अमेरिका समाचार

अफगानिस्तानमा अझै ४३९ अमेरिकी सैनिक रहेको पेन्टागनको भनाइ

अफगानिस्तानमा अझै ४३९ अमेरिकी सैनिक रहेको पेन्टागनको भनाइ


वासिङ्टन । अफगानिस्तानमा अझै पनि ४३९ जना अमेरिकी सैनिक रहेको तथ्य सार्वजनिक भएको छ । अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले अरु सबै अमेरिकी सैनिकहरूलाई फिर्ता गरिए पनि ४३९ जना अफगानिस्तानमै रहेको जनाएको हो । 
 
अमेरिकाको नेतृत्वमा गएको सैनिक गठवन्धनका अधिकांश सैनिकहरू तालिवान विद्रोहीहरूले सत्ता कब्जा गरेपछि अफगानिस्तान छाडेर फिर्ता भएका थिए ।
 
सिनेटमा भएको एउटा सुनुवाईका क्रममा रक्षा मन्त्रालयका अधिकारीले अफगानिस्तानमा ४३९ जना अमेरिकी सैनिक अझै पनि अफगानिस्तानमै रहेको जानकारी दिएका हुन् । उनले अफगनिस्तानमा रहेका सबै अमेरिकी सैनिक आफूहरूको निरन्तर सम्पर्कमा रहेको पनि स्पष्ट पारेका छन् । 
 
मन्त्रालयका उपसचिव कोलिन काह्लले अफगानिस्तानमा रहेका अमेरिकी सैनिकमध्ये १७६ जना अफगानिस्तान छाड्न तयार रहेको जानकारी दिए । तर, २४३ जना भने अफगानिस्तान छाड्ने कि नछाड्ने भन्ने बारेमा अन्यौलमा रहेको पनि उपसचिव काह्लले बताए ।
 
अफगानिस्तानमा रहेको सैनिक टोलीले घोषितरुपमा गत अगस्ट ३१ मा अफगानिस्तान छाड्न सुरु गरेको थियो । तालिवान लडाकूहरूले सत्ता कब्जा गरेपछि गठबन्धन सैनिकले अफगानिस्तान छोड्ने निर्णय गरेको थियो । 
 
गठबन्धन सेनाले झण्डै २० वर्ष सेवा गर्दा पनि सफलता प्राप्त गर्न भने सकेन । अफगानिस्तानको युद्ध अमेरिकाले अन्य देशमा गरेका युद्धमध्ये सबैभन्दा लामो युद्ध हो । एजेन्सी