यति बेला अमेरिकामा गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषदको अधिवेशन अभियान द्रुत गतिमा चलिरहेको छ। यही जुलाई २२ र २३ तारिख(शनिवार र आइतवार) हुन गइरहेको अधिवेशनले आगामी दुइ वर्षीय कार्यकालका लागि राष्ट्रिय र च्याप्टरहरुको नयाँ कार्यसमिति चयन गर्दै छ। त्यसका लागि निर्वाचन समितिले निर्वाचन कार्यतालिका बनाएर आफ्नो जिम्मेवारीलाई पुरा गर्न लागिपरिरहेको छ। अधिवेशन अन्तर्गतको चुनावको अन्तिम छिनोफानो गर्न मतदान गर्ने मिति नजिकिदै गर्दा चुनावी पारो पनि दिन प्रतिदिन तात्दै गइरहेको छ।
यसैबिच, निर्वाचन कार्यतालिका अनुसार राष्ट्रिय तथा स्थानीय च्याप्टर अन्तर्गतको चुनावी मैदानमा होमिएका उमेदवारहरुले आफ्नो उमेदवारीको मनोनयन दर्ता गर्ने कार्य सम्पन्न गरिसकेका छन्। अहिले उमेदवारहरु उपर दाबी बिरोध, छानबीन र उमेदवारी फिर्ताको प्रकिया अगाडि बढिरहेको छ। यसैक्रममा, मासाच्युसेट्स् च्याप्टरमा पनि उमेदवारहरुले मनोनयन दर्ता गर्ने कार्य सम्पन्न गरिसकेका छन्। मनोनयन दर्ता भए अनुसार नयाँ कार्यसमितिको अध्यक्षलगायत अन्य पदहरुमा उमेदवारी दिनेहरुको प्रतिस्पर्धी नै नभएको अवस्था रहेको छ। अर्थात, एकल उमेदवारी मात्र परेकाले निर्विरोध निर्वाचित हुने प्रक्रियामा रहेका छन्।
आगामी दुइ वर्षीय कार्यकाल(२०२३-२०२५) का लागि अध्यक्ष पदमा केवल प्रचण्ड श्रेष्ठको मात्र एकल उमेदवारी परेको छ। त्यसैगरी, संस्थाको विधानले व्यवस्था गरे अनुसार, उपाध्यक्षमा खुम गुरुङ(राजु), महिला उपाध्यक्षमा जमुना श्रेष्ठ, सचिवमा सलोनी भण्डारी, कोषाध्यक्षमा समुन्द्र कुमार श्रेष्ठ, महिला सचिवमा स्नेहा पन्थी, युवा संयोजक पदमा मुकुन्द पोखरेल र महिला संयोजक पदमा सुनिता केसी अधिकारीको मात्र एकल उमेदवारी परेको छ। त्यसैगरी, विधान अनुसार कार्यसमितिको ७ जना सदस्य पदका लगि ७ जनाकै मात्र उमेदवारी परेको छ। सदस्य पदमा उमेदवारी दिनेहरुमा दिपेन्द्र सुबेदी, नबराज जमकटेल, सुरेन्द्र भट्टराई, स्कन्द यादव, इमान थिङ, नित्या शर्मा र सुधा गुरुङ रहेका छन्। यस सम्बन्धमा निर्वाचन समितिले निर्वाचन प्रक्रिया पुरा गरेर औपचारिक घोषणा गर्न भने बाँकी नै छ। निर्वाचन तालिका अनुसार जुलाई ११ तारिख उमेदवारहरुको अन्तिम नामावली प्रकाशित गर्ने, जुलाई २२का दिन पूर्वीय समय अनुसार बिहान ८ बजे मतदान सुरु हुने र २३ तारिख बिहान ८ बजे सम्पन्न हुनेछ। र, निर्वाचनको अन्तिम नतिजा जुलाई २४ तारिख सार्वजनिक हुनेछ।
संस्थाको अधिवेशनका सम्बन्धमा प्रतिक्रिया दिदै सन् २०२१-२३का मासाच्युसेट्स् च्याप्टर अध्यक्ष तथा आगामी कार्यकाल(२०२३-२५)का लागि राष्ट्रिय समन्वय परिषदको उपाध्यक्ष पदका प्रत्याशी प्रेम तामाङले आफ्नो नेतृत्वमा रहेको च्याप्टरमा निर्विरोध कार्यसमित चयन हुन लागेकोमा निकै खुशी व्यक्त गरेका छन्। नयाँ कार्यसमिति चयनका क्रममा अध्यक्षलगायत सबै पदहरुमा विधानले व्यवस्था गरे अनुसारको आवश्यक संख्याको मात्र उमेदवारी पर्नु सुखद कुरा हो वा चिन्ताको विषय हो भनि सोधिएको जिज्ञासामा, तामाङले सुखद रहेको जिकीर गरेका छन्। उनले यसो हुनुमा अन्य कुनै कारण नभइ सबैको सहमतिको परिणाम भएको बताए। सहमतिमै नयाँ कार्यसमिति चयन गर्ने आफ्नो अभियान सफल भएकोमा गर्व गर्दै उनले भने, ‘मलाई गर्व लागिरहेको छ।
जो मेरो लक्ष्य थियो। र, हाम्रो टिमको अभियान पनि यही थियो। यो मासाच्युसेट्स च्याप्टरकै गर्वको विषय हो। हामीले एकताको राम्रो सन्देश दिन सफल भएका छौं।’ तमाङले कुराकानीका क्रममा च्याप्टरको जिम्मेवारी अरु सहयात्री साथीहरुलाई सुम्पदै आफू राष्ट्रिय समन्वय परिषदतिर लागेको बताए। उनले आशन्न निर्वाचनमा आफू राष्ट्रिय समन्वय परिषदको उपाध्यक्ष पदका लागि प्रत्याशी रहेको बताउदै सबै मतदाताहरुलाई आफ्नो अमूल्य मतदान गरेर विजयी गराइ दिन अनुरोध समेत गरेका छन्। तामाङले दुइ कार्यकाल (सन् २०१९-२०२१ र सन् २०२१-२०२३)मासाच्युसेट्स् च्याप्टरको नेतृत्व सम्हालिसकेका छन्। उनकै अगुवाइमा मासाच्युसेट्स् च्याप्टरमा संस्थाको सदस्य बनाउने अभियानले तिब्रता पाएको थियो। गत अधिवेशनका बेला संस्थाको सदस्य संख्या २४० बाट ह्वात्तै बढेर १००४ पुगेको थियो भने, हाल ९६१ रहेको छ। यस वर्ष सदस्यहरुको संख्या १५ सय पुर्याउने लक्ष्य लिइएको भएतापनि, नयाँ लागू गरिएको एमआइएस प्रणाली, संस्थाको राष्ट्रिय तथा अन्तराष्ट्रिय समितिहरुमा आएका विवादहरुलगायत अन्य विविध कारणले लक्ष्य पुरा गर्न नसकिएको अध्यक्ष तामाङको ठम्याइ छ। यद्यपि, अन्य च्याप्टरहरुसंग तुलना गर्दा सदस्यता बिस्तार अभियानमा उल्लेखनीय सफलता हात पार्न सकिएको उनको दावी छ।
निर्वाचन प्रक्रियाका बारेमा आफ्नो प्रतिक्रिया दिदै सन् २०२१-२३ कार्यकालका सचिव तथा हाल संस्थाको च्याप्टर अध्यक्ष बनी बागडोर सम्लाने प्रक्रियाको चुनावी मैदानमा होमिएका प्रचण्ड श्रेष्ठले आफूलगायत सम्पूर्ण कार्यसमितिलाई निर्विरोध निर्वाचित गराउनका लागि महत्वपूर्ण भूमिका खेल्नु हुने सबै सदस्यहरुलाई धन्यवाद व्यक्त गरेका छन्।
सदस्यहरुले अत्यन्त आशा, भरोसा र विश्वास गरेर संस्थाको ठूलो जिम्मेवारी प्रदान गर्न लागेकाले सोही बमोजिम भूमिका निभाउन लागिपर्ने बताउदै उनले भने, ‘सदस्य ज्यूहरुले अत्यन्त आशा, भरोसा र विश्वास गरेर हामीलाई निर्विरोध रुपमा संस्थाको जिम्मेवारी सुम्पिदै हुनुहुन्छ। नयाँ कार्यसमितिका लागि उमेदवारी दिने सबै जना निर्विरोध हुने अवस्था आउनु निकै खुशीको कुरा हो। यसलाई मनन गरेर सोही बमोजिम भूमिका निभाउन हामी सक्रिय हुनेछौं।’ निर्विरोध कार्यसमिति चयन हुने परिस्थिति बनेका कारण मासाच्युसेट्स् च्याप्टरले एकताको गतिलो सन्देश दिन सफल भएको श्रेष्ठको पनि बुझाइ छ।
यसप्रति खुशी व्यक्त गर्दै उनले निर्वाचन परिणामको मर्म, संस्थाको गरिमा र सदस्यहरुको भावनाको कदर गरेर अघि बढ्ने प्रतिबद्धता जनाएका छन्। उनले भने, ‘नयाँ कार्यसमिति निर्विरोध निर्वाचित हुने चरणमा छ। निर्विरोध निर्वाचित हुने निश्चित नै छ। यद्यपि, निर्वाचन समितिले औपचारिक घोषणा गर्न भने बाँकी नै छ। आगामी दिनहरुमा निर्वाचन परिणामको मर्म, संस्थाको गरिमा र सदस्यहरुको भावनाहरुको उच्च कदर गरेरै सबैलाई मिलाएर अघि बढ्ने छौं।’ श्रेष्ठले गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषदको अधिवेशन प्रक्रिया हाल जारी नै रहेकाले यसलाई सफलतापूर्वक सम्पन्न गर्नका लागि मासाच्युसेट्स् च्याप्टरको तर्फबाट आवश्यक सकारात्मक भूमिका निर्वाह हुने विश्वास दिलाउदै त्यसका लागि सबै सदस्यहरुलाई अधिवेशनको अन्तिम समयसम्म आवश्यक साथ दिन र सहयोग गर्न अनुरोध समेत गरेका छन्। निर्वाचन समितिले जनाए अन्य च्याप्टरहरुमा पनि विभिन्न पदहरुमा निर्विरोध निर्वाचन हुनेहरुको संख्या उल्लेखनीय नै रहेको छ।
यस पटकको निर्वाचनमा मतदाताहरुको संख्यामा कमी आउनुका साथै निर्वाचनको मैदानमा उत्रिने उमेदवारहरुको संख्यामा पनि कमी आएको छ। गत अधिवेशनमा अमेरिकाको २९ राज्यमा कुल २० हजार १ सय ३८ मतदाताहरु रहेका थिए। तर, हाल कूल १२ हजार ८ सय ९५ जना रहेका छन्। अधिवेशनको मिति नजिकिदै गर्दा निर्वाचनको माहोल निकै गरमागरम हुदै गइरहेको छ। राष्ट्रिय समन्वय परिषद, अमेरिकाको बागडोर सम्हाल्न डा. अर्जुन बन्जाडे, डिलुराम पराजुली र सुमन थापा चुनावी मैदानमा आमनेसामने भइरहेका छन्। त्रिकोणात्म निर्वाचनमा कसले बाजी मार्ने हो त्यो भने हेर्न बाँकी छ।
प्रतिक्रिया