मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजनीति-समाज   

रत्ननगरमा कांग्रेसले भत्कायो एमालेको गढ, एकपछि अर्को वडामा विजय हासिल

रत्ननगरमा कांग्रेसले भत्कायो एमालेको गढ, एकपछि अर्को वडामा विजय हासिल


चितवन । चितवनको रत्ननगर नगरपालिकामा एमालेको विरासतका रुपमा रहेको गढ भत्काउँदै कांग्रेसले धमाधम विजय हासिल गरेको छ । रत्ननगरको वडा नं ३ र ४ मा यस पटक कांग्रेसले २५ वर्षपछि एमालेको गढ भत्काएर विजयी बनेको हो । 
 
रत्ननगरको वडा नं १ बाट विजयी सुरूवात गरेको हो । रत्ननगर–१ को वडाध्यक्षमा नेपाली कांग्रेसका कुलप्रसाद सापकोटासहित प्यानल नै विजयी भएको छ । कुल २२९५ मत खसेकोमा सापकोटाले २२९ को मतअन्तरका साथ वडाध्यक्षमा विजयी भएका हुन् ।
 
सापकोटाले ९१३ मत प्राप्त गरेका छन् भने उनको प्रतिद्वन्द्वी एमालेका शालिकराम पराजुलीले ६९३ मत प्राप्त गरेका थिए । यस्तै, नेकपा (माओवादी केन्द्र)का गणेश पौडेलले ३५४ मत ल्याएका छन् ।
 
वडामा मेयर र उपमेयरमा गठबन्धन भए पनि वडाध्यक्ष र सदस्यमा दलहरुबीच मैत्रीपूर्ण प्रतिस्पर्धा भएको थियो । यो वडामा सदस्यमा पनि नेपाली कांग्रेसको प्यानल नै विजयी भएको छ ।
 
महिला सदस्यमा उमादेवी सुवेदीले ७८३ मत पाएकी छन् भने दलित महिला सदस्यमा बिन्दु मग्रातीले ८०९ मत ल्याइन् । 
 
यस्तै, खुला सदस्यमा गिरिराज लम्सालले ७५३ मत र खुला सदस्यमा सूर्यविक्रम चौधरीले ७२३ मत प्राप्त गरेका थिए । २०७४ सालको निर्वाचनमा पनि कांग्रेसले एक सदस्यबाहेक सो वडामा विजय हासिल गरेको थियो ।
 
यसैगरी, वडा नं २ को वडाध्यक्षमा नेपाली कांग्रेसका राजन घिमिरेको प्यानलसहित विजयी भएको छ । नेकपा एमालेका कृष्णप्रसाद डोटेललाई २६९ मतान्तरले पछि पार्दै घिमिरे वडाध्यक्षमा निर्वाचित भएका हुन् । घिमिरेले ९२९ मत पाउँदा डोटेलले ६६० मत प्राप्त गरेका छन् ।
 
त्यसैगरी वडा सदस्य खुल्लामा नेपाली कांग्रेसका नरेन्द्र श्रेष्ठ ८४८, सञ्जीवप्रसाद पौडेल ८३६, महिला सदस्य रमा भट्टराई ८६६ र दलित महिला सदस्य राधादेवी विश्वकर्मा ९३९ मतका साथ विजयी भएको निर्वाचन अधिकृत विनोदकुमार गौतमले जानकारी दिए ।
 
सो वडामा एक हजार ९०३ मत खसेको थियो । २०७४ सालको निर्वाचनमा पनि सो वडामा नेपाली कांग्रेसको प्यानलै विजयी भएको थियो ।
 
यस्तै, एमालेको गढ मानिएको वडा नं ३ को वडाध्यक्षमा नेपाली कांग्रेसका सोहेन्द्रराज खरेल विजयी भएका छन् । नेकपा एमालेका गुप्तनाथ भट्टराईलाई ८०७ मतान्तरले पछि पार्दै खरेल विजयी भएका हुन् ।
 
खरेलले १४८९ मत प्राप्त गरेका थिए भने एमालेका भट्टराईले ७८२ मत पाएका छन् । सो वडामा कांग्रेस र माओवादी केन्द्रबीच चुनावी तालमेल भएको थियो । कांग्रेसले तीन वटा वडा सदस्य तथा माओवादी केन्द्रले एउटा सदस्य जितेको छ ।
 
कांग्रेसबाट खुल्ला सदस्यमा शिव खनाल १२९३, महिला सदस्यमा वैशाखनी थरुनी १२७१, दलित महिला सदस्यमा १३०९ र माओवादी केन्द्रबाट वडा सदस्यमा ईश्वरप्रसाद जमरकट्टेल ९२८ मतका साथ विजयी भएका छन् ।
 
२०७४ सालको स्थानीय तहको निर्वाचनमा एमालेको प्यानलै विजय भएको थियो । एमालेको गढ रहेको सो वडामा यस पटक कांग्रेसले जितेको हो ।
 
यसैगरी, अर्को एमालेको गढ मानिएको वडा नं ४ को वडाध्यक्षमा नेपाली कांग्रेसका उमेदवार रामकुमार चौधरीसहित प्यानलै विजयी भएको छ । 
 
एमालेका उमेदवार रवीन्द्र चौधरीलाई ४३९ को मतान्तरले पछि पार्दै रामकुमार विजयी भएका हुन् । रामकुमारले ९९० मत पाएका छन् भने रवीन्द्रले ५५१ मत प्राप्त गरेका छन् ।
 
यस्तै, खुल्ला वडा सदस्यमा आस्मा खातुन ८३४, विश्वास रायमाझी ७७२, महिला सदस्य बबिता चौधरी ९०३ र दलित महिला सदस्य मीना विश्वकर्मा ८९४ मतका सात विजयी भएका छन् । सो वडामा १८५८ मत खसेको थियो ।
 
एमालेको गढका रुपमा रहेको सो वडामा २०७४ सालको निर्वाचनमा सो वडामा एमालेका रवीन्द्र चौधरीले जितेका थिए । 
 
२०५४ को चुनावमा जितेका उनले २०७४ को चुनावमा पनि दोहोर्‍याएका थिए । तेस्रो पटक पनि एमालेले उमेदवार बनाएका रवीन्द्रको पराजयले एमालेले २५ वर्षको विरासत पनि गुमाएको छ ।