मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   

अमेरिकी अर्थतन्त्र तीव्र गतिमा बढ्दै, पर्याप्त कामदार र आपूर्तिको भने अभाव

अमेरिकी अर्थतन्त्र तीव्र गतिमा बढ्दै, पर्याप्त कामदार र आपूर्तिको भने अभाव


वासिङ्टन । कोरोनाभाइरस महामारीका कारण सन् २०२० मा ठूलो आर्थिक सङ्कट र बेरोजगारी झेलेको अमेरिकी अर्थतन्त्र अहिले तीव्र गतिमा अघि बढेको छ । 
 
कोरोनाभाइरसको खोप लगाएसँगै खुला भइरहेको अमेरिकी अर्थतन्त्र अहिले कामदारको अभाव र आपूर्ति व्यवस्थामा समस्या झेलिरहेको छ । अमेरिकी धेरै कम्पनीले कामदार पाउन सकेका छैनन् भने ग्राहकका मागलाई पूर्ति गर्नेगरी सामानको आपूर्ति गर्न समस्या परेको छ । 
 
फिलाडेल्फियास्थित पारिवारिक फर्म चलाउने एल्मर सुल्ज सर्भिसेजका अध्यक्ष कर्बी माल्लोनले भने, “अहिले परिस्थिति बिस्फोटक छ अर्थात् बत्ती बाल्नु जत्तिकै छ ।” यस कम्पनीले रेस्टुराँ र अन्य ग्राहकका लागि भान्साघरका सामानको मर्मतसम्भारसम्बन्धी सेवा दिन्छ । 
 
उनले भने, “श्रम बजार नियन्त्रण बाहिर छ । हामीले प्राविधिक भेट्टाउन सकेका छैनौँ । हामीले यति चाँडै बजार खोल्यौं कि हामी सायद तयार नै थिएनौँ ।”
 
आर्थिक क्षेत्रका विज्ञहरुले पनि अमेरिकी अर्थतन्त्रमा पछिल्लो परिस्थिति अनुमान गरेकै थिएनन् । “के यो अर्थतन्त्र सबल भएकै कारण उत्पन्न भएको हो वा संघीय सरकारले उपलब्ध गराएको राहतका कारण भएको हो ?” अर्थ विदहरुको प्रश्न यही छ । 
 
धेरै पक्षबाट विचार गर्दा खुसी हुनुपर्ने कारणहरु छन्: अमेरिकी अर्थतन्त्र जनवरीदेखि मार्चबीचको अवधिमा ६.४ प्रतिशतले वृद्धि भएको छ । पछिल्लो त्रैमासिक अवधिमा अर्थतन्त्र झन्डै दोब्बर अंकले वृद्धि हुँदैछ । 
 
रोजगारीका क्षेत्रमा गत मे महिना पाँच लाख ५९ हजार नयाँ रोजगारी सिर्जना भएको थियो । गत अप्रिल महिनामा यस्तो रोजगारी दुई लाख ७८ हजार मात्र थप भएको थियो । 
 
अर्कोतर्फ, घरमै महिनौ बस्न विवश लाखौँ उपभोक्ता बजारमा खुला रुपमा निस्किएका छन् र उनीहरु केही न केही सामान किन्न आतुर देखिएका छन् । उनीहरुलाई संघीय सरकारले यसै वर्ष उपलब्ध गराएको एक हजार ४०० अमेरिकी डलरको राहतले पनि खर्च गर्न उक्साएको छ ।
 
त्यस्तै अमेरिकी कारखानाहरु पनि आपूर्ति र कामदारको कमीकै बाबजूद पनि उच्च क्षमतामा सञ्चालन हुन थालेका छन् । सप्लाई म्यानेजमेन्ट इन्स्टिच्यूटको सूचक पनि गत महिना ६१।२ विन्दुमा पुगेको थियो । यो सूचकले ५० विन्दुभन्दा माथि भएमा वृद्धि जनाउँछ । अमेरिकामा प्रमुख १८ मध्ये १६ वटा कम्पनीले पर्याप्त आपूर्ति गर्न नसकेको जनाएको पनि इन्स्टिच्यूटको भनाइ छ । एपी