मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   

ट्वीटर र फेसबुकले एकाउन्ट हटाइदिएपछि ट्रम्पले नयाँ सामाजिक सञ्जाल सञ्चालन गर्ने

ट्वीटर र फेसबुकले एकाउन्ट हटाइदिएपछि ट्रम्पले नयाँ सामाजिक सञ्जाल सञ्चालन गर्ने


वासिङ्टन । अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले नयाँ सामाजिक सञ्जाल सञ्चालनमा ल्याउने घोषणा गरेका छन् । बहुचर्चित सामाजिक सञ्जालहरु ट्वीटर र फेसबुकले उनका आधिकारिक “एकाउन्ट” हटाइदिएपछि उनले नयाँ सामाजिक सञ्जाल सञ्चालन गर्ने घोषणा गरेका हुन् । 
 
अमेरिकामा गत वर्ष भएको राष्ट्रपतीय निर्वाचनका बेलामा तत्कालिन राष्ट्रपति ट्रम्पले आफैँ भ्रम फैलाएको, सामाजिक सद्भावलाई असर पारेकोलगायतका आरोप लगाउँदै ती सामाजिक सञ्जालहरुले उनको एकाउन्ट हटाइदिएका हुन् । विशेष गरेर ट्रम्पका समर्थकहरूको भीड अमेरिकी संसद् भवनमा प्रवेश गरेको घटनापछि उनलाई ट्विटर र फेसबुकले आफ्ना सञ्जालहरूबाट हटाएका थिए । 
 
उनीहरुले हटाएपछि पूर्वराष्ट्रपति ट्रम्पले आफ्ना अपडेटहरु सार्वजनिक गर्न छुट्टै ब्लग जस्तै अनलाइन सञ्चालन गरेका थिए । तर, त्यो पनि केही समयपछि बन्द भएको छ । आगामी सन् २०२४ मा हुने राष्ट्रपतीय निर्वाचनमा पनि उम्मेदवारी दिने तयारीमा रहेका ट्रम्पले त्यसैलाई लक्षित गरेर नयाँ सामाजिक सञ्जाल सञ्चालन गर्न लागेको जनाइएको छ ।  
 
उनले सञ्चालन गर्न लागेको सामाजिक सञ्जालको नाम “ट्रुथ सोसियल” राख्ने पनि तय भइसकेको उनले सचिवालयले जनाएको छ । ट्रुथ सामाजिक सञ्जालको सञ्चालन ट्रम्प मिडिया एण्ड टेक्नोलोजी ग्रुप (टीएमटीजी)ले गर्ने भएको छ । ग्रुपको अध्यक्ष ट्रम्प आफैँ रहेका छन् । 
 
ट्रम्पले उक्त सामाजिक सञ्जाल प्रविधिसम्बन्धी ठूला कम्पनीहरुको अत्याचारविरुद्ध उभिने बताएका छन् । अहिले प्रभावशाली रहेका सामाजिक सञ्जालहरुले अमेरिकाका विद्रोही आवाजलाई स्थान नदिएको ट्रम्पको आरोप छ ।  
 
ट्रुथ सामाजिक सञ्जालमा भिडिओ प्रसारण सेवा पनि समावेश गरिने भएको छ । भिडिओ सेवामा समाचार, पोडकास्टलगायतका धेरै सुविधा उपलब्ध गराइने टीएमटीजीले जानकारी दिएको छ । 
 
सो सामाजिक सञ्जाल आगामी महिनादेखि केही आमन्त्रित प्रयोगकर्ताका लागि तयार हुनेछ भने सन् २०२२ को पहिलो तीन महिना अमेरिकामा मात्रै उपलब्ध हुनेछ । एएफपी