वासिङ्टन । अमेरिकाका वरिष्ठ सरुवा रोग विशेषज्ञ एन्टोनी फाउचीले कोरोनाभाइरसविरुद्धको लडाईं अहिले नै जितिएको घोषणा गर्नु अति छिटो हुने दाबी गरेका छन् ।
सङ्क्रमण रोगसम्बन्धी अमेरिकाको राष्ट्रिय संस्थाका निर्देशकसमेत रहेका फाउचीले कोरोनाभाइरसबाट सङ्क्रमित र मृतकहरुको संख्या घटेपनि जितिसकियो भन्न अहिले नै नहुने बताएका हुन् ।
“हामीले अहिले नै कोरोनाभाइरसविरुद्धको जित भइसक्यो भनेर घोषणा गर्न चाहदैनौँ, किनकि हामी अहिले पनि त्यससँग लडिरहेका छौँ,” उनले भने । तर, धेरैभन्दा धेरै व्यक्तिहरुले खोप लगाइसकेको र समुदायस्तरमै खोप अभियान पुगेकोले रोगबाट सुरक्षाको अवस्था भने राम्रो रहेको उनको भनाइ छ ।
अमेरिकी एक प्रतिष्ठित पत्रिकासँगको कुराकानीका क्रममा उनले कोरोनाभाइरसको खतरा भने पूर्ण रुपमा अन्त्य भइनसकेको उल्लेख गरेका छन् । भाइरसको नयाँ नयाँ संस्करणहरु आइरहेकाले पनि खतरापूर्ण अवस्था भने रहिरहने उनले तर्क गरेका छन् ।
अमेरिका अहिले पनि सवैभन्दा धेरै सङ्क्रमितहरु भएको मुलुकमा पर्दछ । अमेरिकामा अहिलेसम्म कुल तीन करोड ४० लाख ४३ हजार ११० जना कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् । ती मध्ये छ लाख नौ हजार ५४४ जनाको मृत्यु भएको छ । एएनआई
प्रतिक्रिया