मुल विषयमा पस्नु अघि केही वर्ष अघिको एउटा सन्दर्भ । त्यो घटना सम्झिँदा ड्यालस फोर्टवर्थका नेपाली समुदायको दाँतमा अहिलेसम्म पनि ढुङ्गा लाग्छ । नेपाली चलचित्रमा ‘सदावहार नायक’ नाम दिइएका कलाकारलाई अतिथि बनाएर एउटा कार्यक्रम भयो । त्यस कार्यक्रममा उनले ल्याएका एउटा नेपाली फिल्मको कम्प्याक्ट डिस्क (सिडी) हाताहाती बिक्री भयो । हलबाट उत्रिसकेको, तर युटुबमा चाँही रिलिज नभैसकेको फिल्मको त्यो सिडीको माग यति भयो कि कलाकार, उनका सहयोगीलाई भ्याई नभ्याई भयो । सिमित प्रति ल्याइएका कारण स्थानीय रुपमा कपी गरेर बेचियो । त्यही कपी पनि हारालुछ भयो । त्यतिखेर धेरै नेपाली प्रोग्रामहरु नहुने अवस्थामा हुलका हुल कलाकारहरु भएपछि दर्शकहरुको उपस्थिती पनि उल्लेख्य थियो ।
किनेको सिडी घर लगेर जब मानिसहरुले हेर्न खोजे त्यो त रित्तो चक्का मात्र थियो । सिडीमा फिल्म त छाडौँ कुनै कन्टेन्टनै थिएनन् । एकजनालाई त्यस्तो खाली सिडी परेको होइन । दुईजनालाई मात्र पनि होइन । तीनजनालाई मात्र पनि होइन । कपी गरिएका सिडी किन्ने दर्जनौलाई प¥यो त्यस्तो ।
कलाकारहरुले ड्यालस छाडिसकेका थिए । रकम फिर्ता माग्न कहाँ जाने ? त्यो पनि जाबो २० डलरका लागि के किचकिच गरिरहनु ? धेरैले यही सोचेर चुप लागे । त्यो घटनापछि ती सदाबहार नायक ड्यालस आउँदा सर्वसाधारणले वास्ता गर्न छाडे । विगतमा हजाराैँ डलर तिरेर ल्याउने आयोजक समेत उनको नाम सुन्नासाथ नाक खुम्च्याउन थाले । उनी ड्यालस आएर कल गर्दा समेत समाजका प्रतिष्ठितहरुले फोन उठाउन छाडे । हिजो आज पनि उनी अमेरिका आउँछन् । तर ड्यालस झर्दैनन् । किनकी उनलाई नत इज्जत गर्नेहरु छन्, नत उनी भनेर मरिहत्ते गर्नेको इज्जतनै उनले राखिदिए ।
नेपाली सिनेमा र कलकारका कुरा गर्ने हो भने अमेरिकामा यस्ता दर्जनौ घटना, किस्सा, कहानी छन् । तर इज्जत प्रतिष्ठा बढ्ने तिर कुनै योगदान नगरेकैले होला शायद कलाकारहरु आउँछन्, जान्छन् कसैले वास्ता गर्दैनन् ।
सरोज सुब्बा नाम गरेका एक निर्माताले भुटानी समुदायको भावनामाथि त्यस्तै खेलबाड गरे । नेपाली भाषाको फिल्म बनाउने भनेर रकम लिएर उनी बेपत्ता भए । उनी वेपत्ता भएको पाँच वर्ष भैसक्यो । जीवनका केही दशक मात्र नेपाली भूमिमा बिताएका अमेरिकाका भुटानी समुदायले नेपाली फिल्ममा लगानी गरेर नेपाललाई गुन लगाउने प्रयासमा हलुवामा बालुवा पर्यो ।
नाम चाँही सार्वजनिक नगरौं । धेरै कलाकारिता गर्ने, थोरै पत्रकार हुँ पनि भन्ने एकजना अमेरिका आउँदा नाकमा फुली लगाउने ठाउँको संकेत गर्दै ‘यतातिर यस्तो चिज कहाँ मिल्छ ?’ भनेर सोधेको घटनालाई सम्झँदा अहिले पनि स्थानीय नेपालीहरु जीब्रो टोक्छन् । त्यो घटनापछि उनी अमेरिका त बारम्बार आइरहन्छन् । तर न उनीप्रति पहिले जस्तो क्रेज छ, नत त उनलाई कोही आयोजकले बोलाउँछन् । पहिल्यै भीसा भएकोले अमेरिका त आउँछन् । तर उनी भनेर फोटो खिचाउन पहिलेजस्तो मरिहत्ते गर्ने कोही भेटिदैनन् ।
अहिले यस्तो भैसक्यो कि व्यक्तिगत र पारिवारिक भेटघाटका लागि कलाकारहरु आएपनि कार्यक्रम गर्नेतिर कसैले चासो देखाउँदैनन् । हुँदाहुँदा सम्मानित र स्थापित आउँदा समेत मानिसहरुले चासो देखाउन छाडेका छन् । केही महिना अघि कलाकार नीर शाह, शम्भुजीत बास्कोटा आउँदा पनि जुन रुपले प्रोग्राम हुने विगतको चलन थियो त्यो हुन सकेन ।
कुनै बेला नेपाली सिनेमा मात्र नभएर टेलिसिरिएलहरुमा ठूलो देखि सानो भूमिका निर्वाह गरिरहेका अधिकांश कलाकारहरु अमेरिकामा भेटिन्छन् । के नायक, के नायिका, खलनायकदेखि लिएर चरित्र अभिनेता, बाल कलाकारदेखि लिएर पर्दामा नदेखिने क्यामराम्यान, मेकअपम्यान समेत अमेरिकामा छन् । उत्तरमा कनेक्टिकटदेखि दक्षिणमा ड्यालससम्म, पूर्बमा न्यूयोर्कदेखि पश्चिमको सानफ्रान्सिस्कोसम्म नेपाली कलाकार नभेटिने कुनै ठाउँ छैन । सूचना प्रविधिमा काम गर्नेदेखि लिएर स्टोरमा काम गर्ने, १८ चक्के ट्रक चालकदेखि लिएर बैंकर्ससम्म छन् । पसल खोल्नेदेखि लिएर पार्लर चलाउनेसम्म छन् । तर जे जति पेशा र व्यबसायमा छन् ती सबै सुखी र खुशी नै देखिन्छन् । सबैले अमेरिका आउनुको ध्येय पुरा गरेकै भेटिन्छन् । अर्थात अमेरिका आउनुको मुख्य ध्येय आर्थिक प्रगति हाँसिल गर्नु हो । जुन लक्ष्यलाई धेरैले भेटिसकेका छन् ।
अब मुल सन्दर्भमा जाउँ ।
नेपाली चलचित्रलाई अमेरिकामा प्रवद्र्धन गर्ने उद्वेश्य राखेर बिभिन्न खाले कार्यक्रमहरु भैरहन्छन् । हरेक वर्ष नेपाली चलचित्रका नाममा अमेरिकामा कम्तिमा दुईवटा बिरालो बाँधेर श्राद्ध गर्ने कार्यक्रमहरु भैरहेका हुन्छन् । गत सप्ताहन्तमात्र न्यूयोर्कमा एउटा त्यस्तै खालको कार्यक्रम भयो । अघिल्लो महिनानै ड्यालसमा हुनेगरि तय भएको ११ औं नेफ्टा अवार्ड रोकिएर यहि सेप्टेम्बर ४ तारिक हुने भनेर आयोजकहरुले भनिरहेका छन् ।
अमेरिकामा हुने कार्यक्रमले नेपाली चलचित्रको कथा, गुणस्तर, प्रविधि र बजारको विस्तारमा कति योगदान पुग्यो भनेर नत मुल्यांकन नै हुने गरेको छ । नत सुधारनै । दावी अनेक गर्न सकिएला । नत सत्य एउटै के हो भने नेपाली चलचित्रको बजार अहिले पनि नेपालमात्रै हो । औपचारिक डाटा अनुसार अमेरिकामा अढाई लाख भनिएपनि नेपालीभाषी भुटानी समुदायलाई समेत गणना गर्ने हो भने पाँचलाखको हाराहारीमा नेपालीहरु अमेरिकामा छन् ।
यी पाँचलाख नेपालीहरु फेरि एउटै राज्य, एकै शहरमा मात्र छैनन् । अमेरिकाका ५० वटै राज्यहरुमा छरिएर प्रशान्त महासागरबीचको हवाई टापु देखि लिएर क्यानडा छेउको मेइनसम्म छन् । अधिकांशको कामबाट छुट्टी भनेको शनिबार र आइतबार मात्र हो । एकातिर छरिएको समुदाय, अर्कोतिर हप्तामा एक वा दुई दिन छुट्टीका बीच कति जना नेपाली फिल्म हेर्न थिएटरसम्म पुग्लान् ?
न्यूयोर्क, ड्यालस, सानफ्रान्सिस्को, लसएन्जल, ह्युस्टन, डेनभर जस्ता बढी घनत्व भएका शहरहरुमा बढीमा चार शोसम्म नेपाली फिल्म लाग्लान् । तर युटूब, नेटफ्लीक्स, अमेजन प्राइम, हुलु जस्ता ओटीटी प्लाटफर्मले बजार पिटिरहेको समयमा हलमै गएर कतिले हेर्लान् ? यो बडो विचारणीय पक्ष हो ।
फिल्म फेस्टिभलका नाममा हुने कार्यक्रमहरुमा नत यस बारेमा कुनै वहशनै हुन्छ । नत समाधानको लागि प्रयासनै । गत वर्ष एसोसिएसन अफ नेप्लिज इन अमेरिकाज (एएनए) ले ड्यालसमा साधारण सभाको अवसरमा नेपाली फिल्मका बारेमा एउटा अलग्गै सेसन राखेको थियो । सेसनमा अमेरिकामा रहेका नेपाली चलचित्रकर्मीहरु (वास्तवमा चलचित्रकर्मी भन्दा पनि पूर्ब चलचित्रकर्मी भन्नु ठीक हुनेछ।) ले पनि नेपाली फिल्मको अन्तर्राष्ट्रियकरणका लागि न कुनै ठोस उपाय सुझाउन सके । नत योजनानै । राम्रो कथाको अभाव, प्रविधि समयानुकुल गर्न नसकिएको जस्ता सतही सुझाव भन्दा अरु केही आएनन् ।
म त दावी साथ भन्छु–वास्तवमा नेपाली फिल्महरु अन्तर्राष्ट्रिकरण हुन अझै आधा शताव्दी लाग्छ । अहिले हलिउड र बलिउडले अपनाएको प्रविधि, यिनका कल्पनाशीलता, यिनको आक्रामक बजार बुझ्ने ल्याकलका नेपालीनै छैनन् । नेपालीहरुको दोस्रो, तेस्रो पुस्ता जब अमेरिका, युरोप, अष्ट्रेलिया, जापानमा देखिन्छन् त्यतिखेरसम्म नेपाली फिल्मले पर्खिनुनै पर्छ ।
नेपालबाट कलाकार ल्याएर स्टेजमा नचाउने, क्याटवाक गराउने, एकले अर्काको फिल्म सर्वोत्कृष्ठ भन्दै आफैँ अवार्ड बाँड्ने अनि आफै अवार्ड थाप्ने परिपाटीले नेपाली फिल्मको विकास होइन अधोगतिमा सघाउ पुर्याएको छ ।
बिक्रम सम्वतको ४० को दशकका भुवन केसी, शिव श्रेष्ठ, कृष्ण मल्ललाई बिजनेस क्लासको हवाई टिकटमा अमेरिका ल्याएर नेपाली चलचित्रको प्रवद्र्धन कदापी हुँदैन । न्यूयोर्कको ब्रुकलिन ब्रिजमा लम्पसार परेर सुतेको तस्विर सामाजीक सञ्जालमा पोष्ट्याएर, कसैको घरमा गएर भात खाएको अनि व्याकयार्डमा खिचेको फोटो इन्स्टामा राखेर पनि नेपाली फिल्मले कुनै फड्को मार्छ भन्नेमा म रत्तिभर विश्वास राख्दिन ।
सन् १९९० को दशककी हट नायिका बिना बुढाथोकीको सकृयतामा जापानमा नेपाली फिल्म फेस्टिबल सुरु भएयता धेरै देशमा भैसके यस्ता फेस्टिबल । सधै विवादको घेरामा पनि पर्दै आएको छ । ‘चलचित्र क्षेत्रको तीन दशकको मेरो अनुभवमा यस्ता कार्यक्रमले नेपाली फिल्मको प्रवद्र्धनमा कुनै योगदान पुगेको महसुस गर्न पाएको छैन’ हाल अमेरिकामै रहेका एक चलचित्रकर्मीको यो प्रतिकृयाले पनि धेरै कुरा बोेलेको छ । उनका अनुसार यस्ता कार्यक्रम गरेर बालुवामा पानी हाल्नुको साटो अमेरिकाकै नेपाली समुदायको विषयवस्तु माथि फिल्म बनाउने, यहाँ गर्ने खर्चले नेपालमा फिल्म बनाउने हो भने बरु त्यसबाट योगदान पुग्छ । कलाकारका नाममा भीडलाई बिजनेस क्लासको टिकट, महंगो होटलका कोठाहरु दिएर कार्यक्रममा लागि ल्याउँदा अहिलेसम्म उपलव्धि शून्य देखिएको छ ।
कार्यक्रमहरुबाट एकातिर उपलव्धि हातलाग्यो शून्यको अवस्था छँदैछ । अर्कोतिर आयोजकहरुले पाउने अवगालको महाभारत त्यस्तै छ ।
कार्यक्रम गर्दा लाग्ने खर्च जुटाउन, अवार्डका लागि कलाकार छनौट गर्न निकै गाह्रो पर्ने अनुभव एक आयोजकले सुनाए । केही वर्ष अघि उनले कार्यक्रम आयोजना गर्न पहल गरेका थिए । तर तार नलाग्ने देखेपछि दुई महिना अघि उनले कार्यक्रम स्थगित गरेका थिए ।
‘मेरो भाईले यो फिल्ममा सानो भूमिकामा खेलेको छ । उसलाई नवोदित प्रतिभाको रुपमा अवार्ड दिने भए म २० हजार डलर सहयोग गर्न तयार छु’ अमेरिकाका एकजना नेपाली व्यबसायीबाट यस्तो प्रस्ताव आएको भन्दै उनले विगत सम्झिए ।
कार्यक्रमको अवधारणा बनेदेखि विवाद सुरु हुन्छ । को कलाकारलाई निम्तो पठाउने ? कस्लाई अवार्ड दिने ? कस्लाई बिजनेस क्लासको टिकट दिने ? को सँग कति डलर उठाउने ? भन्नेदेखि पाइला पाइलामा विवाद सुरु हुन्छन् । कलाकारको आवरणमा जथाभावी मान्छेहरु ल्याएर मानव तस्करी गर्न खोजेको आरोप समेत आयोजकले खेप्नुपर्छ । गत महिनानै ड्यालसमा हुनुपर्ने नेफ्टा अवार्डका विषयमा यस्तै आरोप लागेपछि आयोजक स्वयम्ले काठमाडौं स्थित प्रहरी प्रधान कार्यालयलाई पत्र लेखेर ध्यानाकर्षण गराएको थियो । (हेर्नुहोस्–आयोजकले प्रहरीलाई अनुसन्धानका लागि लेखेको पत्र ।)
तर विगतमा भएका यस्ता खालका कार्यक्रमहरुमा कलाकारको भेषमा आएकाहरु ओभरस्टे भएका दर्जनौ दृष्टान्तहरु रहेका कलाकारहरुनै स्विकार गर्छन् । आफै फिल्म निर्माण गर्ने, त्यो फिल्ममा आफ्ना मान्छेहरुलाई कलकार राख्ने अनि त्यही फिल्मलाई मनोनयनमा पारेर कुनै विधामा उत्कृष्ठ कलाकारको नाममा अवार्ड लिनका लागि अमेरिका ल्याउने प्रपञ्च लामो समयदेखि हुँदै आएका छन् । बिना बुढाथोकीको जापानदेखि लिएर बेलायत, अष्ट्रेलिया, अमेरिकामा हुने यस्ता कार्यक्रमको सर्वसाधारणले भेउ नपाउने एउटा मानव तस्करीको धन्दा लामो समयदेखि फस्टाइरहेको छ ।
नेपाली चलचित्र प्रवद्र्धनका लागि एक पेनीको योगदान नपुग्ने यस्ता कार्यक्रमका लागि मरिहत्ते गर्नुको उद्वेश्य के हो त भन्ने तथ्य अब छर्लङ्गै भैसकेको छ । टेलिभिजन कार्यक्रम ‘रजतपट’ का प्रोड्युसर प्रकाश सुवेदीले देश बाहिर हुने यस्ता कार्यक्रमलाई ‘नौटंकी’ भन्दै पछिल्लो एपिसोड बनाएका थिए । तर कार्यक्रम अन–एअर भएको पर्सीपल्ट नेफ्टा अवार्ड हुने विषयमा कुनै टुङ्गो नभएको अवस्थामा त्यसका लागि भन्दै शनिबार सानफ्रान्सिस्को अन्तर्राष्ट्रिय विमानस्थलमा सपत्नी उत्रिएका छन् ।
कार्यक्रमको विषयमा कुनै टुङ्गो नभएपनि उनी आयोजकले उपलव्ध गराएको बिजनेस क्लास टिकटमा अमेरिका झरेका छन् । गत साता न्यूयोर्कमा भएको अवार्ड कार्यक्रमका विषयमा धज्जी उँडाएको एसिसोड पुरानो नहुँदै उनी अर्को ठेगान नभएको कार्यक्रमका लागि भनेर आइपुगेका छन् ।
नेपाली फिल्म प्रवद्र्धनका खातिर भन्दा पनि कलाकारका निम्ति विदेश पनि घुम्ने, मुख पनि फेर्ने वहाना मात्र हुने गरेको छ । नत्र तीन दशकदेखि लगातार हरेक वर्ष भएका यस्ता मेला, महोत्सवले नेपाली फिल्मको बजारीकरणमा खै त बल पुगेको ? खै त फिल्मका कथाहरु अन्तर्राष्ट्रिय स्तरका लेखिएका ? खै त आधुनिक प्रविधिलाई कलिउडले अपनाएको ?
नेपाली चलचित्र उद्योगका लागि न कुनै योगदान दिनसक्ने, न कुनै नयाँ विचार दिन सक्ने यस्ता फोकटिया, अपजसपूर्ण, विवादमा पर्ने कार्यक्रम गर्नुभन्दा आयोजकहरुलाई मेरो सुझाव–अमेरिकामै रहेका नेपाली कलाकारहरुलाई भूमिका दिएर स्तरीय नेपाली फिल्म बनाउनुस् । अमेरिकाकै ठूला नेटवर्क भएका थिएटरहरु, जहाँ नेपाली समुदायको वस्ती छ त्यहाँ नियमित चलाउन प्रयास गर्नुस् । बरु यसबाट नेपाली चलचित्र उद्योगलाई गुन लाग्छ । बजार प्रवद्र्धन हुन्छ ।
पैसानै खर्च गर्न मन छ भने नेपाली फिल्म बनाउन लगानी गर्नुस् । स्तरीय कथा–पटकथामा लगानी खन्याउनुस् । नेपाल चलचित्र विकास बोर्डको ५ लाख रुपैयाँ अनुदान लिएर अमेरिका, युरोप, जापान, अष्ट्रेलियामा हुने फिल्म फेस्टिबलले एक सुकाको पनि योगदान पुग्दैन ।
प्रतिक्रिया