मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   

कोलोराडोको नर्थग्लेनमा नेपाली भाषा पाठशाला सञ्चालन

कोलोराडोको नर्थग्लेनमा नेपाली भाषा पाठशाला सञ्चालन


कोलोराडो, अमेरिका । कोलोराडोको नर्थग्लेनस्थित क्रसरोड कम्युनिटी सेन्टरमा शनिबार एक समारोहबीच नेपाली भाषा पाठशालाको शुभारम्भ गरिएको छ ।
 
कोलोराडोमा सक्रिय संस्थाहरु अन्तर्राष्ट्रिय साहित्य समाज कोलोराडो च्याप्टर, नेपाली घर, रकी माउन्टेन्ड फ्रेन्ड्स अफ नेपाल, सिष्टरग्रुप दिदी बहिनी समूह कोलोराडो, कोलोराडो नेवाः खल र ब्लड डोनर्स अफ अमेरिकाको संयुक्त प्रयासमा सुरु भएको हो ।
 
भाषा पाठशालामा सहभागी हुन आएका बालबालिकाले संयुक्तरुपमा रिबन काटेर कार्यक्रम हलमा प्रवेश गरेका थिए । नेपाली, अमेरिकन राष्ट्रियगानसँगै गणेश जन्दना र सरस्वती बन्दना गाएर कार्यक्रम सुरु गरिएको थियो । प्रत्येक शनिबार दिउँसो २ बजेबाट ४ बजेसम्म सञ्चालन हुने नेपाली भाषा पाठशालामा सहभागी हुन ३२ जना बालबालिकाहरुले आज नाम दर्ता गराएका बताइएको छ ।
 
कार्यक्रमको महत्त्वबारे प्रकाश पार्दै अन्तर्राष्ट्रिय साहित्य समाज कोलोराडो च्याप्टर अध्यक्ष राजु सिटौलाले प्रवासमा नेपाल र नेपाली चिनाउने मुख्य माध्यम नै भाषा संस्कृति भएको र यहाँ जन्मेका बालबालिकाहरुलाई भाषा संस्कृति सिकाउँदै नजाने हो भने भाषा संस्कृति यही पुस्तामा मात्र सीमित रहने खतरा बढ्दै गएको कारण भाषा शिक्षाको कार्यक्रम सुरु गर्न लागिएको बताए । 
 
उनले यस भाषा कक्षालाई सफल पार्न सधैँ सबैको साथ र सहयोग रहिरहने विश्वास व्यक्त गरे । अन्तर्राष्ट्रिय साहित्य समाज कोलोराडो च्याप्टर महासचिव किरण अधिकारीले सञ्चालन गरेका कार्यक्रममा भाषा पाठशालामा बालबालिकाहरुलाई अध्यापन गराउने गुरुआमा र गुरुबाहरुले पनि आ–आफ्नो धारणा राखेका थिए । 
 
यसरी धारणा राख्नेहरुमा धन पौडेल, प्रतिभा शर्मा र हरिभक्त आचार्य रहेका थिए । उनीहरुले बालबालिकाहरुको क्षमता मूल्यांकन गरी त्यसको आधारमा कक्षा अगाडि बढाउने योजना रहेको बताए । सो कार्यक्रमलाई प्रभावकारी बनाउन अभिभावकको ठूलो हात रहेको बताउँदै यसलाई सफल पार्न सबैको साथ र सहयोग रहने आशा व्यक्त गरे ।
 
कार्यक्रममा आयोजक संघसंस्थाका प्रतिनिधि पाठशालामा सहभागी बालबालिका र उनका अभिभावक, गन्यमान्य, समाजसेवीहरुको उल्लेख्य उपस्थिति रहेको थियो । कोलोराडोकै अरोरामा यसअघि नै भाषा पाठशालाको सुरु भइसकेको छ ।  
 
यसअघि दुई वर्षसम्म सञ्चालन भएको लङमन्टमा भने यसवर्ष सञ्चालन गर्ने योजना नभएको बताइएको छ । भाषा कक्षामा उपस्थित छात्रछात्राहरुलाई लेख्न पढ्न मात्र नभएर, नेपाली भाषामा बोल्ने, कथा, कविता भन्ने, नाचगान गर्ने, कार्टुन देखाउनेजस्ता विभिन्न रचनात्मक माध्यमबाट भाषा सिकाउने गरिएको छ ।