मेरिल्याण्ड । मेरिल्याण्ड राज्यको डेमोक्रयाट पार्टीको केन्द्रीय सदस्यमा अर्जुन हमाल निर्वाचित भएका छन् ।
डेमोक्रयाट पार्टीको डिष्ट्रिक ८ मा एमिली कुकले (डेमोक्रयाट पार्टीका रजिस्टर्ड मतदाताले प्रत्यक्ष मतदानमार्फत निर्वाचित गरेका थिए) पद त्याग गर्ने घोषणा गरेपछि खाली भएको केन्द्रीय सदस्यको पदमा निर्वाचित गर्ने विषयमा केन्द्रित रहेर पार्टीका विभिन्न तहका नेताहरुले दर्जनभन्दा बढी प्रश्नमार्फत हमालको अन्तरवार्तासमेत लिएका थिए ।
अमेरिकामा राजनीति दलहरुले कोही पदाधिकारीले आकस्मिकरुपमा पदबाट राजीनामा दिएको खण्डमा वा कुनै कारणले पद रिक्त रहेको खण्डमा निर्वाचित केन्द्रीय सदस्यहरुले रिक्त पदमा पदपूर्ति गर्न निवेदन आह्वान गर्ने गर्छन् । सोही प्रक्रिया र मापदण्डका आधारमा हमाललाई केन्द्रीय सदस्यमा निर्वाचित गरिएको हो ।
मेरिल्याण्ड राज्यमा एएपिआईको केन्द्रीय सदस्यको रुपमा समेत काम गरिसकेका हमालले मंगलबार डेमोक्रयाट पार्टीको केन्द्रीय सदस्यको रुपमा शपथ ग्रहण गरेका छन् ।
मेरिल्याण्ड राज्यमा विगत १६ वर्षदेखि बस्दै आएका हमाल विभिन्न सामाजिक क्रियाकलापमा संलग्न रहेका छन् । पार्टीको केन्द्रीय सदस्यहरुलाई समेत निर्वाचित प्रतिनिधिको रुपमा जनताको काममा समर्पित गराउन राज्य सरकारको तर्फबाट शपथ ग्रहण गराउने र आधिकारिक प्रमाणपत्रसमेत प्रदान गरिन्छ ।
हमालले अब नेपाली मूलका पहिलो निर्वाचित डेलिगेट ह्यारी भण्डारीसँगै पार्टी केन्द्रीय समितिमा काम गर्नेछन् ।
पार्टीको केन्द्रीय समितिमा प्रवेश गरेकोमा मेरिल्याण्ड मेरिल्याण्ड जनरल एसेम्बलीका डेलिगेट ह्यारी भण्डारीले एक विज्ञप्ति जारी गर्दै हमाललाई हार्दिक बधाई ज्ञापनसहित आगामी दिनमा थप उपलब्धिका लागि शुभकामना व्यक्त गरेका छन् ।
प्रतिक्रिया