मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   

जिबिएनसीको निर्वाचन सम्पन्न, अन्जु थापाको नेतृत्वमा नयाँ कार्यसमिति चयन

जिबिएनसीको निर्वाचन सम्पन्न, अन्जु थापाको नेतृत्वमा नयाँ कार्यसमिति चयन


बोस्टन, अमेरिका । ग्रेटर बोस्टन नेपाली समुदाय (GBNC-Greater Boston Nepali Community)को निर्वाचन सम्पन्न भएको छ । संस्थाको विधानअनुसार आगामी कार्यकालका लागि निर्वाचनमार्फत अन्जु थापाको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ। 
 
संस्थाको विधानअनुसार आगामी दुईवर्षे कार्यकालका लागि नयाँ कार्यसमिति चयन गर्न सेप्टेम्बर २५ तारिख आइतबार निर्वाचन सम्पन्न भएको हो । संस्थाको नेतृत्व लिन अध्यक्ष पदका लागि अन्जु थापा, परशुराम फुयाल र जलप्रसाद घिमिरे चुनावी मैदानमा उत्रिएका थिए। 
 
मतदान प्रक्रिया सुरु हुनुअगाडि नै जलप्रसाद घिमिरेले आफ्नो उमेदवारी फिर्ता लिएका थिए । थापा र फुयालबीच कुनै एकमा सहमति जुटाउने प्रयास असफल भएपछि नेतृत्व चयनको अन्तिम टुङ्गो लगाउन मतदान प्रक्रियामा प्रवेश गरिएको थियो। 
 
विरोचन नेपालको संयोजकत्वमा प्रेम तामाङ र भुवन गुरुङ सदस्य रहेको निर्वाचन समितिले सार्वजनिक गरेको अन्तिम मत परिणामअनुसार थापाले आफ्नो  प्रतिस्पर्धी फुयाललाई ९३ मत अन्तरले पछि पार्दै अध्यक्ष पदमा निर्वाचित भएकी हुन् । 
 
निर्वाचन मत परिणामअनुसार थापाले २५८ मत प्राप्त गरी संस्थाको बागडोर सम्हाल्न सफल हुँदा फुयालले १६५ मत प्राप्त गरे । चुनावी मैदानमा उत्रिएका उमेदवारहरु र मतदाताहरु निकै उत्साहित देखिएको चुनावी माहोलले स्थापनाकालदेखि नै सहमतिमा भन्दै नयाँ कार्यसमिति चयन गर्ने गरिएको अभ्यासको क्रमभङ्ग गरिदिएको छ। 
 
त्यसैगरी, संस्थाले पहिलो पटक महिला नेतृत्व प्राप्त गरेर इतिहास रच्न सफल भएको छ। यसैगरी, पहिलो पटक मतदान प्रक्रियामा गएको चुनावी माहोलले वरिष्ठ उपाध्यक्ष पदमा सन्दीप भट्टराईलाई निर्वाचित गरेको छ। निर्वाचन परिणाम अनुसार भट्टराईले कुल झरेको मतमा ३१८ मत ल्याइ १०४ मत ल्याउने आफ्नो प्रतिस्पर्धी थापालाई पराजित गर्दै वरिष्ठ उपाध्यक्षको पद सुरक्षित गर्न सफल भए। 
 
निर्वाचनले संस्थाको अन्य पदाधिकारी र सदस्यहरु भने निर्विरोध चयन गरेको छ। उपाध्यक्ष पदका लागि भने चिरञ्जीवी आचार्य, नवराज जमकट्टेल र सुनिल नेपाली चुनावी मैदानमा उत्रिएका थिए । 
 
मतदान प्रक्रिया सुरु हुनुभन्दा अगाडि नै नवराज जमकट्टेलले चुनावी प्रक्रियाबाट आफ्नो उमेदवारी फिर्ता लिएपछि संस्थाको विधान अनुसार दुइ उपाध्यक्ष पदका लागि आचार्य र नेपाली निर्विरोध निर्वाचित हुन सफल भए । 
 
महिला उपाध्यक्ष पदमा भने सानु बर्मा अधिकारीको एकल उमेदवारी परेकाले निर्विरोध निर्वाचित भइन् । यसैगरी, महासचिव पदमा सोनाम शेर्पा, सचिव पदमा मिलन बस्नेत, कोषाध्यक्ष पदमा अजय कुशवाहा र सह-कोषाध्यक्ष पदमा प्रकाश खड्का पनि निर्विरोध निर्वाचित भए । 
 
संस्थाको विधानअनुसार २४ सदस्य पदका लागि भएको निर्वाचनले, चुनावी मैदानमा उत्रिएका १९ जना सदस्यहरुलाई पनि निर्विरोध निर्वाचित गरेको छ। 
 
निर्वाचन समितिका अनुसार निर्वाचन प्रक्रियाका क्रममा १९ जनाले मात्र उमेदवारी दर्ता गरेकाले उमेदवारी दर्ता गर्ने सबै निर्विरोध निर्वाचित भएका हुन् । 
 
यस्तै, सदस्य पदमा निर्वाचित हुनेहरुमा भीमप्रसाद आचार्य, युवराज सुवेदी, प्रभा गौतम, प्रमिला धमला बञ्जरा, रोशन यादव, सौरभ अधिकारी, भरत बञ्जरा, दिपक कटुवाल, अभिषेक आचार्य, अजयकुमार ढकाल, नवराज जमरकट्टेल, आङ्दावा शेर्पा, अजित पोखरेल, राज लामा, विराज गुरुङ, सुनिता भण्डारी, सुवर्ण केसी, अशोक काफ्ले र सजना अधिकारी रहेका छन् ।  
 
नेपाली, आप्रवासी नेपाली र नेपाली भाषीहरुलाई संगठित गरी उनीहरुको उथ्थानका लागि यथाशक्य काम गर्ने मूल उद्देश्यका साथ सन् १९८९ मा स्थापित यस संस्थामा हाल ६४ जना आजीवन सदस्य र ६६२ जना साधारण सदस्य गरी जम्मा ७२६ जना सदस्यहरु आवद्ध रहेको संस्थाको निर्वाचनमा ४२३ जनाले भाग लिएका थिए ।