मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   

एन्पाको चौंथो वैज्ञानिक सम्मेलन सम्पन्न

एन्पाको चौंथो वैज्ञानिक सम्मेलन सम्पन्न


अमेरिका । अमेरिकामा रहेका नेपाली भौतिकशास्त्रीहरुको संस्था एसोसिएसन अफ नेपाली फिजिसिस्टस इन अमेरिका (एन्पा) को चौंथो वैज्ञानिक सम्मेलन नोबेल पुरस्कार विजेता वैज्ञानिक डा. योकिम फ्रान्कको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । 

 
तीन दिने उक्त सम्मेलन शुक्रबार जुलाई १६ देखि सुरू भएको थियो भने तेस्रो दिन संस्थाको चौंथो वार्षिक साधारण सभा जुलाई १८ मा सम्पन्न भएको छ । 
 
संस्थाका कार्यकारी सदस्य डा. नवीन मालाकारको संयोजकत्वमा भएको सो सम्मेलनमा अमेरिका, नेपाल, जापान, यु.के, क्यानडा र इन्डियाबाट जम्मा ११७ वटा वैज्ञानिक अनुसन्धान सोधपत्रहरु प्रस्तुत गरिएका थिए भने ३०० भन्दा बढी सहभागी भएका थिए । 
 
नियमित अनुसन्धान–पत्रहरुबाहेक अनुसन्धानमा सहकार्यको महत्त्व विषयमा र नेपालको अनुसन्धान विकासमा नेपाली डायस्पोरा वैज्ञानिकहरुको सहयोगको (भूमिका) विषयमा समेत छलफल भएको थियो । कोभिड–१९ को महामारीले गर्दा यसवर्षको सम्पूर्ण कार्यक्रम अनलाइन प्रविधि वेभइएक्समार्फत गरिएको थियो । सम्मेलनमा प्रस्तुत भएका सोधपत्रहरुमध्ये  छानिएका सोधपत्रहरु नेपाल भौतिक विज्ञान समाजको विशेष संस्करणमा प्रकाशित गरिनेछन् ।
 
सम्मेलनमा विभिन्न विश्वविद्यालयका प्राध्यापकहरु, विद्यार्थीहरु र विभिन्न अनुसन्धान प्रयोगशाला तथा उद्योगहरुमा कार्यरत वैज्ञानिकहरु सहभागी भएका थिए । सम्मेलनका सबै दिनहरुमा उत्साहप्रद उपस्थिति रहेको थियो । कार्यक्रममा उत्कृष्ट अनुसन्धान पत्रहरु प्रस्तुत गरिएका थिए । 
 
सम्मेलनको पहिलो दिन रसायनशास्त्रमा नोबेल पुरस्कार बिजेता कोलम्बिया विश्वविद्यालय, न्यूयोर्क, संयुक्तराज्य अमेरिकाका प्रोफेसर तथा वैज्ञानिक डा. योकिम फ्रान्क विशिष्ट वक्ताको रुपमा क्रायो–इलेक्ट्रोन माइक्रोस्कोपीको विकास जसले मानव आँखामा नदेखिने वस्तुहरूको सफल दृश्यमा निर्माणमा गरेको योगदानको बारेमा मन्तव्य दिएका थिए । 
 
त्यस्तै, सम्मेलनको दोस्रो दिन लुजिआना स्टेट युनिभर्सिटी, व्याटन रूज, अमेरिकाका प्रोफेसर डा. विजय कार्कीले आफ्नै अनुभवमा आधारित रहेर अन्तरविषयको अनुसन्धानको बारेमा नेपालीहरुमाझ आफ्नो प्रेरणात्मक विचार राखेका थिए । 
 
सम्मेलनको दोस्रो दिन फ्रंक्लिन पेअर्स विश्वविद्यालय, अमेरिकाका प्रोफेसर डा. रुद्र अर्यालको संयोजनमा नेपालमा अनुसन्धान विकासमा नेपाली डायस्पोरा वैज्ञानिकहरूको संलग्नतालाई कसरी प्रभावकारी बनाउन सकिन्छ भन्ने सामूहिक छलफल भयो । छलफलमा नाष्ट कूलपति डा. सुनिलबाबु श्रेष्ठ, नीति अनुसन्धान संस्थानका कार्यकारी अध्यक्ष डा. विष्णुराज उप्रेती र त्रिभुवन विश्वविद्यालय विज्ञान र प्रविधि संस्थानका डिन डा. विनिल अर्यालले नेपालमा अनुसन्धान अवसर र सीमितताको बारेमा चर्चा गरेका थिए । 
 
एन्पा (ANPA) अमेरिकामा रहेका नेपाली भौतिकशास्त्रीहरुको संस्था हो । यसले आफ्नो स्थापनादेखि नै प्रत्येक वर्ष वैज्ञानिक सम्मेलन गर्दै आएको छ । यसवर्षको सम्मेलनमा नेपालका दुई संस्थाहरु– नेपाल भौतिक विज्ञान समाज र पोखरास्थित फिजिक्स रिसर्च इनिसियेटिभ सहआयोजकको रुपमा रहेका थिए । 
 
एन्पाले आफ्नो स्थापनाकालदेखि नै विभिन्न गोष्ठीहरु, नियमितरुपमा कम्प्युटर प्रोग्रामिङ कक्षाहरु, मासिकरुपमा विभिन्न खोजमूलक सोधपत्र प्रस्तुत गर्ने जस्ता कार्यक्रमहरु आयोजना गर्दै आएको छ । संस्थाको वार्षिक साधारण सभा जुलाई १८ मा सम्पन्न गरिएको छ, जसमा वर्षभरि गरिएका सम्पूर्ण कार्यक्रमहरु र अहिलेसम्मको आर्थिक विवरण पेश गरिएको थियो ।