अमेरिका समाचार

कङ्ग्रेसमा बाइडेनको पहिलो सम्बोधन : “प्रहरी, आप्रवासन र बन्दुक नियन्त्रण” मा प्राथमिकता

कङ्ग्रेसमा बाइडेनको पहिलो सम्बोधन : “प्रहरी, आप्रवासन र बन्दुक नियन्त्रण” मा प्राथमिकता


वासिङ्टन । अमेरिकी राष्ट्रपति जो बाइडेनले संयुक्तराज्य अमेरिकाले फेरि सही मार्ग समातेको गर्वका साथ घोषणा गरेका छन् ।  
 
अमेरिकी राष्ट्रपतिमा निर्वाचित भएपछि अमेरिकी संसदको संयुक्त सत्रलाई बुधबार पहिलो पटक सम्बोधन गर्दै राष्ट्रपति बाइडेनले कोभिड प्रभावित अमेरिकी मध्यमवर्गको उत्थान एवं “बिर्सिएका” अमेरिकी श्रमिक वर्गलाई  पुनर्जीवन दिन खर्बौं डलरको आर्थिक प्याकेज आवश्यक परेको बताए ।
 
कोभिड–१९ विरुद्धको व्यापक खोप अभियानको सफलताको प्रशंसा गर्दै कङ्ग्रेसमा राष्ट्रपति बाइडेनले अमेरिकी जनतामा आत्मविश्वास जागृत भएको बताए । उनले भन्नुभयो, “अमेरिका अब पाइला चाल्न पूरै तम्तयार अवस्थामा पुगेको छ । हामी काम गर्न समर्थ भएका छौं, सपना देख्न थालेका छौं, अन्वेषण र खोजमा अघि बढिसकेका छौं, र विश्वलाई नै नेतृत्व दिन तयार भइसकेका छौं ।”
 
राष्ट्रपतिको कार्यभार सम्हालेको १०० दिन पुगेको पूर्वसन्ध्यामा बाइडेनले अमेरिकी इतिहासमै खोप अभियानमा  सफल उपलब्धि हासिल भएको बताए ।
 
उहाँले अहिलको राष्ट्रिय प्रयत्नलाई देशको अर्थतन्त्र पुनर्निर्माण गर्ने तथा दोस्रो विश्वयुद्ध देखिकै सर्वाधिक ठूलो विषय बनेको रोजगारी योजनामा रहेका विमतिलाई हटाएर समानतामा ध्यान केन्द्रित गर्नुपर्ने बेला आएको छ भने ।
 
राष्ट्रपति बाइडेनले पूर्ववर्ती डोनाल्ड ट्रम्पले भनेझैँ अमेरिकी श्रमिक वर्गलाई बेवास्ता गरिएको बताए । उनले माथिल्लो एक प्रतिशत निकै धनी भएको बताउँदै अमेरिकी श्रमिकलाई पनि एउटा अवसर सिर्जना गर्न आफूले योजना अघि सार्ने प्रतिबद्धता व्यक्त गरे ।
 
उनले भने, “तीव्र गतिमा भइरहेको आर्थिक परिवर्तनबीच तपाईंले आफूलाई पछि छाडिएको र बिर्सिएको अनुभूति गर्नु भएको हुन सक्छ । म तपाईंहरुसँग सोझै कुरा गर्न चाहन्छु ।” राष्ट्रपति बाइडेनले अमेरिकामा राम्रो तलब पाइने जागिरका लागि आउटसोर्स (बाहिरबाट ल्याउन) गर्न नदिनेतर्फ सङ्केत गरेका थिए। 
 
अमेरिकी प्राइमटाइम टेलिभिजन सम्बोधनमा प्रायः राष्ट्रपति बाइडेनले एउटा भनाई सार्वजनिक गर्ने गर्नु भएको छ, त्यो हो अमेरिकाले पुनः गति लिएको छ । उहाँले सामान्यतया कोरोनाभाइरसको महामारीबाट सिर्जित विपदलाई अमेरिकाले सुल्झाउन लागेको तथा ट्रम्प प्रशासनले निम्त्याएको अस्थिरता समाप्त भएको बताउने गर्नु भएको छ ।
 
राष्ट्रपति बाइडेनले ट्रम्पको कार्यकालमा पुगेको क्षतिलाई उल्ट्याएर अन्तर्राष्ट्रिय साझेदारीलाई आफ्नो विदेश नीतिले पुनः सम्बोधन गर्न लागेको बताए ।
उनले ट्रम्पका एकलकाँटे नीतिको आलोचना गर्दै कङ्ग्रेसमा भने, “कुनै पनि मुलुक एक्लै सफल हुन सक्दैन ।”
 
चीनका सम्बन्धमा राष्ट्रपति बाइडेनले बेइजिङले सर्वोच्चता वा एकाधीकार खोजिरहेको भए पनि आफूहरुले चीनसँग प्रतिस्पर्धा गर्न चाहेको तर कुनै किसिमको द्वन्द्व नचाहेको स्पष्ट गरे ।
 
अमेरिकी घरेलु मुद्दाहरुका सम्बन्धमा बाइडेनले डेमोक्रेटिक पार्टीको लामै योजना सुनाउनुभयो जसमा प्रहरीमा सुधार, आप्रवासनमा सुधार र बन्दुक नियन्त्रण समेटिएका थिए । यी मुद्दाहरु अमेरिकी समकालीन राजनीतिका निकै संवेदनशील विषयहरु हुन् ।
 
“कानुन कार्यान्वयन गर्ने निकाय र जनताबीचको विश्वासलाई पुनः स्थापित गर्न हामी एकै ठाउँमा उभिनुको विकल्प छैन । हाम्रो फौजदारी न्याय प्रणालीमा रहेको प्रणालीगत जातीय विभेदलाई जरैदेखि समाप्त गर्नु पर्दछ,” बाइडेनले भने । उनले अमेरिकी तल्लो सदनले पहिल्यै पारित गरिसकेको प्रहरी सुधार सम्बन्धी विधेयकलाई जतिसक्दो चाँडो पारित गर्न माथिल्लो सदन सिनेट समक्ष आग्रह पनि गरे । 
 
उनले देशकै सर्वाधिक चर्चित विषयमा मिलेर कार्य गर्न रिपब्लीकन र डेमोक्र्याट दुबै दलसँग आग्रह गरे । राष्ट्रपति बाइडेनले भने, अध्यागमनका बारेको हाम्रो थकित युद्ध अब अन्त्य गरौं ।
 
तर, बाइडेनले गरेको एकताको आह्वानलाई रिपब्लीकनले सुनिहाल्ने सङ्केत देखिएको छैन । रिपब्लीकन पार्टीले बाइडेनले हावादारी ठुल्ठूला धारणा मात्र अघि बढाएको आरोप लगाएका छन् । उनीहरुको विचारमा बाइडेनले बामपन्थी अजेन्डामात्र अघि सारेका छन् । 
 
 
रिपब्लीकन पार्टीका सिनेटर टिम स्कटले बाइडेनको सम्बोधनपछि पार्टीको आधिकारिक धारणा सार्वजनिक गर्दै भने, “हाम्रो सर्वोत्तम भविष्य वासिङ्टनको योजना वा समाजवाजी सपनाहरुबाट आउँदैन । यो तपाईं अमेरिकी जनताबाट मात्र आउने छ ।” 
 
अमेरिकी राष्ट्रपतिहरुले सामान्यतया कङ्ग्रेसमा सम्बोधन गर्दा करको दर वृद्धिलाई गुपचुप राख्ने गर्दछन् । तर, राष्ट्रपति बाइडेनले अमेरिकी ठूला धनाढ्यमाथि करवृद्धि गर्ने र त्यहाँबाट प्राप्त हुने रकम आफ्ना प्रस्ताव कार्यान्वयनका लागि खर्च गर्ने योजना अघि सारेका छन् । उनले १८ खर्ब डलरको अमेरिकन फेमिलिज प्लान नामको योजना अघि सारे ।
 
निकै विभाजित कङ्ग्रेसको अनुमोदन आवश्यक पर्ने यस योजनाले खासगरी बालशिक्षा, बालबालिकाको स्याहार र उच्च शिक्षामा जोड दिनेछ । वार्षिक चार लाखभन्दा कम आय हुने अमेरिकीले अतिरिक्त कर तिर्नुपर्ने छैन । एएफपी
 

शेयर गर्नुहोस:

81
Shares