मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   

सन्दर्भ विश्व एड्स दिवसः एड्स अन्त्यका लागि बहुपक्षीय प्रतिबद्धता

सन्दर्भ विश्व एड्स दिवसः एड्स अन्त्यका लागि बहुपक्षीय प्रतिबद्धता

सुजन पण्डित

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

हिमालयखबर I डिसेम्वर १ मा विश्व एड्स दिवस मनाउन थालिएको ३४ वर्ष पुरा भइसकेको छ। संयुक्त राष्ट्रसंघीय एड्स कार्यक्रम- युएनएड्सले सन् १९८८ देखि डिसेम्वर १ मा विश्व एड्स दिवस मनाउन थालेको हो। यो वर्ष एचआइभी रोकथाम तथा उपचारका अवसरहरुलाई सबै वर्ग, क्षेत्र र देशहरुमा समान वितरण र पहुँच बनाउन सहयोग पुगोस र सबैलाई सुरक्षित राख्न सकियोस् भनेर यूएनएड्सले ‘Equalize’ भन्ने नारा विश्व एड्स दिवसका लागि तय गरेको हो। नेपालमा भने राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्र (NCASC)ले “एड्स अन्त्यका लागि समानताको सुनिश्चता” भन्ने नारा तय गरेर नेपाल भर विभिन्न कार्यक्रमहरुका साथ विश्व एड्स दिवस मनाइरहेको छ।
सन् १९८१ मा संयुक्त राज्य अमेरिकाको लस एन्जलसमा पहिलो पटक पत्ता लागेको रोग ‘Acquired Immune Deficiency Syndrome- AIDS (एक्वाएर्ड इम्युन डिफिसेन्सी सिन्ड्रोम-एड्स) मान्छेको रोगविरुद्ध लड्ने क्षमता कमजोर गराउने जिवाणु Human Immune-deficiency Virus- HIV ( ह्युमन इम्युन-डिफिसियन्सी भाइरस) का कारण हुन्छ र मानवीय क्रियाकलापहरुबाट एक-आपसमा सर्दछ।
एड्स अझै संसारको स्वास्थ्य समस्याको रुपमा रहेको छ। संयुक्त राष्ट्रसंघीय निकायहरु र अन्य प्रमुख एड्स कार्यक्रम संचालक निकायहरुले सन् २०३० सम्म एड्सका कारण हुने मृ्त्यु अन्त्य गर्ने लक्ष्यका साथ काम गरिरहेका छन्। हालैका वर्षहरुमा एड्स रोकथाम र उपचारमा निकै प्रगति भएको भए पनि अझै पनि करौडौं मानिसहरु एचआइभी संक्रमित भइरहेका छन्।

तथ्याङ्कमा एड्स

युएनएड्सको तथ्याङ्क अनुसार सन् १९८१ मा रोग पत्ता लागे यता करीब ८४.२ मिलियन अर्थात आठ करोड ४२ लाख मानिसहरुमा एचआइभीको संक्रमण भएको छ भने करिब ४०.१ मिलियन ( चार करोड ४५ लाख) मानिसहरु एड्ससंग सम्वन्धित रोगका कारण मरेको अनुमान यूएनएड्सले गरेको छ। सन् २०२१ अन्त्यसम्मको तथ्याङ्क अनुसार करिब ३८.४ मिलियन अर्थात तीन करोड ८४ लाख मानिसहरुमा एचआइभी संक्रमण रहेको छ भने गत एकवर्षमा करिब १५ लाख व्यक्तिलाई एचआइभी संक्रमण भएको पाइएको छ। यसैगरी गतवर्ष करिब छ लाख ५० हजार जतिले एड्सका कारण ज्यान गुमाएको तथ्य सार्वजनिक भएको छ।

नेपालको अवस्था

१९९६/९७ तिर एचआइभी संक्रमण निकै बढ्दो अवस्था थियो। त्यो बेला एचआइभी संक्रमितहरुलाई हुने गरेको सामाजिक दुर्व्यवहारको अवस्था सन् २०२० को शुरुवाती महिनाहरुमा कोरोना संक्रमितहरुलाई गरिए जस्तै थियो। कसैलाई एचआइभी छ भन्ने थाहा भएमा सामाजिक बहिष्करणमा पर्दथे। सामान्य मानवीय व्यवहारबाट नसर्ने भएपनि मान्छेहरुमा फैलिएको भ्रमपूर्ण त्रासले सबैतिर भयावह अवस्था सुनिन्थ्यो। सन् १९९७ को अन्त्यतिर अमेरिकी सहयोग नियोग (युएसएड) को सहयोगमा संचालित एचआइभी रोकथाम कार्यक्रममा काम गर्न शुरु गर्दा देखे/भोगेका कैयन सामाजिक लाञ्छनाका घटना अझै ताजा छ। एड्सबाट मरेकाहरुको लासलाई हिन्दु परम्परा/संस्कार अनुसार घाटमा जलाइनु पर्नेमा धुवाँबाट एड्स सर्छ भनेर गाड्न लगाइएको घटनाको हामी नै साक्षी थियौं। कैयन सामाजिक भेटघाट र तालिमहरुमा हामीलाई सोधिने एउटा स्थायी प्रश्न हुन्थ्यो—तपाईंलाई एड्स भएको चाहिं कति भयो?
तर अहिले अवस्था परिवर्तन भएको छ। एचआइभी संक्रमितहरु प्रति कुनै भेदभाव छैन। १९९८ तिर आफूलाई एचआइभी भएको सार्वजनिक घोषणा गरेका राजीव काफ्ले सेलिव्रेटीस्तरको जीवन बाँचिरहेका छन् भने पोखराका अर्का संक्रमित गोपाल श्रेष्ठले सगरमातथाको सफल आरोहण समेत गरिसकेका छ्न् ।
नेपालमा एनसिएससी र साझेदार संस्थाहरु युएसएड, डब्लुएचओ, यूनएड्स, एफएचआई-३६०, सेभ द चिल्ड्रेन, एएचएफ लगायतका संस्थाहरुको बृहत कार्यक्रमले एचआइभी संक्रमण दर मात्र घटेको छैन, उपचारमा समेत निकै पहुँच बढेको छ। सन् २००० मा करिब ४५०० व्यक्ति संक्रमित हुन्थे भने त्यसको २० वर्ष पछि २०२१ मा सातसय भन्दा कम मात्र एचआइभी संक्रमण भएको पाइएको छ।
केही वर्ष यता एन्टी रेट्रोभइरल थेरापी (ART)को उपलब्धता पनि बढेको छ। विश्वस्तरमा करिब ७५ प्रतिशत संक्रमितहरुको एड्स उपचार र औषधीमा पहुँच छ भने नेपालमा पनि करिब ३० हजार मध्ये झण्डै २३ हजारले (करिब ७५%) एआरटी पाइरहेका छन्। २००४ तिर एआरटी सेवा शुरु हुँदा टेकु अस्पतालमा बाहेक अन्यत्र एआरटी सेवा थिएन। अहिले सेवाको पहुँच ७६ जिल्लामा पुगेको छ। नेपालको प्रगति विश्वको औसत प्रगतिस्तर भन्दा कम रहेको छैन। यसर्थ एचआइभी रोकथाम र उपचारमा नेपालको प्रगति उत्साहजनक देखिन्छ।
यो शताब्दीकै सबभन्दा त्रासदीयुक्त माहामारी कोभिड-१९ बाट तीन वर्षमा संसारभर करिब ६४० मिलियन मानिसहरु संक्रमित भएको र ६६ लाख बढी मानिसले ज्यान गुमाएका छन्। विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का अनुसार कोभिड-१९१९ बाट अझै पनि दैनिक तीन लाख बढी मानिस संक्रमित भइरहेका छन् भने यस माहामारीका कारण संसारले खर्बौं डलरको आर्थिक क्षति मात्र गरेन, यसले संसारभर मानिसहरको यात्रा र दैनिक जीवनमा निकै ठूलो नकारात्मक प्रभाव पाऱ्यो।
तर कोरोनाको तुलनामा एड्स रोकथाम र उपचारमा संसारले निकै ठूलो फड्को मारेको छ र सन् २०३० सम्ममा संसारबाट एड्सको अन्त्य गर्ने लक्ष्य पुरा गर्न युएनएड्स लगायतका निकायहरु सक्रिय रहेका छन्।