टेक्सस । टेक्ससको सान एन्टोनियोभन्दा केही पर भेटिएको एउटा लरीमा कम्तीमा ४६ जना मानिस मृत अवस्थामा फेला परेको बताइएको छ । उनीहरू आप्रवासीहरू भएको अनुमान गरिएको छ ।
स्थानीय सञ्चारमाध्यमका अनुसार फरक फरक स्वास्थ्य अवस्था रहेका कम्तीमा १६ जनालाई अस्पताल पुर्याइएको छ । सामाजिक सञ्जालमा देखिएका तस्बिरहरूमा एउटा ठूलो ट्रक आपत्कालीन सेवामा खटिने कैयौँ कर्मचारीहरूले घेरिएको देख्न सकिन्छ ।
केएसएट टेलिभिजन च्यानलका अनुसार उक्त ट्रक एउटा रेलको पटरी नजिकै फेला परेको थियो।द न्यूयोर्क टाइम्सका अनुसार सान एन्टोनियोका प्रहरीले घटनास्थलमा नरहेका सवारी चालकको खोजी गरिरहेका थिए ।
सान एन्टोनियो अमेरिका र मेक्सिकोको सीमाबाट झन्डै २५० किलोमिटरको दूरीमा अवस्थित छ । टेक्ससका गभर्नर ग्रेग याबटले ती मृत्युको लागि अमेरिकी राष्ट्रपति जो बाइडेनलाई दोष दिएका छन् । एबोटले मृत्युलाई बाइडनको घातक खुला सीमा नीतिको परिणामका रूपमा व्याख्या गरेका छन् ।
मेक्सिकोका विदेशमन्त्रीले आफ्ना एक सरकारी कर्मचारी घटनास्थलतर्फ जाँदै गरेको तर हालसम्म मृत्यु भएकाहरू कुन देशका हुन् भनेर थाहा भने भइनसकेको जनाएका छन् । एजेन्सी/बिबिसी (तस्बिर : GETTY IMAGES)
प्रतिक्रिया