ड्यालस (अमेरिका) । नेपाली समाज टेक्ससको आइतबार सम्पन्न साधारण सभाले नेपाली समुदायलाई आवश्यक पर्ने सेवा सुविधा उपलव्ध गराउनका लागि बिभिन्न नीति कार्यक्रम सहितका योजना पारित गरेको छ ।
आइतबार टेक्ससको नेपाली मन्दिरमा आयोजित साधारण सभाले हरेक वर्ग र समुदायका नेपालीहरुलाई संस्थाको सेवा पुर्याउन सबैलाई समेट्ने गरि कार्यक्रम अघि बढाउने योजना पारित गरेको हो । समाजले बढ्दो नेपाली समुदायलाई दृष्टिगत गरेर मन्दिरसँगैको घरजग्गा खरिद गर्ने प्रस्तावलाई पारित गरेको छ ।
उक्त भवन खरिद गर्न सकिएमा नेपाली पाठशाला, बिभिन्न कार्यक्रमहरु सञ्चलन गर्न सकिने भएकोले नेपाली समाज टेक्सस अहिले भवन खरिद प्रकृयालाई अघि बढाउन छलफलको चरणमा रहेको छ । साधारण सभाले टेक्ससका व्यबसायीहरुको विवरण समेटिएको बिजनेस डाइरेक्ट्री बनाउने, नेपालबाट अध्ययनको लागि आउने विद्यार्थीहरुको सहयोगका लागि करिअर गाइडलाइन कार्यशाला, रोजगारीका अवसरका बारेमा जानकारी दिने कार्यक्रम समेत प्रभावकारी रुपमा अघि बढाउने निर्णय साधारण सभाले गरेको छ ।
त्यस्तै नेपालीहरुको संख्या टेक्ससमा दिनानु दिन बढ्दै गएको र घटना, दुर्घटना बढ्दै गएकोले कुनै पनि घटना हुनासाथ गोफण्ड खोलेर सहयोग संकलन गर्ने परिपाटीलाई निरुत्साहित गर्दै जीवनबीमा गर्न प्रेरित गर्ने, सहयोग गर्ने कार्यक्रम समेत अघि बढाउने निर्णय गरेको छ । अशक्त, आर्थिक अवस्था कमजोर भएका व्यक्तिहरुको सहयोगार्थ आपतकालिन सहयोग कोष खडा गर्ने प्रस्ताव समेत साधारण सभाले पारित गरेको छ ।
साधारण सभाको उदघाटन गर्दै युलेस सिटीकी मेयर लिण्डा मार्टिनले नेपाली समुदायको आकर्षण युलेस सिटीमा बढ्र्द गएकोमा खुशी व्यक्त गरिन् । उनले समुदायका लागि आवश्यक पर्ने कुनै पनि सेवाका लागि सिटी तयार रहेको समेत वचन दिइन् ।
सोही अवसरमा मेयर प्रोटेम टीका पौडेलले समुदाय एकजुट भएमा अनेकन सुुविधाहरु लिन सकिने उल्लेख गर्दै अब समुदाय त्यतातिर पनि लाग्नुपर्नेमा जोड दिए ।
नेपाली समाज टेक्ससका अध्यक्ष राजेन्द्र वाग्लेको सभापतित्वमा भएको कार्यक्रममा नेपाली आध्यात्मिक तथा सांस्कृतिक केन्द्रकी अध्यक्ष सीता बस्नेत सापकोटाले समेत साधारण सभाको सफलताको कामना गरिन् ।
कार्यक्रम सञ्चालन समाजका उपाध्यक्ष जनक भण्डारीले गरेका थिए ।
साधारण सभाको बन्दशत्रले महासचिवको प्रगति विवरण र कोषाध्यक्ष रामकृष्ण यादवद्वारा प्रस्तुत आर्थिक प्रतिवेदनलाई पारित गरेको छ । चालु वर्ष सन् २०२४ मा समाजले एकलाख ७१ हजार ७ सय ९९ डलर आम्दानी गरेको र ८२ हजार खर्च भएको विवरण पेश गरिएको छ । हाल नेपाली समाज टेक्ससको खातामा तीनलाख १२ हजार २ सय २५ डलर मौज्दात रहेको छ । एक वर्षको अवधिमा समाजले खर्च कटाएर झण्डै ९० हजार थप वचत गर्न सफल भएको छ ।
प्रतिक्रिया