मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रेस विज्ञप्ती / सूचना पाटी   
बोस्टन   

अमेरिकाको ऐतिहासिक सहर बोस्टनमा ‘बैशाखी साँझ’ हुदै

अमेरिकाको ऐतिहासिक सहर बोस्टनमा ‘बैशाखी साँझ’ हुदै


नेपाली पात्रो अनुसार २०७९ साल समाप्त भएर नयाँ वर्ष २०८० साल प्रारम्भ हुदैछ। नयाँ वर्ष प्रारम्भको पहिलो दिन उल्लासजनक, मनोरञ्जनात्मक, यादगार र फलदायी बनाउन नेपालीहरु तयारीमा जुट्न थालिसकेका छन्। नेपालभित्र मात्र नभएर, नेपाल बाहिर रहेका नेपालीहरु पनि नेपाली नयाँ वर्षको पहिलो दिन बैशाख १ गते विविध क्रियाकलापहरु गरेर मनाउने तयारीमा छन्। यसै सन्दर्भमा अमेरिकाको मासाचुसेट्स राज्यको ऐतिहासिक सहर बोस्टनमा रहेका नेपालीहरुले पनि साँगीतिक कार्यक्रमको आयोजना गरी झुम्दै रमाउदै नेपाली नयाँ वर्षलाई स्वागत गर्ने तयारीमा छन्।

जसका लागि नेपालीहरु आवद्ध रहेको मुनाफारहित सामाजिक संस्था ‘ग्रेटर बोस्टन नेपाली समुदाय (जिबीएनसी-GBNC)’ले अगुवाइ गर्ने भएको छ। संस्थाले गर्ने आफ्नो प्रमुख वार्षिक क्रियाकलापहरुको तालिका अनुसार नै नेपाली नयाँ वर्ष २०८० को पहिलो दिन बैशाख १ गते तदनुसार अप्रिल १४ तारिख सुक्रबारका दिन साँगीतिक कार्यक्रम ‘बैशाखी साँझ -२०८०’ को आयोजना गर्न लागिएको हो। जुन कार्यक्रम संस्थाको हरेक वर्षको प्राथमिक क्रियाकलापहरु मध्यको एक हो। संस्थाले जनाए अनुसार, उक्त साँगीतिक कार्यक्रम बोस्टन सहरको 400 Cardinal Medeiros Avenue, Cambridge मा, साँझ ५ बजेदेखि राती ११ बजेसम्म सञ्चान गर्ने गरी तयारी थालिएको छ।

यस पटकको बैशाखी साँझका प्रमुख आकर्षक, नेपाली साँगीतिक क्षेत्रका चर्चित गायक ‘प्रकाश सपुत’ रहने भएका छन्। सपुतलाई ‘बैशाखी साँझ-२०८०’ मा विशेष अतिथिका रुपमा निम्त्याइएको र सोही अनुरुप आवश्यक तयारी समेत गरिसकिएको कार्यक्रम आयोजक संस्थाकी अध्यक्ष अञ्जु थापाले जानकारी दिइन्। उनले भनिन्, ‘ बैशाखी साँझका लागि विशेष अतिथिका रुपमा गायक प्रकाश सपुतलाई निम्त्याएका छौं। र, कार्यक्रमलाई भव्यताका साथ सम्पन्न गर्न आवश्यक तयारीमा पनि जुटिसकेका छौं।’

नेपाली गीत संगीतको क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याएको र गीत संगीतको माध्यमबाट अमूल्य सन्देशहरु पनि दिइरहेको तथ्यलाई मध्यनजर गर्दै मनोरञ्जन पनि हुने र योगदानको पनि कदर हुने गरी यस पटकको नेपाली नयाँ वर्ष प्रकाश सपुतको विशेष आतिथ्यतामा र उनकै साँगीतिक प्रस्तुतिमा मनाउने निधोमा पुगेको अध्यक्ष थापाले बताइन्। उनले भनिन्, ‘सपुतको योगदानको कदर गर्दै सम्मान स्वरुप उनलाई कार्यक्रमको विशेष अतिथि बनाएका हौं। र, बोस्टन बासी नेपाली समुदायको साँगीतिक भावना र चाहनालाई सम्बोधन हुने गरी तयारी गर्दैछौं।’ अध्यक्ष थापाले कार्यक्रममा सहभागिता जनाउनका लागि नेपाल प्रेमी र नेपाली गीत संगीत प्रेमी सबै नेपाली समुदायलाई अनुरोध समेत गरेकी छिन्।

मायाको मुखैमा चिनी…, किन सर्छेउ पर…आउन वर वर, हे जोतिसेले तिम्रै हुने भने अहिले… (तीज गित), गलबन्दी च्यातियो तिम्ले तानेर… जस्ता नेपाली लोक लयका गीतहरु गाएर दर्शक श्रोताको मन जित्न सफल भएका गायक सपुत पछिल्लो समयमा चर्चाको शिखरमा रहेका छन्। नेपाली साँगीतिक क्षेत्रमा उनले पुर्याएको योगदान कदरयोग्य र प्रशंसनीय रहेको छ। सपुत समय परिस्थिति अनुसार दर्शक श्रोताहरुको चाहना र भावनालाई बुझेर, सोही अनुसार गीत संगीत तयार पारी पस्कन सक्ने क्षमता भएका कलाकार हुन्।

उनी केवल मनोरञ्जनात्मक साँगीतिक कोसेली पस्कने कलाकारका रुपमा मात्र नभइ, गित संगीतको माध्यमबाट समाजलाई महत्वपूर्ण सन्देश दिने व्यक्तित्वका रुपमा पनि चिरपरिचित छन्। उनका बोल माया …, बदला बरिलै…, मेरो पनि हैन र यो देश…, ‘कुरा बुज्न पर्च…’ जस्ता गीतहरुले निकै मर्मस्पर्शी तथा चिन्तन मननयोग्य सन्देश पस्किएका छन्। यद्यपि, केही गीतहरु विवादरहित भने रहन सकेनन्।

त्यस्तै, नेपाली राजनिति र सशस्त्र द्वन्द्वलाई केन्द्रमा राखेर उनले पस्किएको ‘पीर’ गीतले साँगीतिक क्षेत्रमा मात्र नभएर, राजनितिक क्षेत्रमा पनि निकै ठूलो हलचल ल्याएको थियो। उनी प्राय आफ्ना गीतहरुको रचना, संगीत, गायन तथा निर्देशन आफैले गर्ने गर्दछन्। उनका हरेक गीतमा भिन्न भिन्न ‘थीम’ रहने गर्दछ। भने गीतको छायाँङ्कन पनि निकै गुणस्तरीय हुने भएकाले, उनका गीतहरु रातारात चर्चाको शिखरमा पुग्ने गरेका छन्।बहुप्रतिभाशाली व्यक्तित्वका रुपमा चिनिएका उनै सपुतसंग साक्षात्कार गर्ने र उनीसंगै झुम्दै रमाउदै नेपाली नयाँ वर्षलाई स्वागत गर्ने अभिलाषाका साथ बोस्टनबासी नेपाली समुदाय ‘बैशाखी साँझ’ को प्रतिक्षामा रहेका छन्।

जिबिएनसीका वरिष्ठ उपाध्यक्ष तथा कार्यक्रम संयोजक सन्दिप भट्टराईले दिएको जानकारी अनुसार, कार्यक्रमको तयारीलाई तिब्रता दिइएको छ। तयारी अन्तर्गत कार्यक्रमको प्रचारप्रसार गर्ने, प्रायोजक तथा सहयोगीहरुको खोजी गर्ने, टिकट तथा व्यानरको तयारी गर्ने लगायत महत्वपूर्ण कार्यहरु तिब्र रुपमा भैरहेको छ। कार्यक्रममा स्थानीय कलाकारहरुले पनि आ-आफ्नो प्रतिभा प्रस्तुत गरेर दर्शक/श्रोताहरुलाई मनोरञ्जन दिलाउन महत्वपूर्ण योगदान पुर्याउने भएका छन्।