मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   

अमेरिकाको हक्युलेर्स सिटीबाट ‘नेपाल डे’लाई औपचारिक मान्यता प्रदान

अमेरिकाको हक्युलेर्स सिटीबाट ‘नेपाल डे’लाई औपचारिक मान्यता प्रदान


क्यालिफोर्निया । क्यालिफोर्नियाको सानफ्रान्सिस्कोस्थित हक्युलेर्स सिटीले नेपालीहरुको नयाँ वर्ष अर्थात अप्रिल १४ लाई नेपाल डेका रुपमा मनाउने प्रस्ताव पारित गरेको छ । 
 
सिटी काउन्सिलको मंगलबार बसेको बैठकले सो प्रस्ताव पारित गरेको हो । यससँगै नेपाली नयाँ वर्ष (अप्रिल १४) ले अमेरिकामा औपचारिक मान्यता प्राप्त गरेको छ । 
 
जुमबाट प्रत्यक्ष प्रशारण गरिएको सिटी काउन्सिलको बैठकमा नेपालका तर्फबाट नेपाली राजदूत प्राडा श्रीधर खत्री, नेपाल डे प्रस्तावका मुख्य संयोजनकर्ता डिल्ली भट्टराईलगायत बे एरियाका मुख्य अभियन्ताहरुको सहभागिता रहेको थियो । यस्तै, हक्युलेर्स सिटीका तर्फबाट मेयर डिओन बेली, उपमेयर तथा सिटी काउन्सिलका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।
 
बैठकको सम्बोधन गर्दै राजदूत खत्रीले अमेरिकी सहरमा नेपालीहरुको उपस्थिति बढ्दै जानु र यहाँका शिक्षा रोजगारलगायत प्रशासनिक पहुँचमा प्रभाव बढ्नुले नेपालीहरुको उपस्थिति सराहनीय रहेको बताए । 
 
सन् १९६४ मा आफू अमेरिका आउँदा औँलामा गन्न सकिने नेपालीहरु रहेको स्मरण गर्दै आज अमेरिकाभर रहेको देख्दा खुसी लागेको बताए । उनले हक्युलेस सिटीले औपचारिक रुपमा ‘नेपाल डे’ मनाउने निर्णय गर्नु नेपाल र अमेरिकाबीचको सम्बन्धको ‘सेतु’ भएको बताए ।
 
नेपाल डे प्रस्तावका मुख्य संयोजनकर्ता डिल्ली भट्टराईले हक्युलेस सिटीले आपचारिकरुपमा नेपाल डे मनाउने निर्णय गरेकोमा आमनेपालीको तर्फबाट आभार व्यक्त गर्दै भने, ‘निर्णयले हामीलाई अघि बढ्न हौसला र अवसर प्रदान गरेको छ । केही महिनाअघिमात्र हक्युलेस सिटीमा बसाइँ सरेका भट्टराई हक्युलेस हाइस्कुल प्यारेन्टस् टिचर्स अर्गनाइजेसन (पिटिओ) का उपाध्यक्ष छन् । 
 
सिटीले औपचारिक मान्यता दिएपछि अब नेपालीहरुले आफ्नो कला संस्कृति, चाडबाड एवम् रीतिरिवाजलाई परिस्कृत गर्न सिटीको सहयोगसमेत प्राप्त गर्न सक्ने भएका छन् ।
 
सो निर्णयबाट बे एरियामा बसोबास गर्ने धेरै नेपालीहरुले यस कार्यलाई निकै प्रशंसनीय मानेका छन् । बे एरियाका सक्रिय अभियन्ता एवम् युवा व्यवसायी प्रितेश कार्कीले यस निर्णयबाट अमेरिकी राजनीतिको मूलधारमा समेत अगाडि बढ्न नेपाली मूलका अमेरिकीहरुलाई औपचारिकरुपमा ढोका खुलेको विश्लेषण गरेका छन् ।