बोस्टन । गैरआवासीय नेपाली संघ (एनआरएनए), राष्ट्रिय समन्वय परिषद्, अमेरिकाको नेतृत्वको बागडोर सम्हाल्नका लागि चुनावी मैदानमा होमिएका डिलुराम पराजुली नेतृत्वको उमेदवारहरुको मासाच्युसेट्स राज्यको बोस्टनमा चुनावी भेटघाट कार्यक्रम सम्पन्न भएको छ।
एनआरएनए, आइसिसी अमेरिकाज क्षेत्रकी महिला संयोजक तृष्णा शर्मा काफ्लेको प्रमुख आतिथ्यता तथा सामाजिक व्यक्तित्व विजय शर्माको अध्यक्षता रहेको कार्यक्रम जुलाई १८ तारिख पशुपतिनाथ बुद्ध फाउन्डेसन अफ न्यू इंग्लैण्ड (प्याब्फोन)को सामुदायिक भवनमा सम्पन्न भएको हो ।
एनसिसी, अमेरिकाको वर्तमान कार्यसमितिका उपाध्यक्ष तथा आसन्न निर्वाचनमा अध्यक्ष पदका प्रत्याशी पराजुली र उनी समर्थक उमेदवारहरु परिणामउन्मुख योजना, निरन्तरता, प्रतिबद्धता र सहकार्य अहिलेको आवश्यकता भन्ने मूल नाराका साथ चुनावी प्रचारप्रसारको दौडाहाका क्रममा बोस्टन आइपुगेका हुन्।
भेटघाट कार्यक्रमकी प्रमुख अतिथि तृष्णा शर्मा काफ्लेले कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा एनआरएनए सारै राम्रो र गैरआवासीयहरुका लागि नभै नहुने संस्था भएको जिकिर गर्दै भनिन्,ु यो एनआरएनए यति राम्रो संस्था, हामीलाई नभै नहुने संस्था हो। तर, संस्था खराब छैन। कतिले संस्थालाई गाली गर्नु हुन्छ। व्यक्ति, यहाँ गुट उपगुटले गर्दा यस्तो भैरहेको छ।
संस्थाको स्थापना कालको संघर्षहरुलाई स्मरण गर्दै प्रमुख अतिथि काफ्लेले संस्थामा केही पाउने भन्दा पनि केही योगदान दिने उद्देश्यका साथ अघि बढ्न सबैलाई सुझाइन्। कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले संस्थाले गरेका राम्रा कामहरुको उल्लेख गर्दै चुनावमा होमिएका सम्पूर्ण उमेदवारहरुलाई सफलताका लागि शुभकामनासमेत व्यक्त गरेकी थिइन्।
हरिप्रसाद काफ्लेले सञ्चान गरेको मतदाता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै एनसिसी, अमेरिकाको अध्यक्ष पदका लागि प्रत्याशी डिलुराम पराजुलीले आफू संस्थाको हितका खातिर इमानदारिता र निष्ठापूर्वक सोझोमनले अभियानमा हिँडिरहेको जिकिर गरे।
आफू उपाध्यक्ष रहेको वर्तमान कार्यसमितिले विविध उतारचडाकाबिच पनि संस्थाको सदस्य संख्या १५ हजारभन्दा बढी बनाउन सफल भएको, संस्थाको भौतिक सचिवालय स्थापना गरिएको, कोभिड महामारीका बखत नेपाललाई उल्लेखनीय सहयोग उपलब्ध गराएको, अमेरिकामा मृत्यु वरण गरेका १५ जना भन्दा बढी नेपालीहरुको अन्तिम श्रध्दाञ्जलीका लागि र परिवारका लागि सक्दो सहयोग गरेको लगायत धेरै राम्रा कामहरु गरेको उनले स्मरण गरे।
पराजुलीले आफूसंगै अध्यक्ष पदका लागि प्रत्याशी रहेका डाक्टर अर्जुन बन्जाडेले गत निर्वाचनमा पराजित भएपछि संस्स्थाको हित विपरित समान्तर संस्था खोल्न योगदान गरेको, संस्थाले सञ्चालन गरेका कामहरु तथा अभियानमा कुनै योगदान नपुर्याएको र अहिले आएर अध्यक्ष पद दाबी गरिरहेको आरोप लगाए। आफू पदका लागि नभै संस्थाको अभियानमा जोडिएको र संस्थाको साख गिराउने कुनै पनि काम आफूबाट नभएको दावी गर्दै पराजुलीले त्यस्तो कुनै प्रमाण देखाए आफू प्रतिपर्धाबाटै बाहिरिने बताए।
कार्यक्रमलाई सम्बोधन गर्दै उनले चुनावी अभियानका दौरानमा आफूले जारी गरेको २१ बुँदे घोषणापत्रलाई पुरा गर्ने प्रतिबद्धता समेत जाहेर गरे। मतदाताहरुले आसन्न निर्वाचनमा स्वविवेक प्रयोग गर्ने, कामको मुल्याङ्कनका आधारमा नेतृत्व चयन गर्ने र आफू र आफू नेतृत्वको समूहप्रति न्याय गर्ने पराजुलीले विश्वास व्यक्त गरे।
कार्यक्रमलाई सम्बोधन गर्दै वर्तमान कार्यसमितिका महासचिव तथा आसन्न निर्वाचनमा वरिष्ठ उपाध्यक्ष पदका प्रत्याशी अन्जनकुमार चौलागाईले संस्थाको उज्वल भविश्यका लागि उमेदवारहरुको गुण र दोषका आधारमा मतदान गर्न मतदाताहरुलाई आग्रह गरे। उनले आफूले उमेदवारी दिएको पदका लागि आफू भन्दा सक्षम आफ्नो प्रतिस्पर्धी रहेको लागेमा आफूलाई नभै प्रतिस्पर्धीलाई नै मतदान गर्न मतदाताहरुलाई अनुरोध गरे।
भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै क्षेत्रीय संयोजक पदका प्रत्याशी शिव बानियाँ, आइसिसि सदस्य पदका प्रत्याशी उत्तम कार्की, महिला उपाध्यक्ष पदकी प्रत्याशी सुन्दरी गुरुङ, युवा उपाध्यक्ष पदका प्रत्याशी अनुप खनाल, महासचिव पदका प्रत्याशी रामहरी अधिकारी, सचिव पदका प्रत्याशी एक देव शर्मा, महिला सचिव पदका प्रत्याशी उर्मिला श्रेष्ठ, महिला संयोजक पदकी प्रत्यासी मुना तिवारी लगायतले आफू र आफ्नो समूहका सम्पूर्णउमेदवारलाई विजयी गराउन मतदाताहरुलाई अनुरोध गरेका थिए। पूर्वआइसिसि सदस्य विष्णुमान प्रधान तथा कार्यक्रमका अध्यक्ष विजय शर्माले संस्थाको बारेमा चर्चा गर्दै सबै उमेदवारहरुलाई सफलताका लागि शुभकामना व्यक्त गरेका थिए।
अध्यक्षका प्रत्याशी पराजुलीले जुन १० तारिख शनिवारका दिन आफ्नै गृह राज्य केन्टकीमा एक औपचारिक कार्यक्रमको आयोजना गरी उमेदवारी घोषणा गरेका थिए। उनले आफ्नो उमेदवारी घोषणाका क्रममा गैर आवासीय नेपाली नागरिकताको उपलब्धतालाई सहज बनाउन र वंशजको आधारमा नेपाली नागरिकता दिलाउन पहल गर्ने, अमेरिकामा रहेका सम्पूर्ण नेपालीहरुको एकिन विवरण तयार पार्ने र उनीहरुलाई सक्दो सहयोग गर्ने, अमेरिकी सरकारसंग सहकार्य गर्ने, नेपाली र अमेरिकी स्थानीय निकायहरुका बिच समन्वय गराउन पहल गर्ने, नेपाल र नेपालीलाई सहयोग जुटाउने लगायत विषयहरु समेटिएका २१ बुँदे चुनावी घोषणापत्र समेत जारी गरेका थिए।
आफ्ना चुनावी नारा र मुद्धाहरुमा साथ दिने उमेदवारहरु र समर्थकहरुको साथ लिएर चुनावी मैदानमा होमिएका पराजुली चुनावी अन्तिम प्रचारप्रसारको चरणमा जुटिरहेका छन्। उनको नेतृत्वमा चुनावी मैदानमा उत्रिएको समूहमा वरिष्ठ उपाध्यक्ष पदमा लागि अन्जनकुमार चौलागाई, उपाध्यक्ष पदका लागि राजिव श्रेष्ठ, सन्तोष पहरी, राज ढुंगाना र भानु खरेलले उमेदवारी दिएका छन्। त्यसैगरी, महिला उपाध्यक्ष पदका लागि सुन्दरी गुरुङले र युवा उपाध्यक्ष पदका लागि अनुप खनाले उमेदवारी दिएका छन्।
पराजुली नेतृत्वको समूहका तर्फबाट महासचिव पदका लागि रामहरि अधिकारी, सचिव पदका लागि एक देव शर्मा, महिला सचिव पदका लागि उर्मिला श्रेष्ठ, कोषाध्यक्ष पदका लागि सरोज सिक्देल र सह कोषाध्यक्ष पदका लागि रविसिंह बस्नेतले उमेदवारी दिएका छन् भने मुना तिवारीले महिला संयोजक पदका लागि र बिकी थापाले युवा संयोजक पदका लागि उमेदवारी दिएका छन्। उनी जस्तै अध्यक्ष पदका अर्का प्रत्याशी डाक्टर अर्जुन बन्जाडे पनि आफ्नो समूहसंगै चुनावी अन्तिम प्रचारप्रसारको दौडाहामा रहेका छन्। निर्वाचन समितिको निर्वाचन कार्यतालिका अनुसार यही जुलाई २२ र २३ तारिखका दिन मतदान हुँदैछ।
प्रतिक्रिया