अमेरिका समाचार

अमेरिकाको मार्च महिनाको व्यापार घाटा ७४.४ अर्ब डलर पुग्यो

अमेरिकाको मार्च महिनाको व्यापार घाटा ७४.४ अर्ब डलर पुग्यो


वासिङ्टन । संयुक्तराज्य अमेरिकाको अर्थतन्त्रमा पछिल्ला केही महिनादेखि सुधार आइरहे पनि गत मार्च महिनामा व्यापार घाटा ७४.४ अर्ब डलरमा पुगेको छ । विदेशी सामानको आयात बढेसँगै व्यापार घाटा बढेको अमेरिकी अधिकारीहरुले बताएका छन् ।
 
गत फेब्रुअरी महिनामा रहेको व्यापार घाटा ७०,५ अर्ब डलरको तुलनामा मार्चमा यस्तो घाटा ५.६ प्रतिशतले वृद्धि भएको अमेरिकी वाणिज्य विभागले जनाएको छ । 
 
आयात ६.३ प्रतिशतले वृद्धि भएर २७४.५ अर्ब डलर पुगेको छ भने निर्यातमा पनि ६।६ प्रतिशतले सुधार आएर २०० अर्ब डलर पुगेको छ । डलर खाताका आधारमा निर्यात भन्दा आयात निकै बढी भएको छ । 
 
राजनीतिक रुपमा निकै संवेदनशील मान्ने गरिएको चीनसँगको व्यापार घाटामा सुधार आएको छैन, बरु चीनसँगको व्यापार घाटा ११.६ प्रतिशतले वृद्धि भएर २७.७ अर्ब डलर भएको छ । स्वाभाविक रुपमा अमेरिकाको चीनसँगको व्यापार घाटा अंक सबैभन्दा बढी छ । 
 
यस वर्षका पहिलो तीन महिना अर्थात् जनवरी, फेब्रुअरी र मार्च महिनामा अमेरिकी व्यापार घाटा कूल २१३ अर्ब डलर भएको छ जुन गत वर्षको सोही अवधिको भन्दा झण्डै ६४ प्रतिशतले बढी छ । उक्त अवधिमा कोरोनाभाइरस महामारीका कारण अमेरिकाका धेरैजसो स्थानमा कडा प्रतिबन्ध र लकडाउन गरिएका थिए । 
 
संयुक्तराज्य अमेरिकाको सन् २०२० मा ६८१ अर्ब डलर व्यापार घाटा थियो । यो अंक सन् २००८ यताकै सबैभन्दा बढी हो । एपी
 

शेयर गर्नुहोस:

0
Shares