बोस्टन- अमेरिकाको म्यासाच्युसेट्स राज्यको बोस्टनमा विशेष साङ्गीतिक कार्यक्रम गरी ‘माघे सङ्क्राति’ मनाइयो। बोस्टन स्थित मगर संघ, अमेरिका, म्यासाच्युसेट्स, बोस्टन च्याप्टरको अगुवाइमा माघे सङ्क्राति मनाइएको हो।
मगर संघ बोस्टन च्याप्टरले गत जनवरी १३ तारिख सोमबारका दिन साङ्गीतिक माहोलसहितको कार्यक्रम ‘माघे सङ्क्रान्ति-२०२५’ को आयोजना गरेको थियो। यस वर्षको माघे सङ्क्राति अङ्ग्रेजी पात्रो अनुसार जनवरी १४ तारिख मङ्गलबारका दिन परेको थियो। मगर जातिको राष्ट्रिय पर्वका रुपमा स्थापित यो चाड, मगर, मैथली, थारु, नेवार, किरातलगायत जातजातिहरुले आ-आफ्नो जातजातिको इतिहास, धर्म, परम्परा, रितिरिवाज, मान्यता आदिका आधारमा धुमधामका साथ मनाए। ब्राह्मण, क्षेत्रीलगायत अन्य जातजातिले पनि प्राथमिकता साथ मनाउने यो चाड, नेपालमा मात्र नभएर नेपाल बाहिर पनि विविध कार्यक्रम गरी मनाइयो।
“जहाँ रहे पनि जहाँ बसे पनि, नभुलौं हाम्रो मातृभूमिलाई,
जोगाइ राखौं युगौ युग, हाम्रो मौलिक कला, भाषा र संस्कृतिलाई !”
भन्ने मूल नाराका साथ मनाइएको उक्त कार्यक्रममा, अन्य जातजातिहरुको पनि उल्लेखनीय सहभागिता रहेको थियो।
मातृभूमि नेपालप्रतिको माया, विभिन्न नेपाली जातजातिको भाषा, भेष भुषा, मौलिक कला र संस्कृतिलाई जोगाइ राख्ने र साङ्गीतिक माहोलमा सामूहिक रुपमा ‘माघे सङ्क्रान्ति’ उल्लासका साथ मनाउने कार्यक्रमको मुख्य उद्देश्य रहेको थियो। कार्यक्रमको उद्देश्य अनुसार नै उल्लासमय रुपमा माघे सङ्क्राति मनाइएको आयोजकले दाबी गरेको छ।
कार्यक्रमको पहिलो चरणको उद्घाटन सत्रमा, मगर संघ, अमेरिकाका केन्द्रीय अध्यक्ष यम पुन मगरको प्रमुख आतिथ्यता, अमेरिकाको म्यासाच्युसेट्स राज्यका लागि नेपाल सरकारका अवैतनिक वाणिज्यदूत प्रल्हाद केसीको विशिष्ट आतिथ्यता र मगर संघ, अमेरिकाको केन्द्रीय समितिका पदाधिकारीहरु, नेपाली समुदायको विभिन्न संघ संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरु, सामाजिक व्यक्तित्वहरुलगायतको आतिथ्यता रहेको थियो।
संघको बोस्टन च्याप्टरका अध्यक्ष देवराज पुन मगरको अध्यक्षता रहेको उद्घाटन सत्र कार्यक्रमको उद्घाटन, प्रमुख अतिथि र उद्घाटन सत्रका अध्यक्षले संयुक्त रुपमा पानसमा दीप प्रज्वलित गरेर गरेका थिए। कार्यक्रमको उद्घाटन गरेपछि नेपाल र अमेरिकाको राष्ट्रिय गान गाएर दुबै देशप्रति श्रध्दा प्रकट गरिएको थियो। संस्थाका सह-सचिव मनोजकुमार पुन मगरले सञ्चालन गरेको कार्यक्रममा, सचिव बिकाश थापा मगरले स्वागत मन्तव्य व्यक्त गर्दै आगन्तुक पाहुना तथा सहभागीहरुलाई स्वागत गरेका थिए।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि एवम् केन्द्रीय अध्यक्ष मगरले आफ्ना लागि मात्र नभएर भावी सन्ततिका लागि पनि अमेरिकामा रहेका सम्पूर्ण मगरहरु एकबद्ध हुनु पर्ने खाँचो औल्याउदै मगर जातिको धर्म, कला, संस्कृति, परम्परा, रितिरिवाज आदिको जगेर्ना गर्नु पर्नेमा जोड दिए। उनले मगर जातिको राष्ट्रिय पर्वको अवसरमा विशेष कार्यक्रमको आयोजना गरेकोमा बोस्टन च्याप्टरलाई विशेष धन्यवाद दिदै कार्यक्रमको सफलताको कामनासहित माघे सङ्क्रातिको शुभकामना व्यक्त गरे।
कार्यक्रममा उपस्थित अन्य विशेष अतिथि, अतिथि तथा सहभागीहरुले पनि माघे सङ्क्रातिको अवसरमा नेपालीपन र पहिचान झल्काउने गर्व गर्न लायक कार्यक्रम आयोजना गरेकोमा आयोजकलाई धन्यवाद दिदै शुभकामना व्यक्त गरेका थिए। उद्घाटन सत्रको दौरानमा कलाकारहरुले नौमती बाजासहित साँस्कृतिक झाँकी प्रदर्शन गर्नुका साथै स्वागत नृत्यसमेत प्रस्तुत गरेका थिए।
माघे सङ्क्राति-२०२५’ कार्यक्रमको दोश्रो सत्र विविध सांस्कृतिक कार्यक्रममा केन्द्रित रहेको थियो। कार्यक्रममा कलाकारहरुले नेपालीपन एवम् पहिचान झल्काउने साङ्गीतिक कोसेलीहरु प्रस्तुत गरेर कार्यक्रम स्थललाई नेपालमय बनाएका थिए। साङ्गीतिक कार्यक्रमको दौरानमा कलाकारहरुले मगर जाति विशेष गीत तथा नृत्यहरु प्रस्तुत गर्नुका साथै अन्य नेपाली गीतहरु पनि गाएका थिए। उनीहरुले चर्चित नेपाली गीतहरुमा नृत्य गरेर साङ्गीतिक माहोललाई निकै तताएका थिए।
डिजे मुकुन्द भट्टराईको सङ्गीत संयोजन गर्ने कुशल कलाका कारण शृजित साङ्गीतिक माहोलमा सहभागीहरुले खुलेर मनोरञ्जन गरेका थिए। सहभागीहरुले माघे सङ्क्राति विशेष स्वादिष्ट परिकारहरु खादै र नेपाली गीत सङ्गीतमा नाच्दै, गाउदै र रमाउदै आपसमा शुभकामना आदानप्रदानसमेत गरेका थिए।
मगर संघ, अमेरिका अन्तर्गत गत वर्ष सन् २०२४ मा स्थापना गरिएको बोस्टन च्याप्टरका अध्यक्ष पुनले कार्यक्रम सोचे भन्दापनि सफलतापूर्वक सम्पन्न भएको प्रतिक्रिया दिएका छन्। उनले पहिलो पटक आयोजना गरेको माघे सङ्क्रान्ति विशेष कार्यक्रममा, संस्थाको कार्यसमिति तथा सदस्यहरुको अहोरात्र खटाइ, कलाकारहरुको अथक प्रयास, सहभागीहरुको उत्साहजनक सहभागिता र सहयोगीहरुको उत्प्रेरक साथ सहयोगले नै कार्यक्रम सफल भएको बताए।
कार्यक्रम सफल भएकोमा निकै खुशी हुदै उनले भने, ‘ कार्यक्रम सफल हुनुमा सबैको अमूल्य योगदान रह्यो। यसले हामीलाई निकै उर्जा थपिदिएको छ। सहयोगी मन सम्पूर्णलाई धन्यवाद !’ मगरहरुको राष्ट्रिय पर्व माघे सङ्क्रातिको अवसरमा शुभकामना दिदै अध्यक्ष पुनले भने, ‘कार्यक्रमको दौरानमा धेरै कुरा सिक्ने अवसर पनि मिल्यो। भविश्यमा यस्ता कार्यक्रमहरु अझ प्रभावकारी बनाउन थप सक्रिय रहनेछौं। साथै, सबैको यस्तै साथ र सहयोगको अपेक्षा पनि गर्दछौं।’
कार्यक्रमको अन्त्यतिर कार्यक्रम प्रायोजकहरु, कलाकारहरु, सहयोगीहरुलगायतलाई उनीहरुले पुर्याएको योगदानको कदर स्वरुप कदर तथा प्रशंसा-पत्र प्रदान गरिएको थियो। विकाश थापा, मनोजकुमार पुन मगर, राजेश थापा र दिलिप श्रीस पुन मगरले पालैपालो सञ्चालन गरेको कार्यक्रममा तीन सय जनाभन्दा बढीको सहभागिता रहेको आयोजको दाबी छ। मगर संघ, अमेरिका अन्तर्गत अमेरिकाको विभिन्न राज्यहरुमा रहेका अन्य च्याप्टरहरुले पनि विविध क्रियाकलापहरु गरेर माघे सङ्क्रान्ति मनाएको संघले जनाएको छ।
प्रतिक्रिया