मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   

इजरायलका प्रधानमन्त्री नाफ्ताली बेनेटलाई अमेरिकी राष्ट्रपतिको बधाई

इजरायलका प्रधानमन्त्री नाफ्ताली बेनेटलाई अमेरिकी राष्ट्रपतिको बधाई


जेरुसेलम । अमेरिकी राष्ट्रपति जो बाइडेनले इजरायलका नवनियुक्त प्रधानमन्त्री नाफ्ताली बेनेटलाई बधाई दिएका छन् । अमेरिकी राष्ट्रपति बाइडेनले फोन गरेर प्रधानमन्त्री बेनेटलाई बधाई ज्ञापन गरेका छन् । 
 
इजरायलको संसद् नेसेटमा आइतबार साँझ सम्पन्न मतदानमा नाफ्ताली बेनेटले झिनो मतान्तरबाट बहुमत हासिल गर्न सफल भएका थिए । बेनेट आइतबार मात्र प्रधानमन्त्री नियुक्त भएको र उनले आइतबार राति नै प्रधानमन्त्री पदको सपथ लिएको बताइएको छ ।
 
इजरायलका प्रधानमन्त्री बेनेटले सपथ लिएको दुई घन्टापछि नै अमेरिकी राष्ट्रपति जो बाइडेनले उनलाई फोन गरेर बधाई दिएको समाचारमा जनाइएको छ । त्यस फोनवार्ताका क्रममा अमेरिकाले आगामी दिनमा पनि विगतमा जस्तै इजरायलसँग मिलेर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । 
 
त्यस फोनवार्ताका क्रममा अमेरिकी राष्ट्रपति जो बाइडेनले अमेरिकाको इजरायलभन्दा नजिक अर्को कुनै पनि देश नरहेको बताएको समाचारमा जनाइएको छ । उनले आइतबार राति इजरायलको  प्रधानमन्त्रीका रुपमा सपथ लिएका थिए । त्यसलगत्तै अमेरिकी राष्ट्रपति जो बाइडेनले उनलाई फोन गरेर बधाई दिएका थिए । 
 
इजरायलमा लामो समयदेखि प्रधानमन्त्रीका रुपमा सेवा गरेका बेन्जामिन नेतान्याहु बाहिरिएपछि आइतबारमात्र बेनेट इजरायलको प्रधानमन्त्रीमा नियुक्त भएका हुन् । इजरायलमा सत्तारुढ लिकुड पार्टीका नेता एवं प्रधानमन्त्री बेन्जामिन नेतन्याहूको १२ वर्षे शासन समाप्त भएको छ । बेनेटले झिनो मतान्तरबाट बहुमत हासिल गर्न सफल भएसँगै नेतन्याहूको पद गुमेको हो ।
 
कूल १२० सदस्यीय संसदमा भएको मतदानमा बेनेटले ६० मत पाएका थिए भने विपक्षमा ५९ मत परेको थियो । बेनेटलाई इजरायलका कट्टरपन्थी यहुदी, बामपन्थी र अरब कट्टरपन्थी समेतका आठ वटा दलको समर्थन थियो ।
 
सन् २०१९ यता चार पटक संसदको चुनाव गर्दा पनि कुनै दल वा गठबन्धनले बहुमत ल्याउन सकेको थिएन । पाँचौं चुनाव हुने सम्भावना बढेपछि अविश्वसनीय लाग्ने नयाँ गठबन्धन तयार भएको थियो । जसमा बेनेट स्वयंले प्रधानमन्त्री नेतन्याहूको साथ छाडेका थिए । बेनेटले धार्मिक अतिराष्ट्रवादी यामिना पार्टीको नेतृत्व गर्छन्  ।
 
यो दलले संसदमा सात सिट मात्र जितेको छ, तर नयाँ गठबन्धनमा उनी “किङ मेकर” का रुपमा देखा परेका थिए । नयाँ सत्ता गठबन्धनमा ४९ वर्षीय बेनेट पहिलो दुई वर्ष प्रधानमन्त्री हुनेछन् भने बाँकी दुई वर्ष मुख्य विपक्षी पार्टीका नेता याईर लापिड प्रधानमन्त्री हुनेछन् ।
 
प्यालेस्टाइनलाई स्वतन्त्रता दिन नहुने कट्टर विचार राख्दै आएका बेनेट प्यालेस्टिनीको बसोबास रहेको अधिनस्थ पश्चिम किनारा र पूर्वी जेरुसेलममा यहूदी बस्ती बिस्तार गर्नुपर्ने धारणा राख्छन् । बेनेटको यस विचारको अन्तर्राष्ट्रिय समुदायले विगतदेखि नै विरोध गर्दै आएका छन् । 
 
तत्कालीन अमेरिकी राष्ट्रपति बाराक ओबामाको दबाबमा पूर्वी जेरुसेलम र पश्चिम किनारामा यहूदी बस्ती बिस्तारमा ढिलाई गरेको भन्दै प्रधानमन्त्री नेतन्याहूको कटु आलोचना गरेका थिए । 
 
उनी पश्चिम किनारामा यहूदी बस्ती बिस्तार कार्यक्रमका प्रमुख पनि थिए ।  संसदमा सन् २०१३ मा पहिलो पटक चुनिएका थिए । प्रधानमन्त्री नेतन्याहूको मन्त्री परिषदमा उनले महत्त्वपूर्ण मन्त्रालय सम्हाल्नुका साथै रक्षामन्त्रीसमेत बनेका थिए । सिन्ह्वा