वासिङ्टन । अमेरिकाले कोभिडका कारण विदेशी हवाई यात्रुका लागि लगाएको यात्रा प्रतिबन्ध नोभेम्बरदेखि हटाउने भएको छ । तर, सबै यात्रुले खोप लगाएको वा कोभिड परीक्षण गरेको हुनुपर्नेछ ।
कोरोना महामारी बढेसँगै १८ महिनाअघि पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले विदेशी नागरिकलाई यात्रा प्रतिबन्ध लगाएका थिए । अमेरिकाले लगाएको अप्रत्याशित प्रतिबन्धका कारण विभिन्न देशबाट अमेरिका गएर बसेका व्यक्तिलाई उनीहरुका छिमेकी, साथीभाई र आफन्तले महिनौंदेखि भेट गर्न पाएका थिएनन् ।
नयाँ नियम नोभेम्बरको सुरुदेखि लागू हुने राष्ट्रपति जो बाइडेनका कोरोनाभाइरससम्बन्धी संयोजक जेफ्री जाइन्टसले जानाकारी दिए । कोभिड यात्रा प्रतिबन्ध हटाउन युरोपसहित अन्य मुलुकले अमेरिकामाथि दबाब दिदै आएका थिए ।
तर, भाइरस फैलनबाट रोक्न हवाई यात्रामा सुरक्षाका पर्याप्त उपाय अप्नाइने बताइएको छ । ‘सबैभन्दा महत्वपूर्ण पक्ष त अमेरिका प्रवेश गर्न चाहने विदेशी नागरिकले पूर्ण खोप लगाएको हुनुपर्छ,’ जाइन्टसले भने ।
अमेरिकामा कोरोनाका कारण अहिलेसम्म ६ लाख ७५ हजार जनाको मृत्यु भइसकेको छ । अहिले पनि कोरोनाका कारण दिनहुँ औषत १५ सय जनाको मृत्यु भएको छ । नयाँ नियम अमेरिकाले स्वीकृत गरेको खोप लगाएका व्यक्तिको हकमा मात्र हो वा सबैलाई लागू हुने हो भन्ने बारेमा केही प्रष्ट पारिएको छैन् । यस बारेमा अमेरिकाको रोग नियन्त्रण केन्द्रले थप निर्णय गर्ने जाइन्टसले बताए ।
अमेरिकाका लागि विमान चढ्नुअघि यात्रुले आफूले पूर्ण खोप लगाएको र कोभिड नेगेटिभ देखिएको प्रमाण अनिवार्य पेस गर्नुपर्नेछ । नेगेटिभ देखिने प्रमाण पछिल्लो तीन दिन भित्रको हुनुपर्छ । पूर्ण खोप नलगाएका अमेरिकीले भने सोही दिन परीक्षण गरी कोभिड नेगेटिभ देखिने प्रमाण पेस गर्नुपर्नेछ । सबै यात्रुले मास्क अनिवार्य लगाउनु पर्नेछ ।
क्यानडा र मेक्सिकोबाट अमेरिका गुड्ने सबै सबारी साधनहरुमाथि लगाइएको यसअघिको प्रतिबन्ध भने कायमै गरिएको छ । एजेन्सी
प्रतिक्रिया