मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   

पासपोर्ट शिविरमा ६३७ जनाले सेवा लिए

पासपोर्ट शिविरमा ६३७ जनाले सेवा लिए


वासिङ्टन । नेपाली राजदूतावास वासिङ्टन डिसीको आयोजनामा क्यालिफोर्नियाको सान फ्रान्सिस्कोमा भएको काउन्सुलर शिविरमा ६३७ जनाले सेवा प्राप्त गरेका छन् । नेपाली एसोसएसन अफ नर्दन क्यालिफोर्निया (न्यान्स) र एनआरएनए च्याप्टर क्यालिफोर्नियाको व्यवस्थापन सहयोगमा शिविर चार दिनसम्म सञ्चालन भएको थियो । 
 
नोभेम्बर २७ देखि २९ सम्म आयोजित शिविरमा पहिल्यै एपोइन्टमेन्ट लिएकाबाहेक पनि सेवा आवश्यक भएका मानिस शिविरमा आएपछि एक दिन थप गरेर शिविर चार दिनसम्म सञ्चालन भएको थियो । थप गरिएको चौथो दिनको लागि ७० जनाको लागि एपोइन्टमेन्ट निर्धारण गरिए पनि अवेरसम्म मानिस बसेर सेवा माग गरेपछि सो दिन पनि राति साढे नौ बजेसम्म कर्मचारीले काम गरेका थिए । 
 
यो शिविरका लागि दूतावासबाट डिसिएम कुमार खरेल, तेस्रो सचिव जनक सिंह र अर्का कर्मचारी रामजी दाहाल कामका लागि आएका थिए । अवैतनिक महावाणिज्य दूत ऋषि ढकाल पनि शिविर अवधिभर खटिएका थिए । 
 
न्यान्स र एनआरएनका पदाधिकारीलगायत बे एरियाका विभिन्न संस्थाका पदाधिकारी एवं समाजसेवीहरुसमेत शिविरमा स्वयंसेवकका रुपमा खटिएका थिए । चार दिनको लागि ५० भन्दा बढी स्वयंसेवक परिचालित भएका थिए । यो कार्यमा खटिएका सबैलाई न्यान्सको तर्फबाट अध्यक्ष प्रितेश कार्कीले र एनआएनएको तर्फबाट क्षेत्रीय संयोजक श्रीराम थापाले धन्यवाद दिए । 
 
यस क्षेत्रका संघसंस्था सामाजिक अभियन्ता, बुद्धिजीवी, सूचना प्रविधिका विज्ञ, युवाको सहयोगले यो शिविर सफल भएको कार्कीले बताए । सेवा लिनेहरुले पनि आयोजकले बनाएको पद्धतिमा रहेर काम लिएकोमा न्यान्सको तर्फबाट धन्यवाद व्यक्त गरेको छ । 
शिविर समापनका अवसरमा दूतावासको कन्सुलर सेवा मिसन क्यालिफोर्नियामा पठाएकोमा संयुक्त राज्य अमेरिकाका लागि नेपाली राजदूत महामहिम श्रीधर खत्रीलाई समेत महावाणिज्य दूत ढकालले धन्यवाद दिएका छन् । उनले शिविरबाट (लस एन्जलसमा १८२ र सान फ्रान्सिस्कोमा ६३७) कुल ८१९ जनालाई कन्सुलर सेवाहरू उपलब्ध गराइएको जानकारी दिए । 
 
यी शिविरहरूका कारण क्यालिफोर्नियामा रहेका नेपाली समुदायका सदस्यहरूले १२ लाख अमेरिकी डलरभन्दा बढी बचत गरेको पनि उनको भनाइ छ ।  यी सेवाहरूको लागि वासिङ्टन डिसीसम्म जाने आउने जहाज भाडा तथा त्यसका लागि बिदासमेत लिएर जानुपर्ने अवस्थालाई शिविरले ठूलो राहत दिएको ढकालले उल्लेख गरे । 
 
त्यो भन्दा बढी, यी सेवाहरूको मूल्य मौद्रिक सर्तहरूमा मापन गर्न सकिँदैन भन्दै विशेष गरी ती व्यक्तिहरू जो विभिन्न कारणहरूले यात्रा गरेर डिसीसम्म पुग्न नसक्ने अवस्थाकालाइ ठूलो राहत मिलेको छ । शिवर सञ्चालनको लागि भएको यहाँको खर्च न्यान्स र एनआरएनए च्याप्टरले व्यवस्थापन गरेको र दूतावासले कुनै बजेट नदिएको महावाणिज्य दूत ढकालले प्रष्ट पारेका छन् । 
 
शिविरमा सेवाग्राहीबाट स्वेच्छिक सहयोग संकलन पनि गरिएको थियो । सो रकम न्यून रूपमा संकलन भएको र बाँकी रकम संस्था र सहयोगीहरूसँग संकलन गेरर पूरा गरिनेछ । यसको सम्पूर्ण आयव्यय विवरण छिट्टै सार्वजनिक गरिने छ ।