने उत्कट चाहना यसरी राखेकी छन्-
फर्कि जाने जन्मभूमि, मेरो एउटै धोको
बिसाएर भारी मनको फुकाउने छु पोको’।

हो नि, आफ्नो जन्मभूमि फर्कि जाने धोको कसलाई पो हुँदैन र?

मन फुकाएर हाँस्न, दिल खोलेर रमाउन समेत अवसर पर्खनु पर्ने प्रवासी नेपालीहरुको समग्र भावना छचल्किएको ‘आधा मन’ मा गीतकारका शब्दहरुले चाड्पर्व र विशेष अवसरमा स्वदेशमा हुन नपाउँदाको बेदना पोखिरहे झैं लाग्छ। गीत सुनिरहँदा बिटु केसी होइन आफैं गीतको बहावमा बगिरहे झैं लाग्दो रे’छ। उनको गीतको यो पंक्तिमा हामी सबै परदेशिएकाहरु नै त बोलिरहेका छौं-

‘हाँस्दा हाँसो भित्र कतै अड्किए झैं लाग्छ
बिराएर बाटो कतै भड्किए झैं लाग्छ’।

परदेश चाहना होइन, यो त अधिकांशको बाध्यता हो। बाध्यता सहित परदेशिएकाहरुले देश बाँच्ने भनेकै भावनामा हो, मनमा हो। मनमा नेपाल बोकेर बसेका परदेशिएकाहरुप्रति बेला बखत आउने ‘भूतपूर्व’ टिप्पणीले घाइते नेपाली मन पोखिए पछि जन्मन्छ, गीतकार केसीका झैं सशक्त देशप्रेमको गीत ‘आधा मन’।

देशमा हुनेहरु भ्रष्टाचारमा पोखिन्छन् र शुशासनमा रमाउने चाहना राख्छन्। देश मैं बस्छन् र देशहित बिरुद्द एकजुट् हुन्छन् र संधै मिडियामा छाउॅछन्। तर परदेशिएकाहरु कहाँ पोखिने? कहाँ रमाउने? उनीहरुका लागि रमाउने, पोखिने ठाउॅ भने कै उनीहरुका साहित्यिक रचना र सृजना हुन्।

अमेरिकाका दक्षिणी राज्य टेक्ससको ह्युस्टनलाई कर्मथलो बनाएर नेपाली भाषा, संस्कृति र साहित्य प्रवर्द्धनमा लागेकी गीतकार केसी त्यसैले त जताततै नेपाल बाँचेर पोखिएकी छन्- आधा मनमा। नेपाल पर रहँदा बिरहमा तड्पिने लाखौं नेपाली मन झैं केसीका मन यसरी तड्पिएको छ-

बिरहले तड्पाउने परदेश यो ठाउँ रै’छ
संधैभरी बिझाउने परदेश त घाउ रै’छ

प्रवासमा बस्ने सबै नेपाली भावनामा नेपाल बाँच्छन् र देश फर्कने सुनौलो दिनको पर्खाइमा हुन्छन्। कुनै दिन त आउला, आफ्नै मातृभूमि फर्कने! मातृभूमि फर्कने उत्कट चाहनालाई गीत मार्फत यसरी पोखेकी छन् गितकार केसीले-

त्यो पलको मिलनलाई साँची राखेको छु
त्यसैले त यो मनलाई बाँधी राखेको छु।

आधा मन लिएर प्रवासमा बाँचिरहेकी गीतकार बिटु केसी र उनकी श्रीमान बरिष्ठ पत्रकार तारा बराल आफ्नो दुई दशक लामो अमेरिका बसाइलाई बिट मार्दै अर्को साता स्थायी रुपमा नेपाल फर्कंदै हुनुहुन्छ। आधा मन लिएर प्रवासमा बसिरहेको उहाँहरुको जोडी अब पुरा मनले नेपाल बस्न जाँदै  हुनुहुन्छ।

उहाँहरु जस्तै लाखौं नेपालीहरुलाई सिंगै मन सहित स्वदेशमा बाँच्ने रहरले एकदिन कसो सार्थकता नपाउला ? र, त्यो दिन केसीको कलमले लेख्ने छ-

सिंगै मन र शरीर सहित स्वदेश मै बाँचेको छु
मुटु भित्र नेपाल र नेपालीको माया साँचेको छु।

हार्दिक सम्मान एबम बिदाइ कार्यक्रम: तारा बराल / बिटुकेसी
हार्दिक सम्मान एबम बिदाइ कार्यक्रम: तारा बराल / बिटुकेसी