मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिजनेस/ इकोनोमी   

१६ खर्ब ४७ अर्ब ५७ करोडको बजेट प्रस्तुत

१६ खर्ब ४७ अर्ब ५७ करोडको बजेट प्रस्तुत


भरतपुर । सरकारले आगामी आर्थिक वर्षका लागि १६ खर्ब ४७ अर्ब ५७ करोडको बजेट सार्वजनिक गरेको छ । सिंहदरबारमा अर्थमन्त्री विष्णु पौडेलले कुल विनियोजनमध्ये संघले खर्च गर्ने चालुतर्फ छ खर्ब ७८ अर्ब ६१ करोड, पूँजीगततर्फ तीन खर्ब ७४ अर्ब २६ करोड र वित्तीय व्यवस्थातर्फ दुई खर्ब सात अर्ब ९७ करोड बजेट प्रस्तुत गरेका छन् ।
 
त्यसैगरी प्रदेश र स्थानीय तहमा वित्तीय हस्तान्तरणतर्फ तीन खर्ब ८६ अर्ब ७१ करोड तथा चालु खर्चमा समानीकरण अनुदानसहित तीन खर्ब २५ अर्ब ७४ करोड र पूँजीगततर्फ ६० अर्ब ९७ करोड छुट्याइएको छ ।
 
आगामी आवका लागि अनुमान गरिएको खर्च राजस्वबाट १० खर्ब २४ अर्ब ९० करोड र वैदेशिक अनुदानबाट ६३ अर्ब ३७ करोड बेहोरिने अर्थमन्त्री पौडेलले बताए । चालु, पुँजीगत र वित्तीय हस्तान्तरणतर्फ विनियोजित खर्चमा राजस्व र वैदेशिक अनुदानबाट बेहोर्दा न्यून हुने पाँच खर्ब ५९ अर्ब ३० करोडमध्ये वैदेशिक ऋणबाट रु तीन खर्ब नौ अर्ब २९ करोड र आन्तरिक ऋणबाट दुई खर्ब ५० अर्ब बेहोरिने अर्थमन्त्री पौडेलले बताए ।
 
सरकारले प्रस्तुत गरेको बजेटमा चितवन जिल्ला पनि प्राथमिकतामा परेको छ । चितवनमा सरकारले बजेट भाषणमार्फत १० आयोजना पारेको छ । सरकारले चितवनको माडीमा राममन्दिर निर्माणको लागि बजेट विनियोजन गरेको छ । गत रामनवमीको दिन प्रधानमन्त्री केपी शर्मा ओलीले राम सीता र लक्ष्मणको मूर्ति बनाएर माडी पठाएका थिए ।
 
यस्तै, सरकारले नारायणी नदीको त्रिवेणीदेखि नारायणगढ, देवघाट हुँदै दासढुंगासम्मको खण्डलाई मदन–आश्रित जलमार्ग नामाकरण गर्दै बजेट विनियोजन गरेको छ ।
 
यस्तै, चितवनको नारायणी नदीमा पानीजहाज सञ्चालनका लागि टर्मिनललगायतका पूर्वाधार निर्माण गर्नका लागि आवश्यक रकम बिनियोजन गरिएको छ । यस्तै, नारायणीको सडक पुललगायत देशका १० वटा सडक पुललाई स्तरोन्नति आकर्षक सिग्नेचर ब्रिजले प्रतिस्थापन गरिने योजना सरकारले बनाएको छ । ती पुलको डिजाइन एवम् विस्तृत परियोजना प्रतिवेदन तयार गर्न ख्यातिप्राप्त अन्तर्राष्ट्रिय परामर्श दातालाई सहभागी गराइनेछ ।
 
यस्तै भरतपुर विमानस्थलको विस्तार एवम् स्तरोन्नति गरिने बजेटमा उल्लेख गरिएको छ । देशभरका आन्तरिक विमानस्थलको विस्तार एवम् स्तरोन्नतिको लागि एक अर्ब ३१ करोड बजेट विनियोजन गरेको छ ।
 
चितवन र मकवानपुर जिल्लाका राष्ट्रिय निकुञ्ज क्षेत्रमा पर्ने खण्डको पुनःरेखाङ्कन गरी निर्माण गरिने अर्थमन्त्री पौडेलले बजेटमा प्रस्तुत गरे । देवघाटलगायत देशभरका धार्मिक क्षेत्रको संरक्षण र विकासको लागि बजेट व्यवस्था गरिएको छ ।
 
रत्ननगर नगरपालिकासहित १७ स्थानमा सरकारले कृषि थोक बजार स्थापना गर्ने भएको छ । आगामी आवमा समृद्ध तराई–मधेस सिँचाई विकास कार्यक्रमअन्तर्गत चितवन, नवलपरासीलगायत २५ जिल्लाको २० हजार हेक्टर खेतीयोग्य जमिनमा सिँचाई सुविधा बिस्तार गर्न ५ हजार स्यालो ट्युबेल र २ सय डिप ट्युबेल जडान गरिने बजेटमा उल्लेख छ । उक्त योजनाका लागि २ अर्ब ३४ करोड रुपैयाँ विनियोजन गरिएको छ ।
 
यसैगरी निजी क्षेत्रसँगको सहकार्यमा चितवन, कन्चनपुर, बर्दिया, नुवाकोट र दोलखामा प्रकृतिमा आधारित पर्यटन पूर्वाधार विकास कार्यक्रम सञ्चालन गरिने उनले बताए ।
 
यस्तै, चितवन, पर्सालगायत तराई मधेशका १३ जिल्लामा कार्बन उत्सर्जन न्यूनीकरण कार्यक्रम सञ्चालन गर्न बजेटको व्यवस्था गरिएको छ । जलवायु परिवर्तनको प्रतिकुल प्रभाव न्यूनीकरण गर्न स्थानीय समुदायको क्षमता अभिवृद्धि गर्ने अर्थमन्त्री पौडेलले बताए अमलेखगन्जदेखि चितवनको लोथरसम्म पेट्रोलियम पाइपलाइनलाई तीन वर्षभित्र सञ्चालनमा ल्याइने उनले बताए ।
 
क्यान्सर रोगको अध्ययन, अनुसन्धान र उपचार गर्न राष्ट्रिय क्यान्सर रोग अध्ययन संस्थान स्थापना गरी भरतपुरको विपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, भक्तपुर क्यान्सर अस्पताल र सुशील कोइराला प्रखर क्यान्सर अस्पताललाई संस्थान मातहत सञ्चालन गरिने व्यवस्था गरिएको छ । भरतपुर क्यान्सर अस्पतालसहित ६ वठा ठूला अस्पतालको पूर्वाधार निर्माण गर्न एक अर्ब २८ करोड रूपैयाँ विनियोजन गरिएको छ ।
 
भरतपुरलगायत ठूला सहरमा विद्युतीय भूमिगत तार निर्माणको काम यसै आर्थिक वर्षमा सम्पन्न गर्ने बजेटमा उल्लेख छ । जसका लागि पर्याप्त बजेट उपलब्ध गराउने अर्थमन्त्री पौडेलले बताए । पूर्वपश्चिम राजमार्गका सडकहरुमा अधिकतम् गतियुक्त, सुरूङमार्ग, उचाइयुक्त पुल, फ्लाइओभर वन्यजन्तु मार्ग बनाइने अर्थमन्त्री पौडेलले बताए ।
 
यस्तै, चेपाङ, माझी, मुसहरलगायत आर्थिक सामाजिक रुपमा पिछडिएका, कोभिड संक्रमितबाट मृत्यु भएका परिवारका छोराछोरीलाई पठनपाठनको लागि बजेट विनियोजन गरिएको छ ।
 
स्वास्थ्य क्षेत्रमा बजेट वृद्धि
 
सरकारले स्वास्थ्य क्षेत्रमा बजेट वृद्धि गरेको छ । स्वास्थ्य क्षेत्रमा एक खर्ब २२ अर्ब ७७ करोड बजेट विनियोजन गरिएको छ । अर्थमन्त्री पौडेलले कोरोना संक्रमण न्यूनीकरणका लागि बजेट केन्द्रीकृत गरेको र बजेट अभाव हुन नदिने बताए । यस्तै सरकारले कोभिड–१९ को रोकथाम, उपचार र नियन्त्रणका लागि रू ३७ अर्ब ५३ करोड विनियोजन गरेको छ । यस्तै सरकारले कोभिड–१९ विरूद्धको खोपका लागि २६ अर्ब ७५ करोड बजेट विनियोजन गरेको छ ।
 
सामाजिक सुरक्षाभत्तामा ३३ प्रतिशतले वृद्धि
 
सरकारले वृद्ध भत्तालगायत सबै प्रकारका सामाजिक सुरक्षा भत्तामा ३३ प्रतिशले वृद्धि गर्ने भएको छ । हाल ज्येष्ठ नागरिक भत्ता मासिक रू तीन हजाबाट चार हजार पुगेको छ ।
 
सबै नेपालीलाई खोप
 
सरकारले कोरोनाविरूद्धको खोपका लागि २६ अर्ब ७५ करोड बजेट विनियोजन गरेको छ । सबै नेपाली नागरिकलाई निःशुल्क खोप उपलब्ध गराइने जानकारी पौडेलले दिए ।
 
दुई वर्षभित्र सबै स्थानीय तह क्षयरोगमुक्त
 
सरकारले आगामी दुई वर्षभित्र सबै स्थानीय तहलाई क्षयरोगमुक्त घोषणा गर्ने भएको छ । आगामी आर्थिक वर्षको बजेट वक्तव्यमा मलेरिया, क्षयरोग, एड्स तथा एचआइभी र कुष्टरोग नियन्त्रणका लागि एक खर्ब ४६ करोड विनियोजन गरिएको छ ।
 
कोभिड–१९ का सङ्क्रमितको रोकथाममा प्रत्यक्ष रुपमा खटिने चिकित्सक, स्वास्थ्यकर्मी, सरसफाइकर्मी, कर्मचारी र सुरक्षाकर्मीलाई प्रदान गरिने जोखिम भत्तालाई निरन्तरता दिइएको छ । विपन्न नागरिकलाई मुटु, मिर्गौला, क्यान्सर, अल्जाइमर, मस्तिष्का घात, सिकसलेसलगायतका रोगमा निःशुल्क औषधि उपचार गर्न रू दुई अर्ब ५० करोड विनियोजन गरिएको छ ।
 
चालू आवभित्र काठमाडौँ उपत्यकामा ३०० शøया र सातवटै प्रदेशमा ५० शøयाको सरूवा रोग अस्पताल सम्पन्न गर्नका लागि रू एक अर्ब ३० करोड विनियोजन गरिएको छ । सबै जिल्ला अस्पतालमा प्रसूति र नवजात शिशु स्याहार केन्द्र सञ्चालनमा ल्याइने र सबै सरकारी अस्पतालमा निःसन्तान दम्पतीका लागि आइबिएस सेवा सञ्चालन गरिने बजेट वक्तव्यमा उल्लेख छ ।
 
यसैगरी आर्थिक वर्षदेखि ३९७ स्थानीय तहका निर्माण गर्न थालिएका अस्पताल दुई वर्षभित्र सम्पन्न गरिने, अस्पताल बन्न बाँकी स्थानीय तहमा आगामी आव २०७८/०७९ बजेट विनियोजन गरिने उल्लेख छ । ती स्थानीयतहमा अस्पताल बनाउनका लागि रू ६ अर्ब १५ करोड विनियोजन गरिएको छ । अर्थमन्त्री पौडेलले बालबालिकालाई १३ प्रकारका खोप लगाई आगामी वर्ष पूर्णखोपयुक्त मुलुक बनाउने घोषणा गरेका छन् ।
 
नतिजामूलक शैक्षिक प्रणाली लागू गरिने
 
अर्थमन्त्री पौडेलद्वारा सार्वजनिक आगामी आर्थिक वर्षको बजेटमा वक्तव्यमा मानवपूँजीको आधारका रहेको शिक्षालाई दक्ष र गुणस्तीय बनाउन अनुकूल वातावरण निर्माण गरिने प्रतिबद्धता व्यक्त गरिएको छ ।