मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   

केआरएसएले न्यूयोर्कमा रक्तदान गर्दै

केआरएसएले न्यूयोर्कमा रक्तदान गर्दै


न्यूयोर्क । किरात राई सोसाइटी अफ अमेरिका (केआरएसए) ले जुन २६ मा रक्तदान कार्यक्रम तय गरेको छ । केआरएसएले न्यूयोर्क ब्लड सेन्टरसँगको सहकार्यमा रक्तदान कार्यक्रम आयोजना गर्न लागेको हो ।
 
रक्तदान कार्यक्रम क्विन्सको ज्याक्सन हाइट्सस्थित सत्यनारायण मन्दिरमा गरिने आयोजकले जनाएको छ । कार्यक्रम बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म चल्नेछ ।
 
 ‘केआरएसएको उन्नाइसौँ स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम आयोजना गर्न लागेका हौँ,’ केआरएसएका नवनिर्वाचित केन्द्रीय अध्यक्ष खगेन्द्र राईले भने, ‘रक्तदान कार्यक्रममा सहभागी भइदिनु हुन केआरएसएका सम्पूर्ण सदस्य तथा नेपाली समुदायलाई अनुरोध गर्दछु ।’ 
 
केआरएसएले स्थापना दिवसको अवसरमा आयोजना गरेको यो तेस्रो रक्तदान कार्यक्रम हो । यो रक्तदान नवनिर्वाचित कार्यसमितिको पहिलो औपचारिक कार्यक्रम हो । 
 
रक्तदानका लागि केआरएसएको फ्लाइअरमा भएको क्युआर कोड स्क्यान गरी अग्रीम एपोइन्टमेन्ट लिन सकिन्छ । अध्यक्ष राईले समयको बचत गर्न क्यू आर कोड स्क्यान गरी अग्रीम एपोइन्टमेन्ट लिन आग्रह गरेका छन् । त्यसो गर्दा समयको बचत हुने उनको भनाइ छ । तर, अग्रीमरुपमा एपोइन्टमेन्ट नलिए पनि रक्तदान कार्यक्रममा सहभागी हुन सकिने उनको जानकारी दिए ।
 
रक्तदानका लागि परिचयपत्र वा ब्लड डोनर कार्ड आवश्यक पर्नेछ । टाटु खोपेको १२ महिना नाघेका, न्यूनतम तौल ११० पाउण्ड भएका, पछिल्लो रक्तदान ५६ दिनअघि गरेका र १६ वर्षदेखि ७५ वर्षसम्मका जो कोहीले रक्तदान कार्यक्रममा सहभागी हुन पाउने छन् । चिकित्सकको सिफारिस भए ७६ वर्ष वा सोभन्दा बढी उमेरका मानिस पनि रक्तदानमा सहभागी हुन सक्नेछन् ।
 
न्यूयोर्क ब्लड सेन्टरलाई अत्यावश्यक परेको जनाएपछि केआएसएले रक्तदानका लागि सहकार्य गरेको हो । न्यूयोर्क ब्लड सेन्टरले ‘क्रिटिकल निड फर अल ब्लड टाइप्स’ भनेको अध्यक्ष राईले जनाए ।